Advertisement Banner
Advertisement Banner

२५ मंगलबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

Image

आइसकेको संकटमा बेखबर छौं

शाश्वत शर्मा

१० सोमबार , भाद्र २०८११४ दिन अगाडि

आइसकेको संकटमा बेखबर छौं

परराष्ट्रमन्त्री डा.आरजु राणालाई भारतले दिएको सम्मानले प्रम ओलीलाई झस्काएको र निकट भविष्यमा कांग्रेस एमालेको गठबन्धनमा दरार ल्याउने आँकलन प्रचण्डले पार्टी बैठकमा गर्न भ्याएका छन् । ०७३ सालमा तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले बाहेक अरूले भारतका प्रम मोदीसँग भेट्न पाएका थिएनन् । त्यतिबेला भर्खरै संविधान जारी भएको र भारत असन्तुष्ट रहेका बेलामा कमल थापाले प्रधानमन्त्रीलाई भेट्नु अर्थपूर्ण मानिएको थियो । त्यतिबेला नेपालको राजनीतिक परिस्थिति भारतीय अनुकूल थिएन, अहिले भूराजनीति, खासगरी दक्षिण एसियाको, भारत अनुकूल देखिदैन । बंगलादेशमा भारत अनुकूलको सरकार जसरी ढल्यो, त्यो भारतका लागि ठूलो झट्का हो । यतिबेला दक्षिण एसियामा युरोअमेरिकी प्रभाव बढ्दैजानु, तिनकै प्रभावमा भारतको कम्फर्टेबल भनिएको प्रचण्ड सरकार ढल्नु, ठूला दुई दलको नयाँ गठबन्धन सरकार बन्नुले भारतको पकट फुस्किदै गएको देखिन्छ । त्यसो त भारतभर आन्दोलनको ज्वारभाटा चर्कदै गएका कारण मोदीकै गठबन्धन सरकार ढल्ने खतरा पनि देखिन्छ । भारतमा युरो अमेरिकी प्रभाव बढ्न जाँदा भाजपाले बहुमत गुमाएको र आफैले मार्न ओझेलमा पारेको सार्कलाई पुनः सकृय पार्नुपर्ने निर्णयमा पुगेको बताइन्छ । आफ्ना छिमेकीहरूसँग मतभिन्नता बढ्दा क्षेत्रीय हैकम गुम्न जाने भयका कारण पनि भारत सार्कप्रति लचिलो हुनपुगेको हो । हुन त एक व्यापारीको घरमा ओली र प्रचण्ड बसेर ७ बुँदे सहमति गरेर प्रचण्ड सरकार ढाल्दा भारतीय राजदूत नविन श्रीवास्तवले प्रचण्ड सरकार टिकाउने प्रयास गरेका थिए । दक्षिण एसियामा पश्चिमा शक्तिले देखिनेगरी जरा गाडेको र भारतलाई प्रभावहीन पार्दै विश्वशक्तिको दौडमा रहेको चीनलाई घेर्न थालेकोले आपसी विवाद थाँती राखेर चीन र भारत एक ठाउँमा आउनुपर्ने विश्लेषण पनि हुनथालेको छ । तर भारतको आणविक कमजोरीका कारण अमेरिकालाई चिढाउन चाहदैन भनिदैछ । तर नेपालका आगामी दिनहरू सहज देखिदैनन् । हिजो भारत र चीन हावी थिए, अब पश्चिमा हावी भएको छ । घटना त्यहीअनुरूप घट्नेछ । आन्दोलन जातीय, भाषिक, रङ्, धर्म अनेक मुद्दामा सुरू हुनेछन् । हत्या, हिंसा, उग्रवादका आगो देखिन थाल्नेछन् । चीनको खेमाबाट पश्चिमा खेमामा फाल हालेर प्रचण्डलाई सवक सिकाउन पुगेका केपी ओली बाध्यात्मक परिस्थितिको सामना गर्नैपर्ने अवस्थामा पुगेका छन् ।
नेपालको राजनीतिक परिस्थिति खलबलिएको छ । नयाँ नयाँ खेलाडी आएका छन् । कुन कुनबेला नेपालमाथि हावी हुनेछ, भन्न सकिदैन । नेपाल विश्वशक्तिको उपस्थितिमा देखेपछि भारत र मोदीले नेपाललाई महत्व नदिने कुरै भएन । हिजोसम्म पदमा जानासाथ दिल्ली दर्शन गर्न जानेहरू थिए, अब दिल्लीले निम्तो दिने परिस्थिति देखिएको छ । प्रधानमन्त्री थाइलेण्ड, त्यसपछि राष्ट्रसंघको बैठकमा सहभागीहुन अमेरिका जाने तैयारीमा जुटिसकेका छन् । अमेरिका पुगेपछि साइडलाइनमा सार्कका परराष्ट्रमन्त्रीहरू बैठक हुने सम्भाबना बढेको छ । नेपाल विश्वशक्तिको पुरै खेल मैदान बनिसकेको छ । नेपाल भूराजनीतिको गोलचक्करमा परिसकेको छ ।
त्यत्रो शितयुद्धको समयमा सुरक्षित रहेको नेपाल यतिबेला विदेशीको चासोको विषय बनेको छ । नेपालको विश्वविश्वासको संचिति सकिएको छ । भ्रष्ट र असक्षम नेताहरू सत्ताको जागीरका लागि मरिहत्ते गरिरहेका छन् । देशमा अनेकन समस्या बल्झिन थालेको छ । आफ्नो कमी कमजोरी र भ्रष्ट चरित्र तथा कुकृत्य माफ गराउन नेताहरूले विदेशी दासत्व स्वीकार गरेका छन् । हिजो राजाहरूले सुरक्ष्ािँत राखेको मुलुक विदेशीको रणनीतिक मैदान बन्न पुगेको छ । अब भोग्नुपर्ने भयो राजाविरोधी नारा लगाउनेहरूले सकस । हो, महगो मूल्य देश र आमनागरिकले पनि चुकाउनै पर्नेछ । भन्नेहरू भन्छन्– नेपाली कहिल्यै चेत्दैनन् । चेत छ, विवेक छैन । थाहा सबै छ, चेतना छैन । डा.आरजु अर्थात परराष्ट्रमन्त्रीलाई रेड कार्पेट बिछ्याएकोमा गर्व गरेर के गर्नु ? यो त नितान्त भविष्यमा आउने संकटको आहट हो ?