
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएका लामाले आज बिहान ११ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडामा शपथ लिने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस र नेकपा (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
बागमती प्रदेश सरकारमा कांग्रेसबाट ७ र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको छ । एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूमा प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालय रहेको छ ।
कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ भने मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।


