Advertisement Banner
Advertisement Banner

१० बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

१८ शुक्रबार , बैशाख २०८३२ महिना अगाडि

एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

एभरेस्ट इङ्लिस स्कुल, भक्तपुर–२, मिबाछेंमा बुद्ध जयन्तिको पावन अवसरमा मुठीदान कार्यक्रम भव्य तथा भावपूर्ण वातावरणमा सम्पन्न भएको छ। वि।सं। २०७३ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि विशेष रूपमा आयोजना गरिएको हो।

कार्यक्रममा भक्तपुरस्थित मुनिविहारका भिक्षु तथा श्रामणेरहरूको गरिमामय उपस्थिति रहेको थियो। महागुरु, गुरु तथा श्रामणेर गरी २९ जना अतिथिहरू तथा ६ जना सेवक–सेविकाहरूको आतिथ्यमा सम्पन्न कार्यक्रममा एभरेस्ट इङ्लिस स्कुल र भगिनी संस्था एभरेस्ट भक्तपुर स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो।

बुद्धवाणी, शील प्रार्थना तथा धम्मोपदेशले विद्यालय परिसरलाई शान्त, गम्भीर र करुणामय वातावरणमा रूपान्तरण गरेको अनुभूति सहभागीहरूले गरेका थिए। भिक्षुहरूको प्रत्यक्ष उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त र भावनात्मक बनाएको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा विद्यालयका संस्थापक प्रिन्सिपल श्री भक्तराज भण्डारीले बालबालिकामा दान, सेवा र संवेदनशीलताको भावना विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। “एकजनाले दिए मुठी, धेरैले दिए मुरी” भन्ने सन्देशले सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुने उहाँले प्रस्ट पार्नुभयो।

यसै क्रममा भक्तपुर मुनिविहारका तर्फबाट विपस्वी महास्थाविरका साथै स्वदेश विदेशबाट पाल्नु भएका गुरुहरुले बुद्ध दर्शनसम्बन्धी प्रेरणादायी धम्मोपदेश प्रस्तुत गर्नुभएको थियो, जसलाई उपस्थित सबैले अत्यन्त चासोपूर्वक श्रवण गरेका थिए।

कार्यक्रमबाट संकलित रु। २०,९७०र( नगदसहित ४ मुरी चामल, २ बोरा बिस्कुट, १ बोरा साबुन, १ बोरा दाल, १ बोरा चिउरा, २ बोरा नुन, १५ दर्जन कापी, १५ दर्जन कलम तथा पेन्सिल तथा फलफूल लगायतका सामग्रीहरू भक्तपुर मुनिविहारलाई हस्तान्तरण गरिएको छ।