Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

मात्र दह्रो धक्काको आवश्यक छ

शाश्वत शर्मा

२७ मंगलबार , चैत्र २०८०४ महिना अगाडि

मात्र दह्रो धक्काको आवश्यक छ

जुम्लामा पूर्वराजाको भव्य नागरिक स्वागत भयो । चन्दननाथ र भैरवनाथको दर्शन पूजा गर्न पुगेका पूर्वराजालाई जुम्लेलीले हार्दिक स्वागत गरेको देखियो । यसअघि झापा, सुनसरी, बाँके, सुर्खेत, धनगडी, भक्तपुर, तराईमा पूर्वराजाको जुन प्रकारले अभिनन्दन गरिएको थियो । अब शंका रहेन, देशमा राजतन्त्रको भविभावकीय भूमिका जनताले खोजेका छन् । पश्चिमी इलाकामा माओवादी जनयुद्धको आधार थियो, तिनै क्षेत्रमा राजतन्त्रको जयजयकार हुनु, आह्वान हुनुले पनि बुझ्न सकिन्छ, परिवर्तनकारीले देश चलाउन सकेनन् । मुख्य कुरो पूर्वराजाको स्वागत र सत्कार गर्न सबै दलका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता थियो । राजतन्त्र आफैमा राजनीतिक शक्ति हो भन्ने पटक पटक प्रमाणित भइसकेको छ । यति दह्रो शक्तिलाई किनारामा राखेर कसरी राजनीतिक स्थिरता आउन सक्थ्यो र ? नेतृत्वपंक्तिले बुझे हुन्छ, बढ्दो निराशा र राष्ट्रिय संकट सहमति बिना मोचन सम्भव छैन ।
राजधानीदेखि देशका विभिन्न भागमा राजतन्त्रको पुनर्वहाली र गणतन्त्रको खारेजीका लागि जनप्रदर्शन भइरहेको छ । जनप्रदर्शन निरन्तर जारी रहने भनिदैछ । पूर्वराजाको जयजयकारको गगनभेदी ध्वनी झन झन बढेर जाँदोछ । पूर्वराजालाई राजनीतिको मूलधारमा स्थान नदिए जनअसन्तुष्टि बढ्ने देखिन्छ । शान्तिपूर्ण जनप्रदर्शनले यो लुटतन्त्रको शासनव्यवस्थाको पतन सुरु भइसकेको छ । दुर्गा प्रसाईदेखि राप्रपा, राप्रपा नेपाल र आमनागरिक सडकमा उत्रनु र यो व्यवस्थाको बिरोध गर्नु भनेको यो व्यवस्थाप्रति जनअसन्तुष्टिको पराकाष्ठा नै हो । आजैदेखि राप्रपाले थप आन्दोलन गर्नेछ भने राप्रपा नेपाल आन्दोलनमा नै छ । समाज, सडकमा जनबिस्फोको स्थिति, सत्तामा स्थापितहरु भ्रष्टाचारमा लिप्त हुनु । ठूला दलहरु एकदोस्रालाई तह लगाएर सत्तारस चुस्न बढ्दो प्रतिस्पर्धा । मुलुकले यस्तो अस्थिरता कति दिन धान्न सक्छ र ? त्यसै पनि आर्थिक संकटले ढाड भाँचिदो । आर्थिक बजार कहालीलाग्दो अवस्थामा पुगिसकेको छ । यो शासन व्यवस्थाले शान्ति, कानुनव्यवस्था र समुन्नति सपनामात्र हो भन्ने प्रमाणित भइसकेको छ । यो स्थितिको अन्त गर्ने र स्थिरता चाहने हो भने संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको बिकल्प देखिदैन । दोषी, राष्ट्रघातीलाई दण्ड र विकासप्रेमीहरुलाई देशको कार्यभार सुम्पनु पर्ने देखिन्छ ।
सडकबाट सत्ताच्यूत हुने कि सच्चिने, यसको निर्णय राजनीतिक ठूला दल भनिएकाहरुले गर्न जरुरी छ । अन्यथा बढ्दो जनप्रदर्शन, धार्मिक र सामाजिक बिचलन, द्वन्द्व, झडपले देशको बर्बादीलाई रोक्न नसकिने संकेतहरु बिकसित भइरहेका छन् । दिनहुँ नयाँ पुराना भ्रष्टाचारका काण्ड खुल्दै गएका छन् । यसैवीच भारतले नयाँ नेपालनीति सार्वजनिक गरेको छ, जसमा भ्रष्टाचारमा डामिएका नेपाली नेताहरुलाई समर्थन गरिनेछैन । आगामी जुन ४ मा बन्ने भारतको नयाँ सरकारले यो नीति लागु गर्नेछ । चीन नेपालप्रति सशंकित छ । अर्थात छिमेकी हैरान र परेशान छन् । नेपालनीतिप्रति पुनर्विचार गर्न थालेका छन् । नेपाल शक्ति सामथ्र्य बढाउन थालेका विश्व खेलाडीहरुको खेल मैदान बन्नथालेपछि अब के गर्ने भनेर तर्सिएर सोच्न थालेका छन् । शान्त कुटनीतिमा विश्वास गर्ने चीन खुलेर पार्टी पार्टी जुटाउने, फुटाउने, सत्ता परिवर्तनको खेलमा संलग्न हुनथालेको छ ।
यो अवस्था आउनुमा यिनै सत्ता सञ्चालकहरुको असक्षमताले गर्दा हो । नेपाली नेतृत्व भ्रष्ट छन् भन्ने बुझेका छिमेकी नेपालमा राजनीतिक परिवर्तनको बिकल्प छैन भन्ने निष्कर्षमा पुगेका छन् । हिजो राजसंस्था हुँदा आश्वस्त छिमेकी आज संशयमा छन् । हरेक शक्तिदेखि माफियाहरुको समेत खेल मैदान हुनपुग्यो नेपाल । सुरक्षा निकायले सबै रिपोर्ट संकलन गरेको होला, समय आउनासाथ चूप नलाग्ला । यसकारण पनि राजतन्त्रको पुनस्र्थापना अवश्यम्भावी देखिदैछ । जस जसले मुलुक र मुलुकबासीका एजेण्डा उठाउनेछन्, तिनलाई साथ र सहयोग दिनु जनताले कर्तव्य ठान्नेछन्, सरिक हुनेछन् । मात्र जो आन्दोलनको अगुवा बनेका छन्, उनीहरुले एकदुई दिने होइन, आन्दोलनको निरन्तरता दिनुपर्छ । जो राजतन्त्र भनेर एक्लाएक्लै आन्दोलनमा छन्, तिनले एकतामा बल दिनुपर्छ, भरोसा गर्नुपर्छ । आफै नेता हुन खोज्नु भएन । राजतन्त्रको पूनस्र्थापना भएन भने मुलुक नै नरहने खतरा बढी छ ।