
सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि ललितपुर महानगरपालिकाले शनिबार र आइतबार बिदाको दिन पनि अत्यवश्यक सेवा प्रवाह गर्ने भएको छ । महानगरले आज एक सूचना जारी गर्दै बिदाको दिन पनि अत्यावश्यक तथा आकस्मिक प्रकृतिका सेवा प्रदान गर्ने बताएको हो ।
महानगरपालिकाले शनिबार र आइतबार बिदाको दिनमा पनि अत्यवश्यक सेवा प्रवाह गर्ने बताउदै अत्यावश्यक तथा आकस्मिक प्रकृतिका सेवा प्रदान गर्नुपर्ने कार्यहरू बन्द नहुने जानकारी गराएको हो ।
अत्यावश्यक तथा आकस्मिक प्रकृतिका सेवा प्रदान गर्नुपर्ने कार्यहरू (नगर प्रहरी बल, दमकल, एम्बुलेन्स, शववाहन, वातावरण तथा सरसफाई, एकद्वार पर्यटन) को हकमा सार्वजनिक बिदा तोकिएका दिनहरूमा (शनिबार र आइतबार) समेत सेवा प्रवाह हुने बताइएको छ ।
सरकारले यसअघि चैत्र २२ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म हुने भएपनि कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म कायम गरिएको जनाएको थियो भने शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


