Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सुसेली सम्मान

२७ बुधबार , जेठ २०८३३ महिना अगाडि

सुसेली सम्मान

काठमाडौँ । भीमदत्त नगरपालिका–६, मधुवन, महेन्द्रनगर, कञ्चनपुर निवासी आगो लघुकविता विधाका परिकल्पनाकार तथा साहित्यकार दीर्घबहादुर चन्द ‘सुमन’ काठमाडौँमा सम्मानित भएका छन्।

राष्ट्रिय सुसेली फाउन्डेसनको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनलाई ‘विराम–सरिता सुसेली सम्मान’ प्रदान गरिएको हो। उक्त सम्मान संस्थापक विराम ओझा र सरिता ओझा ‘सिर्जना’को नाममा स्थापना गरिएको हो।

सम्मानपत्रमा साहित्यकार सुमनले आफ्नो कृति ‘सप्तरंगी सुमन’ मा सुसेली विधालाई प्राथमिकताका साथ स्थान दिँदै त्यसको चर्चा–परिचर्चा, व्याख्या तथा ऐतिहासिक पक्षको खोज अनुसन्धान गरी सुसेली विधाको लोकप्रियता र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

फाउन्डेसनका अध्यक्ष सुसेली विधाका प्रवर्तक तथा साहित्यकार दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ रहेका छन्।

साहित्यकार सुमनले नेपाली साहित्यमा पाँच–पाँच अक्षरका दुई पाउमा जम्मा १० अक्षरभित्र रचना गर्न सकिने ‘आगो’ लघुकविता विधाको परिकल्पना २०७८ साल भदौ २४ गते गरेका थिए। उनले ‘आगो ९सिद्धान्त र प्रयोग०’ तथा ‘सप्तरंगी सुमन’ नामक कृतिहरू प्रकाशित गरिसकेका छन्।

हाल उनी ‘आगो लघुकविता सदन -आलस-’ मार्फत दैनिक रूपमा आगो, मुक्तागो तथा गजलागो विधाका रचनाहरू सिर्जना र प्रकाशन गर्दै आएका छन्। साथै विभिन्न पत्रपत्रिकामा वैचारिक लेखहरू प्रकाशन गर्दै साहित्यिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

यसअघि पनि उनले शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालबाट नगदसहितको ‘कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार’ प्राप्त गरेका छन्। साथै गुगुल्डी वाङ्मय प्रतिष्ठान, मानसखण्ड फाउन्डेसन तथा अर्घाखाँची साहित्य समाज लगायत विभिन्न संस्थाबाट सम्मानित भइसकेका छन्।