
अहिले पूर्वी नेपालमा बर्डफ्लु संक्रमण फैलिएकाे छ । झापा, माेरङ, सुनसरीलगायतका जिल्लाहरुमा संक्रमण फैलिएसँगै नियन्त्रणका लागि कुखुरा, अण्डा र दाना नष्ट गर्ने अभियान तीव्र पारिएको छ ।
संक्रमणका कारण सुनसरीमा ८ वटा कृषि फार्म प्रभावित भएका छन् भने संक्रमण नियन्त्रणका लागि कुखुरा, अण्डा र दाना नष्ट गर्ने अभियान थालिएको छ । इटहरी उपमहानगरपालिकाका-६, वटा तथा दुहबी नगरपालिका र गढी गाउँपालिकाका १–१ फार्ममा बर्डफ्लु पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ ।
त्यसैगरि मोरङकाे सुन्दरहरैँचा नगरपालिका–४, उर्लाबारी नगरपालिका–८, कटहरी गाउँपालिका–६ र विराटनगर महानगरपालिका–४ मा रहेका कुखुरा फर्ममा पनि बर्डफ्लु देखापरेको बताइएकाे छ । बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय, मोरङले रोग फैलिन नदिन ती फर्मको २० मीटर आसपास संकटग्रस्त क्षेत्र तोकेर नियन्त्रणकाे पहल थालेकाे छ ।
अहिले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइनुका साथै पंक्षीजन्य वस्तुको आयात–निर्यातमा समेत कडाइ गरिएको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न पाइँदैन भने सो अवधिमा पुनः संक्रमण नदेखिए मात्र पुनः उत्पादन सुरु गर्न अनुमति दिइन्छ ।


