
तीन महिनामा ३ हजार ३ सय १६ जना लागूऔषधमा पक्राउ
काठमाडौं, १८ साउन । नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना पक्राउ परेका हुन् ।
सो अवधिमा अवैध लागूऔषध गाँजा ८ हजार ६ सय ३२ किलो ६ सय ८३ ग्राम ६ सय ९१ मिलिग्राम, चरेस ३१ किलो १ सय ६८ ग्राम ६ सय ७१ मिलिग्राम, कोकिन ५ किलो ७ सय ९२ ग्राम १ सय २० मिलिग्राम, हेरोइन ११ किलो ८ सय ९४ ग्राम १ सय ६५ मिलिग्राम, अफिम १ सय २७ किलो १ सय ६० ग्राम १ सय ३७ मिलिग्राम, पोलेन २१ किलो ६ सय ४६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेट, नाइट्राभेट १९ हजार १ सय १० ट्याब्लेट, स्पास्मो ३३ हजार ३ सय ९ ट्याब्लेट, डाईजेपाम ९ हजार ५ सय ५३ एम्पुल, फेनारगन १६ हजार ६ सय ५४ एम्पुल, बुप्रेनोर्फिन ८ हजार १ सय ३० एम्पुल प्रहरीले बरामद गरेको छ ।
लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय(प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।
१ सय ९ किलो गाँजा सहित दुई पक्राउ
सर्लाही, १८ साउन । लालबन्दी नगरपालिका(१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी थाना समुद्र बस्ने २६ वर्षीय दिपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुर समेतबाट खटिएको प्रहरीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको कारलाई जाँच गर्दा डिक्किमा लुकाई छिपाई राखिएको २३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक दिपक र कारमा सवार अमनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं, १८ साउन, काठमाडौं महानगरपालिका ७ कुमारीगाल कुमारीमन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटार बस्ने मकवानपुर हैटौंडा उपमहानगरपालिका घर भएका १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ बुद्धपथ रोडस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका १२ बस्ने २७ वर्षीय बिजय थापा मगर, सोही नगरपालिका ७ बस्ने २७ वर्षीय रामपुर्ण राना, सोही नगरपालिका १४ बस्ने १७ वर्षीया किशोरी र रोल्पा लुङग्री गाउँपालिका ६ बस्ने १९ वर्षीय ज्ञानेन्द्र पुन मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, माडी नगरपालिका ३ स्थित बसन्तपुर बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र भोमिन ७९ ट्याब्लेट सहित सोही नगरपालिका ९ गणेशपुञ्ज बस्ने २२ वर्षीय विज्ञान विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका ५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९४ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका ११ बस्ने ५२ वर्षीय रविन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका(७ स्थित बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय रेहान चौधरी र २७ वर्षीय अजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, जोशीपुर गाउँपालिका(१ पिपलकोटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भजनी नगरपालिका ८ खैरा बस्ने २७ वर्षीय किरण चौधरी र सोही नगरपालिका ६ थापापुर बस्ने १८ वर्षीय किशोरलाई ८ सय ३० मिलिग्राम तथा सु प प्र १ ०११ प ५०५० नम्बरको मोटरसाइकलमा सवार जानकी गाउँपालिका ४ कञ्चनपुर बस्ने २२ वर्षीय रूपेश खठरिया र से।५ प ६१६९ नम्बरको मोटरसाइकलाम सवार २४ वर्षीय श्याम खठरियालाई ५ ग्राम ८ सय मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका(१ गोलघरबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित जनकपुरधाम उपमहानगरपालिका १९ बस्ने २१ वर्षीय संजय मण्डललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरीले स ८ प ४७८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्ति पक्राउ
काठमाडौं, १८ साउन । सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका ९ घर भएका रूपन्देही बुटवल उपमहानगरपालिका १३ बस्ने ३९ वर्षीय जनक भुसाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने तवरबाट युट्युब च्यानल नेपाली खबर टिभी मार्फत भ्रामक सूचना प्रवाह गर्ने भिडियो सामाग्री तयार पारी, अफवाह फैलाई जातीय तथा धार्मिक हिंसात्मक तथा ध्वंसात्मक गतिविधिहरूमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित र आक्रमक बनाउने, साथै कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामाग्रीहरू वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन, प्रदर्शन र प्रसारण गर्ने कार्यमा संलग्न रहेका उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवलबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय कारोबार ऐन,२०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध रूपमा भिओआइपी संचालनमा संलग्न चार जना पक्राउ
काठमाडौं, १८ साउन । काठमाडौं तथा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास भिओआइपी संचालनमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ८ जयबागेश्वरी डेरा गरी बस्ने गोरखा घर भएका २२ को वर्षीय प्रोशेस गुरूङ, काठमाडौं महानगरपालिका ७ गणेशस्थान बस्ने शंखरापुर नगरपालिका १ घर भएकी २० वर्षीया मुना श्रेष्ठ, भक्तपुर सूर्यविनायक नगरपालिका ४ डेरा गरी बस्ने कञ्चनपुर घर भएका २१ वर्षीय जेनित झुकाल र भक्तपुर सूर्यविनायक नगरपालिका १ बस्ने ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रोशेस र मुनालाई बिहीबार तथा जेनित र कृष्णलाई शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीले प्रोशेसको साथबाट १६ पोर्टको भिओआइपी डिभाइस १ थान, ल्याप्टप १ थान, सिमकार्ड २२ थान, राउटर १ थान, मुनाको साथबाट १६ पोर्टको भिओआइपी डिभाइस १ थान, ल्याप्टप १ थान, राउटर थान १ सिमकार्ड २० थान, जेनितको साथबाट ११२ पोर्टको भिओआइपी डिभाइस ५ थान, ब्याट्री ८ थान, इन्भर्टर १ थान, सिमकार्ड १ सय ५३ थान र कृष्णको साथबाट ब्याट्री ८ थान, युपिएस १ थान, इन्टरनेट हव १ थान, ल्यापटप १ थान लगायतका उपकरण तथा सामग्रीहरू बरामद गरेको छ ।
पक्राउ मध्ये प्रोशेस र मुना उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन तथा जेनित र कृष्ण उपर जिल्ला अदालत भक्तपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


