इसाई धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको र उपचारका नाममा इसाई धर्म प्रचार गरेको पाइएकोले यही आरोपमा १० जना विदेशी नागरिकको राहदानी जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।
यो संस्था ‘मर्सी डेभलपमेन्ट’ नामको हो । पर्यटक भिसामा नेपाल आएका विदेशी चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविर भनेर धर्म प्रचार गरेका थिए ।
शिविरको तयारी र सञ्चालक पास्टर पावेल दङ्गाल रहेका थिए । स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने भनेर पास्टर बाङ्देलले क्रिश्चियन धार्मिक कक्षा यही ठाउँमा सञ्चालन गर्दै आएका थिए । तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन बनाएका थिए । ती भवन हाल धार्मिक प्रचार र धर्म परिवर्तनमा प्रयोग हुँदै आएको छ ।


