
रतन वहादुर रावल (मुगु ।
तिहारको अवसर पारेर गृह जिल्ला मुगु आइपुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीसमक्ष मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासीले केही महिनाअघिको दुखद घटनाका पीडितलाई तत्काल न्याय दिलाउन माग गरेका छन्।
मुख्यमन्त्री शाहीलाई स्थानीयवासीले मुगु–हुम्ला सीमा क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउन पनि आग्रह गरेका छन्।
केही महिनाअघि जडीबुटी सङ्कलनका लागि वन प्रवेश गरेका मुगुम कार्मारोङ गाउँपालिकाका १३ जना युवामध्ये तीन जनाको हुम्लातर्फका स्थानीयको लखेटाइका क्रममा मृत्यु भएको थियो। उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै पीडित परिवारलाई छिटोभन्दा छिटो न्याय दिलाउन स्थानीयले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
स्थानीयवासीका अनुसार सम्बन्धित निकायले सुरुमा दशैँअघि नै आवश्यक कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दिएको थियो। पछि दशैँको टीकापछि काम हुने भनिए पनि हालसम्म पक्राउ पुर्जीसमेत जारी नहुँदा पीडित परिवार र स्थानीय निराश बनेका छन्।
मुख्यमन्त्री शाहीले सदरमुकाम गमगढी र आसपासका क्षेत्रका विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा उहाँले गमगढी–पिना सडक र मुन्दुदेखि सेराडिल जोड्ने पुल आयोजनाको कार्यप्रगतिबारे जानकारी लिनुभएको छ।


