
अहिले मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको बताइएकाे छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली हुनुका साथै अन्य पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसाे देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने सङ्केत देखिएको मौसमविद्हरूले बताएका छन् । त्यसैगरि तराई क्षेत्रमा घाम लाग्ने र मौसम मुख्यतया सफा रहनेछ ।
आजराति हिमाली क्षेत्रमा वर्षा र हिमपात हुनुका साथै तापक्रममा केही गिरावट आउन सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्वन्धित सबैमा अनुराेध गरेको छ ।


