Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

चारतारा सुशील कोइराला

०४ सोमबार , माघ २०७२११ बर्ष अगाडि

मेरो छोरालाई केन्द्रीय सदस्य जिताइदिनुपर्‍यो। यही हो रामचन्द्र पौडेलको राजदूतसँगको गुहार। उनी दिल्ली दर्शन गरेर आए पनि पार्टी अध्यक्ष बन्न नसक्ने भएका छन् भने भावी प्रधानमन्त्री हुन अहिलेदेखि नै र्‍याल काढिरहेका छन्। यता सुशील कोइराला सुजाता परिपक्व नभएको र शेखर अविश्वसनीय भएकाले पदाधिकारी बढाएर भए पनि सशांक कोइरालालाई उपसभापति बनाएर भावी सभापतिका लागि तैयार पार्ने रणनीतिमा छन्। यही रणनीति साकार पार्न कोइराला यसपटक पनि सभापतिमा लड्दैछन् र साम, दाम, दण्ड, भेद लगाएर जित्ने निश्चितजस्तै स्थिति देखिन्छ।
चौथोपटक सभापतिका उमेदवार बनेर शेरवहादुर देउवाले पार्टीपंक्तिसँग समर्थन मागेका छन्। रामचन्द्र पौडेल सभापति सुशील कोइरालाको समर्थनसहितको उमेदवार मै हुँ, म पार्टीलाई अघि बढाउँछु भनेर सभापति बन्न दगुरेका छन्। युवाहरु कसैले सभापतिमा उमेदवारी दिने हिम्मत गरेको देखिदैन। नेपाली कांग्रेस पूर्णरुपमा महाधिवेशनमा होमिएको छ। को बन्छ कांग्रेसको सभापति? अहिलेका लागि उत्सुकतामात्र छ।
अँध्यारो कोठाका माहिर खेलाडी हुन् सुशील कोइराला। उनी रामचन्द्रलाई उपसभापतिमा थचार्न तैयार छन्, तर देउवालाई कसरी मात दिने? यसको हिसावकितावमा व्यस्त भइरहेका छन्। कांग्रेसी स्रोत भन्छ: अन्ततः चार तारा सुशील कोइराला हुनेछ।
रामचन्द्रको उद्देश्य सभापति होइन, एकपटक देशको प्रधानमन्त्री बन्ने र आफ्नो राजनीतिक विरासत छोरोको काँधमा बिसाउने रहेको छ। यी दुबै कार्यको ठेक्का सुशील कोइरालाले लिइदिएपछि रामचन्द्र पौडेल सुशीलका लागि चुनौति होइनन्। सुशीलको चिन्ता देउवा हुन् र देउवालाई पछार्ने ताकत अझै पनि सुशीलको बुढो हड्डीमा कायमै रहेको चर्चा छ कांग्रेसभित्र। त्यसमाथि जिल्ला जिल्लाका सक्रिय सदस्य, मतदाताहरुको सूचीमा सुशील कोइरालाले ठूलै तलमाथि गरेको आरोप देउवापक्षको रहेको छ। सुशील र रामचन्द्रलाई फटाउन नसक्ने हो भने देउवा यसपटक पनि उत्तानो पछारिने निश्चित छ।
मुख्य भूमिकामा खुमबहादुर पनि छन्। उनी उपचार गराएर फर्किसकेका छन् र उनले अझै तुरुपको पत्ता खोलेका छैनन्। उनी देउवातिर छन् कि सुशील तिर? भेउ पाउन सकिएको छैन। खुमबहादुर सुशीलतिर लागे भने देउवा सपना चकनाचूर भयो भन्दा हुन्छ। अर्को कोइराला तैयार नभएको स्थितिमा सुशील कोइरालाको बाध्यता यो छ कि उनी नेतृत्व छोड्न सक्दैनन्।