Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

नसके छाड मन्त्री

०४ सोमबार , माघ २०७२११ बर्ष अगाडि

उर्जामन्त्री टोपबहादुर रायमाझी यसरी टकटकिएका छन्– 'मैले घटाउन सकिन, दैनिक १८ घण्टाभन्दा धेरै समय लोडसेडिङ हुन्छ।'
प्रधानमन्त्री हावाबाट बिजुली निकाल्ने कुरा गर्छन्, लोडसेडिङ मुक्त गर्छु भनेर हल्ला गर्छन्, उनका उर्जा मन्त्री सकिन भनेर जिम्मेवारीबाट पन्छिछन्। यो कस्तो सरकार हो, न आफू केही गर्नसक्छ, न सक्नेका लागि ठाउँ छाड्छ? मन्त्री भएको सय दिन पुग्न लाग्दा मन्त्रीले यसो भने पछि जनताका लागि विजुली बाल्नु अथवा विजुलीबाट खाना पकाउनु सम्भव नहुने भयो। एकातिर इन्धन अभाव अर्कोतिर लोडसेडिङको अँध्यारो, मुलुक डरलाग्दो बिपत्तितिर उन्मुख भएको छ। लोडसेडिङको अर्थ उद्योग धन्दा नचलनु पनि हो। उत्पादनै नभएपछि मुलुकको आर्थिक गति ओह्रालो लाग्नु निश्चित छ। राजनीतिले कोर्ष नलिएपछि र राजनीति अस्थिरताको कारण बनेपछि मुलुकको आर्थिक जीवन कष्टकर हुन्छ, लाइफलाइन भाँचिन्छ भनेको यही हो।
यद्यपि नेताहरुमा देशको चिन्ता छैन, अर्थतन्त्र धरासायी हुँदै गएको विषय पनि चिन्ताको विषय बनेको छैन।
सार्वभौमसत्ता सम्पन्न संसद छ, संसदमा देशको यो बेहालका विषयमा कसरी पार पाउने भन्ने छलफल नै हुन्न। संसदले राष्ट्रिय समस्याहरुको निराकरणका लागि गम्भीर हुनुपर्ने हो। संसद नाटकीय रुपमा सुरु हुन्छ र सकिन्छ। संसद भनेको नौटंकीथलोजस्तो बनेको छ। राष्ट्रिय मुद्दाहरुमा, जनताका सवालहरुमा गम्भीर हुन नसक्ने संसद केको सार्वभौम? देश बिखण्डनको भीरमा पुगिसक्यो, पार्टीका शीर्ष नेताहरु सभासदहरुलाई भेडाबाख्रा बनाइरहेका छन्। स्वतन्त्र र गणतन्त्रका कुरा गर्छन्, न स्वाधीनताको सवाल, न गणको बिजोकप्रति चासो? मन्त्रीहरु ४० जनाको डफ्फा नै छ, कुनै पनि मन्त्रीले देश र देशवासीको कुरा गर्दैनन्। मन्त्री छन्, टोपबहादुरजस्ता, जो मैले सकिन भन्छन् र सत्तामा किर्ना टाँस्सिइरहेका छन्।
नसके छाड्नु नि?