
देश आन्दोलित छ । आन्दोलन किन ? कसका लागि ? जनता यसरी आक्रोसित हुनु र त्यसको कुपरिणामको जिम्मेवारी लिने कसले ?
गतहप्ता प्रतिनिधिसभामा रोमाञ्चक दृश्यहरू देखिन्थे । एकातिर राजा चाहियो, अर्कोतिर कुनै हालतमा राजाको कुरा गर्न नै पाइँदैन भन्ने बहस चल्यो । ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने व्यंग्यात्मक गीतजस्तै । संसद् दलहरूका लागि झगडा गर्ने थलो बन्यो ।
अब यो झगडा सडकमा चर्कै रूपमा उठ्न थालेको छ । झगडाको अन्त्य गर्ने ओखती खोज्न कोही तैयार छैन ।
संसद गाईजात्रा बनेको छ ।
सडक तमासा बनेको छ ।
बुद्धिजीवी तमासे बनेका छन् ।
संसदमा प्रत्यक्ष प्रसारणमा हुञ्जेल कुटुँला जस्तो । बाहिर निस्केपछि छुटुँला जस्तो । गाईजात्रा भनेजस्तै । हुन त संसद् पछिल्लो समयमा यस्तै यस्तै जात्रा गर्ने रंगमञ्चका रूपमा स्थापित हुँदै गएको छ । हो भन्नेले हो भन्नुस् होइन भन्नेले होइन भन्नुस् । कुरा खतम ! तर सधैं त्यत्तिले मात्र कहाँ पुग्थ्यो र संसद्, संसदका रूपमा नै रहन सकेको छैन । एकले अर्कालाई आरोप लगाउने यो नेताहरूको पुरानै महारोग हो ।
तु शेर है तो मै सवा शेर । यस्तै चलिरहेको छ । मालिक र दासबीचको विभेद अन्त्य गर्नका लागि कानुन बनाउने त्यही ठाउँमा माथिल्ला पदकाले तलकालाई होच्याउने । त्यही भएर होला ‘तँ भन्दा म के कम’ भन्ने खालको भयो । कांग्रेस होस् कि एमाले, माओवादी हुन् या राजावादी, आ–आफ्नै बाजा बजाइरहेका छन् त्यही संसदमा । जुम्लाका ज्ञानेन्द्र शाही हुन् कि ताप्लेजुङका योगेश भट्टराई, यो वा त्यो नाममा एउटा न एउटा तानाशाह स्वीकार गर्ने ! ज्ञानेन्द्र शाही राजाको पछि योगेश केपी–ओलीको पछि । स्वाभाविकै हो आ–आफ्नो अभिभावक स्वीकार गरेकै छन् ।
२०५१ सालमा माओवादीले जनयुद्ध भन्दै सरकारी भवन जलाए, ६१ तिर गगनहरूले सरकारी गाडीहरू जलाए । अहिले राजावादीहरूले फेरि उही बाटो अपनाउँदै घर, गाडी जलाए । २० वर्षअघि लोकतन्त्रका लागि आन्दोलन भयो । २० वर्षमा कसले के पाए कसले के गुमाए आफूले आफैंलाई प्रश्न गर्दा नै ठीक होला । २० वर्षपछि सडकमा आगो छ ।
प्रश्न– आन्दोलन के का लागि ? व्यवस्था परिवर्तनका लागि कि अवस्था परिवर्तनका लागि ? पुराना कुरा नगरौं भन्दै पन्छिन खोजे हाम्रा किरण बाजे ! त्यसो भए २०१७ सालदेखि ०४६ सम्म के पाए जनताले ? ०४७ देखि ०८१ सालसम्म के पाए ? सबैको साझा प्रश्न नै त्यही हो भन्छन्, सानो राजा ।किरण बाजे खै किन हो त्यत्ति खुलेनन् । संसददेखि सडकसम्म शक्ति प्रदर्शन के का लागि हो त ? जनतालाई आन्दोलनले के दिन्छ र ? आन्दोलन भन्यो आगो बाल्यो, निजीसरकारी सम्पत्ति खरानी बनायो । निको भएन यो रोग ।
किरण बाजे आन्दोलनका हर्ताकर्ता । यता सानो राजा आन्दोलनको विपक्षमा । कुरो के मिल्थ्यो ! संसदमा ज्ञानेन्द्र, योगेश र विश्वप्रकाश जस्तै । संसदमा राजतन्त्रवादी र गणतन्त्रवादीबीचको जुहारी । एउटा वारि, एउटा पारि । जे होस् पहिले–पहिले १० वर्षमा हुने आन्दोलन अहिले २० वर्षमा सरेको छ । दुई–चार दशकपछि ३० वर्षमा सर्ला ! आखिर के का लागि ? चाहे त्यो गणतन्त्रवादीको होस् चाहे राजावादीको होस् । जब जनताको आशा र भरोसा टुटेपछि यस्तै आन्दोलन हुनेरहेछ ।
दिनदिनै वृद्धाश्रम हुँदै गरेको मुलुकमा आन्दोलनका जात्रा किन ? सानो राजाले किरण बाजेलाई कोट्याइरहेका छन् । तर किरण बाजे ढुंगा बोल्ला मान्छे बोल्नेवाला छैनन् । आज किन हो सानो राजाको पालोजस्तै । उहीमात्र एकोहोरो । सरकार, सरकारजस्तै भएन । कांग्रेस–एमाले दुई मिलेर तानाशाह लाद्न खोजेपछि बालेन शाहले टुकुचामा गाड्न समयसीमा तोक्ने दिन पनि आयो । अनि निरंकुशतन्त्र फाल्नेहरू नै ज्ञानेन्द्र शाहका पक्षमा आगो बाल्ने दिन पनि देखिए ?
‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबैं टेडी’ भनेजस्तै भो । गणतन्त्रको फल कसैकसैका लागिमात्र मिठो भो । सारा दुनियाँलाई तितो भो । जनताले राजा नै कहाँ मागेका थिए र ? व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तन खोजेका थिए । भोका नागरिकले खाना खोजे । बेरोजगारले रोजगारीको अवसर खोजे । बिरामीले उपचार खोजे । अभिभावकले गुणस्तरीय शिक्षालय खोजे । तर शिक्षालय व्यापारीको भो ! अस्पताल माफियाको भो ! बेरोजगारलाई दुबई, कतार मान्छे बेचेजस्तै भो । आफैं केही गर्न खोज्नेहरूका लागि जन्माउन पाएको छैन सरकारको करले थिलथिलो भो !
बाँच्नका लागि केही त गर्नै पर्ने भो । दलमा लाग्नेहरूका लागि सर्वत्र फलिफापमात्र भो, नागरिकहरूका लागि नेताहरूकै कारण बिल्लीबाठ भो । २०५२ सालमा गाउँबाट लखेटे, ०६२ मा सदरमुकामबाट खेदेझै ०८२ मा कता खेद्ने हुन् ? सरकार जनताको भैदिएको भए, युवाहरू खाडीमा बेचिनु पर्दैनथ्यो होला ? गाउँमा डाँडामाथिको घाम जस्तै भएका बा आमाहरू घिटीघिटी भएर काल कुरेर बस्नु पर्दैनथ्यो होला । सन्तान, बाउ आमाको काखमा लुट्पुटिएर सधैंभरि वरिपरि बस्ने वातावरण कसले खोस्यो ? कहिले कांग्रेस–एमालेले खोस्यो, कहिले पञ्चेले खोज्यो, कहिले माओवादीले खोस्यो । खोस्नेहरूकै रजगज छ ।
संसदमा जनताका लागि आवाज उठेन । रोजगारी वृद्धि, उद्योगधन्दा सञ्चालनका कुरा उठेन । शिक्षा र स्वास्थ्यमा जनताको पहुँचका कुरा उठेन । रोजगारी बढाउने, सुलभ बनाउने कुरा उठेन । जनता थाप्लोमा ऋणको भार किन बढ्यो कुरा उठेन । चाहिने कुरामा आन्दोलन हुन्न, फेरि किन आन्दोलन ?