Advertisement Banner
Advertisement Banner

२३ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

२२ सोमबार , भाद्र २०८३२ महिना अगाडि

 नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

काठमाडाैं । नेपाल मेडिकल कलेज र विरगञ्जकाे नेशनल मेडिकल कलेजले रसुवा, नुवाकाेट, धादिङका बाढीपिडित परिवारकाे लागि संयुक्त रूपमा ७५ लाख सहयोग गरेका छन् । प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत काेषमा हस्तान्तरण गरेका हुन् ।

साेमबार नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वकाे टीमले अर्थमन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गरेका हुन् । रसुवामा आएको बाढी पहिराेबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले दुवै मेडिकल कलेजकाे तर्फबाट प्रधानमन्त्री राहत कोषमा ७५ लाख रूपैंया जम्मा गरिएको नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताउनु भयाे ।

‘याे विषम परिस्थितिमा हामी सबैले राज्यसँग हातेमालाे गर्नुपर्छ, देशकाे जुनसुकै क्षेत्रमा जनता पिडामा छटपटाइरहेका छन् भने हामीले पनि आ-आफ्नाे क्षेत्रबाट सहकार्य गर्नैपर्छ भन्ने हाम्राे साेच हाे । राज्यलाइ गर्नुपर्ने जुनसुकै प्रकारकाे सहयाेग गर्न हामी तत्पर छाैं ।’ नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. यासमिनले भन्नुभयाे ।  

राहत रकम लिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि दुई मेडिकल कलेजले पुर्याएकाे याेगदानकाे प्रशंसा गर्नुभयाे । देश संकटमा परेकाे बेला हरेक नागरिकले आफ्नाे तर्फबाट सकेकाे याेगदान गर्नुपर्ने बताउँदै अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रले देखाएकाे उदारता र सहकार्य प्रति कृतज्ञ रहने बताउनु भयाे ।

स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारीसँगै विपद्को समयमा समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताका साथ यी कलेजले संस्थागत सहयाेग दिएका हुन् । विपद्को समयमा आर्थिक सहयोग मात्र नभई स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य र ऐक्यबद्धता महत्वपूर्ण हुने भन्दै दुवै मेडिकल कलेजले मानवीय सेवाको भावनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

दुई स्वास्थ्य संस्थाको यो संयुक्त पहलले विपद्को घडीमा निजी स्वास्थ्य क्षेत्रले निर्वाह गर्न सक्ने सामाजिक भूमिकालाई समेत उजागर गरेको छ । प्रभावित नागरिकको जीवन सामान्य बनाउन राज्यका प्रयासमा हातेमालो गर्दै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गरिएको यो योगदानले ‘विपद्मा सबैको साथ’ भन्ने मानवीय भावनालाई थप बलियो बनाएको छ ।

नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा सहकार्य र योगदानलाई निरन्तरता दिने बताएका छन् ।