
आज मुलुकमा प्रजातन्त्र पुनर्बहाली भएको दिनकाे सम्झनामा विविध कार्यक्रमकाे आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको सम्झनामा याे दिवस मनाउन लागिएकाे हाे ।
विसं २०१७ साल पुस १ गते राजा महेन्द्रले सुरु गरेको ३० वर्षीय पञ्चायती व्यवस्था २०४६ साल चैत २६ गते जनआन्दोलन मार्फत अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियाे । नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको हाे ।
कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियाे भने उक्त जनआन्दोलनले २०४६ साल चैत २६ गतेका दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना गरेकाे थियो ।
विसं. २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएकोमा तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २०४६ साल चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए ।


