
सुर्खेत, ११ वैशाख, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको शैक्षिक तथा प्रशासनिक भवन एवम् कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास भवनको शुक्रबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै प्रदेश प्रहरी कार्यालय तथा नेपाल पुलिस स्कुल परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरू, शिक्षक र विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्नुभयो । आफ्नो घरपरिवार छोडी नागरिकको जीउधनको सुरक्षार्थ अहोरात्र खटिने प्रहरी कर्मचारीका सन्ततिहरू तथा सो क्षेत्रमा बसोबास गर्ने महानुभावहरूका सन्ततिहरूलाई सहज, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले यस विद्यालयको निर्माण गरिएको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित विद्यालय भवन केबल भौतिक संरचना मात्र नभई स(साना बालबालिकाहरूले सुनौलो भविष्य नियाल्ने ढोकाको साथै आदर्श चरित्र निर्माण, सकारात्मक सोच र असल जीवनको मार्ग निर्देशन गर्ने थलो समेत भएको बताउनुभयो । प्रहरी कर्मचारीका सन्ततिहरूले विद्यालयबाट प्राप्त गर्ने सहज तथा गुणस्तरीय शिक्षाको माध्यमबाट प्रहरी कर्मचारीहरूको उत्प्रेरणा तथा समग्र कार्यक्षमतामा समेत बढोत्तरी हुने उल्लेख गर्दै निकट भविष्यमा विद्यालयको निरन्तर उन्नति तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले आ(आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक राजिव बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य सुनिल देवकोटाले विद्यालयको शैक्षिक गतिविधि सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो भने प्राविधिक प्रहरी नायव उपरीक्षक शम्भु प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट साँस्कृतिक प्रस्तुती समेत गरिएको थियो ।
नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको आन्तरिक स्रोतबाट कुल ११ करोड २४ लाख ८४ हजार ५ सय ८८ रूपैयाँ ४८ पैसाको लागतमा नेपाल पुलिस स्कुलको भवन तथा नेपाल सरकारको नियमित बजेटबाट कुल ५ करोड ४४ लाख ८३ हजार ६ सय ८९ रूपैयाँ १३ पैसाको लागतमा सिनियर प्रहरी अधिकृत निवास भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न विद्यालयका प्राचार्य तथा प्रतिनिधिहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।


