Advertisement Banner
Advertisement Banner

२३ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको रथारोहण

२२ सोमबार , असार २०८३१७ घण्टा अगाडि

शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको रथारोहण

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ ले एक विशेष समारोहको आयोजना गर्दै १०२ वर्षमा प्रवेश गर्दै गर्नुभएका दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको रथारोहण गरेको छ । उक्त अवसरमा दिव्य शताब्दीपुरुष डा. लाल दासलाई ‘सुवर्णपुर सम्मान २०८३’ समर्पण गरिएको छ ।
शनिबार चाबहिल स्थित पशुपति मित्र माध्यमिक विद्यालयको प्राङ्गणमा दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासलाई प्रमुख अतिथि ‘शताब्दी वर्ष मूल समारोह समिति’का संरक्षक तथा नेपाली काँग्रेसका सभापति गगन थापा, काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोल, महानगरपालिका वडा नंं ७ का वडाध्यक्ष विमलकुमार होडा र समितिका संयोजक पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले ‘सुवर्णपुर सम्मान २०८३’ समर्पण गरे । 
उक्तअवसरमा ‘चन्द्रविनायक मन्दिर ः एक परिचय’ पुस्तक लोकार्पण गरियो ।
सम्मान समर्पणअघि दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको बाजागाजासहित रथारोहण गरियो । रथारोहण ¥याली मित्रपार्कस्थित डा. लाल दासको घर परिशर हुँदै मित्रपार्क, जयबागेश्वरी, सिफल चौर, कुटुबहाल, चाबहिल गणेशस्थान, चाबहिल चोक, चुच्चेपाटी पासाङ लाह्मु शेर्पाको सालिक घुम्दै पशुपति माध्यमिक विद्यालयमा आएर सभामा परिणत भयो ।
उक्त अवसरमा प्रमुख अतिथि गगन थापाले शताब्दीपुरुष डा. लाल दासको दीर्घायुको कामना गर्दै डा. दास सबैका लागि उत्प्रेरक व्यक्तित्व भएको उल्लेख गरे ।
थापाले भने, “डाक्टर साहबले समाजलाई गुण लगाउनु भएको छ । उहाँलाई सम्मान गर्दै उहाँसँग आशीर्वाद लिन चाहेका हौँ हामीले । हामी उहाँको दीर्घायुको कामना गर्दछौँ ।” 
कार्यक्रममा महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले डा. लाल दासको उर्जा सबैका लागि प्रेरक रहेको उल्लेख गर्दै सिंगो महानगरवासीका तर्फबाट शुभकामना व्यक्त गरिन् ।
उक्त अवसरमा कार्यक्रम संयोजक समाजसेवी अरुणसिंह बस्नेतले स्थानीयस्तरमा तीन वर्षदेखि आफूहरूले यो अभियान थालेको बताए । 
शनिबार बिहान शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको दीर्घजीवन एवम् सुस्वास्थ्यको कामना गर्दै चाबहिल गणेशस्थानमा मूल पूजासहित वडा नम्बर ७ भित्रका ३५ वटा मठ मन्दिरमा पूजा अर्चना गरियो । 
मौसमको प्रतिकूलताका बाबजुद स्थानीयहरूको बाक्लो उपस्थिति रहेको समारोहमा मित्रपार्क नायः खिं बाजँ खलका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिए । मौसमका कारण कुटुम्ब ब्याण्डले आइतबार सांगीतिक प्रस्तुति दिने भनिएको छ ।
स्मरणीय छ, चाबहिल, देवपाटन र त्यस वरपरका क्षेत्रलाई पहिले सुवर्णपुर भनेर चिनिन्थ्यो । 
काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजना, दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दास, शताब्दी वर्ष मूल समारोह समितिको सह—आयोजना रहेको यस समारोहमा स्थानीय वीरेन्द्र पुस्तकालय, समुदाय प्रहरी साझेदारी, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘एच’, पशुपति मित्र माद्यमिक विद्यालय, कुटुम्ब सांगीतिक समूह र मित्रपार्क नायः खिं बाजँ खलको सहकार्य रहेको थियो ।   
दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दास, शताब्दी वर्ष मूल समारोह समिति
मित्रपार्क, चाबहिल काठमाडौं ।
मिति ः २०८३।३।२१