
लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं, ८ वैशाख
काठमाडौं, गोकर्णेश्वर नगरपालिका ३ हेम्पाडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ सय १४ एम्पुल, फेनारगन ५ सय ३२ एम्पुल, नोर्फिन ९ सय ४० एम्पुल र नगद ६८ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ घर भएका २३ वर्षीय मिङमार बम्जन र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका १ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका ६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध फेनारगन ४० एम्पुल, ब्रुप्रेनोर्फिन ४७ एम्पुल र डाईजेपाम ३८ एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर बस्ने अर्घाखाँची घर भएका ३० वर्षीय अजय परियार र ३० वर्षीय निश्चल मानन्धर रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा ७० प ७६१२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका २९ बाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नोर्फिन २५ एम्पुल र फेनारगन २५ एम्पुल सहित सोही महानगरपालिका २९ मैतीदेवी बस्ने ३५ वर्षीय बिक्की लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका(१ हटिया डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका(१ सोनापुर बस्ने २१ वर्षीय मो. आविद मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडि ५३९० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका ९ च्यानडाँडाबाट अवैध लागूऔषध गाँजा १७ किलो ५ सय ४६ ग्राम सहित राक्सिराङ गाउँपालिका २ बस्ने २३ वर्षीय सुबास मोक्तानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भावरबाट खरंगातर्फ आउँदै गरेको बा प्र ०३ ००५ प ७०८० नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका ६ क्लब चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६४ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ७ सय ५० ग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय सुजित पाख्रिन र ३७ वर्षीय सुमन पाख्रिन रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र ट्रामाडोल ६० ट्याब्लेट सहित सल्यान शारदा नगरपालिका ७ बस्ने २३ वर्षीय भुवन रेउलेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित शान्तिनगर गाउँपालिका ५ बस्ने २९ वर्षीय उद्धव शाहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फक्राउ गरेको हो ।
तनहुँ, ब्यास नगरपालिका ४ चुरेखोल्सीबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, बुप्रेनोर्फिन १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित ब्यास नगरपालिका ४ बस्ने १८ वर्षीय किशोरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले ग १० प १६१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका १६ जोरसखुवा पुण्य मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार १ सय ट्याब्लेट र स्पास्पेन १४ हजार ५० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय राहुल आचार्य र सोही उपमहानगरपालिका ११ गोदावरी चोक बस्ने १९ वर्षीय रोहित रिजाल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका ८ बरगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका १४ बस्ने ३५ वर्षीय निश्चल बस्नेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को ८ प ६३८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, ८ वैशाख, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ बस्ने रौतहट बौधीमाई नगरपालिका ७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका(३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका ७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी, भक्तपुर मध्यपुर थिमी नगरपालिका १ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका ५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका ३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।
पक्राउ मध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रूपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका १३ बाट सोमबार, मिथिलेशलाई काठमाडौं महानगरपालिका १२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका १ बाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने व्यक्ति पक्राउ
काठमाडौं, ८ वैशाख, सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न रहेको अभियोगमा बझाङ थलरा गाउँपालिका ४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्टलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ सिनामंगलबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफ्नो फेसबुक आइडी सानू भाइ नामक एकाउन्टबाट पुर्व प्रधानमन्त्री केपी ओली, पुर्व गृहमन्त्री रमेश लेखक, पुर्व मन्त्री दिपक खड्कालाई तुरून्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने छ जसका लागि एके ४७ जस्ता अत्याधुनिक हतियारहरू काठमाडौंमा भित्रिसकेको छ भनि पोष्ट गरी सर्वसाधारण जनमानसमा त्रास फैलाउने र आफुले भनेका कुराहरू नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण भिडियो समेत सार्वजनिक गरेको खुल्न आएको छ ।
उनलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।
ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं, ८ वैशाख, ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(३२ पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका संचालक काठमाडौं पेप्सीकोला बस्ने इलाम सूर्योदय नगरपालिका १२ तीनघरे घर भएका २३ वर्षीय निर्दोष सापकोटालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सापकोटाले सामाजिक संजाल फेसबुक, टिकटक र इन्स्ट्राग्राममा स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिको पेजबाट वैदेशिक भ्रमणको लागि थाईल्याण्ड जान सम्पर्क गर्नु भनि विज्ञापन राखि थाईल्याण्डमा जान भिषा, हवाई टिकट, होटल बुकिङ, गाईड समेतको सुबिधा छ, सो भ्रमण प्याकेज १ हप्ताको हुन्छ भनि जानको लागि लाग्ने रकम उक्त प्रालिको नाममा रकम पठाउन लगाई विभिन्न किसिमको बरबहानाहरू बनाई टार्ने झुलाउने कार्य गरी ठगी गरेको खुल्न आएको छ । साथै उनले नक्कली टिकट र भिसा बनाई झुक्यानमा पार्ने गरेको र हाल सम्म २६ जना पीडितहरूबाट १६ लाख ६० हजार रूपैयाँ ठगी गरेको समेत खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


