Advertisement Banner
Advertisement Banner

११ सोमबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

टाइब्रेकरमा महिन्द्र दल गणलाई हराउँदै ब्रदर्स एफसीले जित्यो

११ सोमबार , जेठ २०८३२ घण्टा अगाडि

टाइब्रेकरमा महिन्द्र दल गणलाई हराउँदै ब्रदर्स एफसीले जित्यो

 प्रथम अशोक स्मृति कप- बाँके — ब्रदर्स एफसीले प्रथम अशोक स्मृति कप (यू–२०) फुटबल प्रतियोगिताको उपाधि जितेको छ। खजुरा गाउँपालिका–४ इ गाउँस्थित खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा ब्रदर्स एफसीले श्री दि फेमस महिन्द्र दल गण भूपू टिमलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको हो। प्रतियोगितामा विवाद उत्पन्न भएपछि जेठ ३ गते हुने तय भएको फाइनल ढिला गरी सम्पन्न भएको थियो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो।

टाइब्रेकरमा ब्रदर्स एफसीका अभियान थापा, सुरज विष्ट, समिर थापा, समिर राना र करण बैगारले गोल गरे। महिन्द्र दल गणका तर्फबाट राम बस्नेत, इन्द्रजित सुनार, आशिष घर्तीमगर र विधान विकले गोल गरे। ब्रदर्स एफसीका करण बैगार प्लेयर अफ द फाइनल घोषित भए। प्रतियोगितामा ब्रदर्स एफसीका दिवस तामाङ सर्वोत्कृष्ट खेलाडी र महिन्द्र दल गणका प्रेम खत्री उत्कृष्ट गोलकिपर घोषित भए। विजेता ब्रदर्स एफसीले ५१ हजार र उपविजेता महिन्द्र दल गण भूपूले ३१ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

श्री दि फेमस महिन्द्र दल गण भूपू संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लबको सहआयोजना र ब्रदर्स एफसीको विशेष सहयोगमा भएको प्रतियोगितालाई एलिसा ज्वेलर्सले मुख्य प्रायोजन गरेको थियो। १२ टोली सहभागी प्रतियोगिताको प्रथम पुरस्कार रकम खजुरा–४ निवासी हाल अमेरिकामा रहनुभएका समाजसेवी लीलबहादुर थापाले प्रायोजन गरेको प्रतियोगिता संयोजक तिलकवीर सुनारले जानकारी दिए। विजयी खेलाडीलाई खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर रोकाय, आयोजक अध्यक्ष कृष्णलाल गिरी र संयोजक सुनारलगायतले पुरस्कृत गरे। सुनारका अनुसार प्रथम पुरस्कारका दाता थापा, मुख्य प्रायोजक स्वर्गीय अशोक विकका भाइ हरिप्रकाश विक (एलिशा ज्वेलर्स) लगायत सबै सहयोगीप्रति आयोजकले उच्च सम्मान र कृतज्ञता प्रकट गरेको छ।

उपाधि जितेपछि ब्रदर्स एफसीका अध्यक्ष विवेक सागर पौडेलले खेल प्रतियोगिता सञ्चालनका क्रममा विभिन्न बाधाव्यवधान सिर्जना भए पनि आयोजकले शान्तिपूर्ण तरिकाबाट खेल सम्पन्न गरेर उच्च क्षमता प्रदर्शन गरेकोमा धन्यवाद व्यक्त गरे। उनले भने, 'खेल युवाहरूको सक्रियता, स्वास्थ्य र प्रगतिसँग जोडिएको विषय हो। जुनसुकै खेल पनि अनुशासित, मर्यादित र सुसङ्गत तरिकाबाट खेलियो भने त्यसले सुसन्देश प्रवाह गर्छ। समाजका युवाहरूलाई कुलतबाट बचाउँदै परिवार, समाज र देशप्रति जवाफदेही बनाउनु नै आजको आवश्यकता हो।'

ब्रदर्सकी उपाध्यक्ष जुना पोखरेलले ब्रदर्स एफसीलाई सहयोग तथा समर्थन गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यो जित यस क्षेत्रका युवाहरूको जित भएकाले यो खुशी सबैसँग साझा गर्न चाहेको बताइन्। ब्रदर्स एफसीका कप्तान भरत घर्ती मगरले यो जित समग्र खजुरावासी युवाहरूको जित भएको बताए। 'ब्रदर्स एफसी समग्र खजुराका युवाहरूको प्रतिनिधि क्लब हो। यो कुनै राजनीतिक विचारधारा प्रचारप्रसार गर्ने माध्यम होइन। यो देशका युवाहरूको प्रतिनिधित्व गर्दै नेपाली परिवार, समाज र सिङ्गो राष्ट्रप्रति युवालाई जवाफदेही र जिम्मेवार बनाउन गठन भएको हो,' उनले भने। क्लबका सदस्य मोहित थापाले ब्रदर्स एफसीले स्थापनाकालदेखि नै युवाहरूलाई परिवार, समाज र देशप्रति उत्तरदायी बनाउँदै खेलकुदसँगै समाज सुधार अभियानलाई प्रमुखताका साथ अघि बढाइरहेको बताए। फाईनल खेलकाे प्रत्यक्ष प्रशारण ब्रदर्स क्लबका पदाधिकारी ईञ्जिनियर नरेश बुढाथोकीले गरेका थिए।