Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

सुरुङमार्ग बीबी एयर नहोस्

०३ सोमबार , फाल्गुण २०७२११ बर्ष अगाडि

रुअरी, गार्मेन्ट, शिक्षा, सञ्चार र होटल बिजनेशको अनुभवीले एयरलाइन्समा हामफाले र फेल भए। बीबी एयर फेल भएपछि छटपटिएका भवन भट्ट काठमाडौं–हेटौंडा सुरुङमार्गका अध्यक्ष बनेका छन्। कुशकुमार जोशीले राजीनामा दिएपछि भट्ट अध्यक्ष बनेका हुन्। उनी उत्साहित छन् र भन्छन्– चारवर्षमा यो सुरुङमार्ग बन्छ। लगानीकर्ता कसैको पनि लगानी डुब्दैन। यो सुरुङमार्ग बनेपछि एकघण्टामा हेटौंडा पुग्न सकिन्छ। निजीक्षेत्रले ३० वर्ष यो सुरुङमार्ग चलाएपछि स्वतः यो सुरुङमार्ग सरकारको सम्पत्ति हुनेछ। भवन भट्ट कोरियाबाट प्रभावित छन् र कोरियाको उदाहरण पनि दिन्छन्। स्मरणीय छ, सुरुङ खन्ने काममा कोरियनजति विश्वमा कुनै पनि मुलुक अनुभवी छैन।यो सुरुङमार्ग निर्माण गर्न नेपाल पूर्वाधार विकास कम्पनी गठन भएको थियो। यो सुरुङमार्गको सबैभन्दा ठूला लगानीकर्ता यिनै हुन्। सबैको आग्रहमा अध्यक्ष बनेको छु, यो सुरुङमार्ग बनाएर देखाउँछु। सरकारले पनि लगानी गर्नुपर्छ, लगानी जुटाउने प्रयत्नमा जुटेको छु। जापानबाट ठूलो लगानी ल्याउने पहल गर्दैछु। लगानी जुट्नेमा आशावादी छु।

२०६८ सालमा दर्ता भएको यो कम्पनीको ४ वर्ष कुशकुमार जोशीले लगानीकर्ताको पैसा उडाएर सिध्याइदिए। यो सुरुङमार्गको लगानी ३५ अर्व अनुमान गरिएको छ। कुशकुमार जोशीले १७ सय गरीवहरुको लगानीमा मोजमस्ती गरेर गए। जाँदा लुकेर, भागेर र मुख छोपेर गए। उनले गरीवहरुको लगानीलाई गर्नुसम्मको शोषण गरे। गरीव लगानीकर्ताले काठमाडौं आएर कार्यालय घेरेपछि बल्लतल्ल राजीनामा दिएर भागेका छन्। भवन भट्टले त्यसो नगर्लान्। काम गर्लान् र बोलेजस्तो गरी लगानीकर्ताको लगानी नडुबाउलान्। उनी एनआरएन उपाध्यक्षसमेत भएकाले एनआरएनको लगानी जुट्नेमात्र होइन, इज्जतसमेत अव यो आयोजनामा जोडिएको छ। एनआरएनको विश्वसनीयताका लागि पनि भवन भट्टले यो निजीक्षेत्रको महत्वाकांक्षी आयोजना पूरा गर्नैपर्ने दायित्व उनको टाउकामा आएको छ। लगानीकर्ताले विश्वास गरेका छन्, त्यो विश्वासलाई पूरा गर्नसके भट्टको मान स्वतः बढ्नेछ।