
काठमाडौं, २८ कात्तिक, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले छठ पर्वको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विगतमा घटेका घटनाहरूको विश्लेषण गरी सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छठ पर्वको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा शनिबार काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक केसीले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले छठ पर्वको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आ(आफ्नो क्षेत्रमा अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने बताउनुभयो । छठ पर्वको समयमा नदी, तलाउ र पोखरीका घाटहरूमा ठूलो भीडभाड हुने भएकाले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष सुरक्षा रणनीति अपनाउनुपर्ने उहाँले बताउनुभयो । पर्वको समयमा कुनै पनि घटना हुन नदिन थप सचेत भई कार्य गर्नुपर्ने बताउँदै परिस्थितिको मूल्याङ्कन गरी बल प्रयोगमा विशेष संवेदनशीलता अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक केसीले चाडपर्व पश्चात हुन सक्ने अवाञ्छित गतिविधिहरू सम्बन्धी सूचना संकलन गरी विशेष सुरक्षा योजना बनाउन निर्देशन दिनुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्नुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक केसीले काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूबाट छठ पर्वको समयमा अपनाइएका सुरक्षा योजनाबारे जानकारी समेत लिनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।


