
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि केहि प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातकाे संभावना रहेकाे छ । महाशाखाका अनुसार अहिले कोशी र मधेस प्रदेशका केही स्थान वर्षा भइरहेकाे छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षासँगै हिमपात भइरहेकाे छ ।
अहिले मुलुकभर पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेकाले माैसममा परिवर्तन आएकाे हाे । यतिबेला कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको पनि महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै तराईमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात हुनेछ भने कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे छ ।
आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।


