Advertisement Banner
Advertisement Banner

२० शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

नेपाल जेष्ठ–जन समाजको २५औँ वार्षिक साधारणसभा सम्पन्न

२० शनिबार , भाद्र २०८३१० घण्टा अगाडि

नेपाल जेष्ठ–जन समाजको २५औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, भदौ १४। जेष्ठ नागरिकहरूको हकहित, सम्मान र सामाजिक सुरक्षाका लागि २०५२ सालमा स्थापित गैरनाफामूलक तथा गैरराजनीतिक संस्था नेपाल जेष्ठ–जन समाजको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। समाजका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा समाजका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष श्रीमती रामवदन जोशी प्रमुख अतिथि तथा जेष्ठ नागरिक महासंघ, नेपालका निवर्तमान अध्यक्ष श्री छत्रबहादुर प्रधान, समाजका आजीवन सदस्य एवं पूर्व उपाध्यक्ष तथा सीमाविद् श्री बुद्धिनारायण श्रेष्ठ र समाजका सल्लाहकार श्री नातिकाजी महर्जन विशेष अतिथि हुनुहुन्थ्यो। सभाको प्रारम्भमा समाजका उपाध्यक्ष गोपालप्रसाद दुलालले स्वागत मन्तव्यका क्रममा समाजका गतिविधिबारे संक्षिप्त जानकारी दिनुभयो।

गत भदौ १० गते हिमताल फुटेर रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सभामा एक मिनेट मौनधारण गरिएको थियो। साथै बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरिएको थियो। बाढीपीडितको सहयोगका लागि सरकारले गरेको आह्वानअनुसार सभामा उपस्थित जेष्ठ नागरिकहरूबाट तत्काल रु। ७४,६४०।– सहयोग रकम संकलन भएको थियो। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय सभाले गरेको छ।

साधारणसभामा समाजका सचिव सागरमणि लम्सालले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्रीमती सरला प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सभाबाट सर्वसम्मतिले अनुमोदन गरिएको थियो। सोही अवसरमा समाजका आजीवन सदस्यद्वय श्री पुष्प चित्रकार र श्रीमती सुवर्णकेशरी चित्रकारले समाजको भवन निर्माणका लागि रु। एक लाख सहयोग प्रदान गर्नुभएकोमा समाजले उहाँहरूप्रति आभार व्यक्त गरेको छ। सभामा गत वर्ष ८० वर्ष उमेर पूरा गर्नुभएकी श्रीमती सुमित्रा गुरुङलाई प्रमुख अतिथि श्रीमती रामवदन जोशीबाट सम्मान प्रदान गरिएको थियो। उहाँ स्वास्थ्यका कारण गत वर्ष उपस्थित हुन सक्नु भएको थिएन । कार्यक्रममा यस वर्ष ८० वर्ष उमेर पूरा गर्नुभएका रामबहादुर खड्का, करुणागोविन्द श्रेष्ठ, श्रीमती नारायणदेवी श्रेष्ठ, श्रीमती पुन्यमाया श्रेष्ठ र श्रीमती गंगालक्ष्मी श्रेष्ठलाई सम्मान गर्ने कार्यक्रम रहेकोमा स्वास्थ्यका कारण उहाँहरू उपस्थित हुन नसकेकाले घरमै पुगेर सम्मान गर्ने निर्णय गरिएको छ।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले “जेष्ठ नागरिकप्रति सरकारको दृष्टिकोण र अवधारणा” विषयमा आफ्ना विचार राख्नुभयो। साहित्यकार तथा विश्लेषक विधान आचार्यले “जेष्ठ नागरिकप्रति समाजको दृष्टिकोण” विषयमा चर्चा गर्नुभयो। त्यसैगरी डा। सविना श्रेष्ठले जेष्ठ नागरिकहरूको स्वास्थ्य क्षेत्रमा आफूबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभाको समापन गर्दै अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले “जेष्ठ नागरिकहरूप्रतिको हाम्रो अवधारणा र समाजमा हाम्रो कर्तव्यबोध” विषयमा धारणा राख्नुभयो। उहाँले जेष्ठ नागरिकहरूको सम्मान, संरक्षण र अधिकारका लागि समाजका सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताउँदै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

सोही अवसरमा छत्रबहादुर प्रधान, प्राडा सविना श्रेष्ठ, विधान आचार्य, श्रीमती निरु श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, सुभाषचन्द्र पौडेल, सर्वज्ञराज पौडेल, श्रीमती अरुणा कोइराला, श्रीमती ब्यूटी श्रेष्ठ र निला श्रेष्ठलाई आजीवन सदस्यता पनि प्रदान गरिएको थियो ।