धनकुटा, २१ साउन । साँगुरीगढी गाउँपालिका ६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ४७ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका ३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका १ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकलाई जाँच गर्दा लुकाई छिपाई ल्याइएको ४८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेश र सहचालक तुलारामलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


