
काठमाडौं, १७ कात्तिक । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले मातहत प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।
प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।
प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरीमा सञ्चार मध्यमको विकासक्रम, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेले गृह मन्त्रालयबाट सूचना उपलब्ध गराउने सम्बन्धी परिपत्र, नेपाल प्रहरी प्रधान कार्यालयबाट गरिएका परिपत्रहरू, सामाजिक सञ्जाल दुरूपयोग गर्ने प्रहरी कर्मचारी उपर विभागीय कारबाही संख्या, प्रहरी कर्मचारीले सामाजिक संजालहरूको व्यक्तिगत प्रयोग सम्बन्धमा समेत विस्तृत रूपमा जानकारी दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।


