
काठमाडौं, ५ कात्तिक । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बडा दसैं २०८३ को अवसरमा बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कार्कीले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि बिहान १० बजे देखि दिउँसो १३.०० बजेसम्मको समय तोकिएको थियो ।
टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो ।
टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।


