Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

Image

गणतन्त्रलाई किन गाँडतन्त्रको आरोप लाग्यो ?

राजन कार्की

०५ शुक्रबार , बैशाख २०८२१३ दिन अगाडि

गणतन्त्रलाई किन गाँडतन्त्रको आरोप लाग्यो ?

गणतन्त्रको १७ वर्षपछि नागरिकले भन्न थालेका छन्– गणतन्त्र गाँडतन्त्र भयो । नयाँ नेपाल बनाउँछु भन्नेहरू आफू र आफन्तमात्र बने, भएको नेपालको शासन व्यवस्थासमेत लथालिङ्ग पारे ।
पद्धतिमा जनविश्वास हुनुपर्छ । जनताले अपनत्व ग्रहण गर्नुपर्छ । त्यो पद्धतिमात्र राट्रिय हुनसक्छ । गणतान्त्रिक लोकतन्त्रमा संविधान छ, संसद छ, सरकार छ, सबै छ तर न्यायको प्रत्याभूति छैन । समानता र सुशासन छ भनेर लोकले भन्न सक्दैनन् । यसकारण यो पद्धतिलाई लोकले गाँडतन्त्र भनेका हुन् । यति हुँदा पनि गणतान्त्रिक नेताहरू जनतासँग बहस गर्न र जनतालाई यही तन्त्र उत्तम तन्त्र हो, नीति, सिद्धान्त, नैतिकता, लोकआवाजको संवोधन हुन्छ भनेर आश्वस्त पार्न सक्दैनन् । डाक्टर, माष्टर, कर्मचारी, राज्य र समाजका सबै तह र तप्का असन्तुष्ट छन्, सडकभरि बिद्रोहको आवाज बोलिरहेका छन् । राज्यले तिनलाई आश्वस्त पार्न सकिरहेको देखिदैन ।
संघीय लोकतान्त्रिक गणतन्त्र सडकभरि पानीझैं पोखिन थाल्यो । सत्ता राज्यशक्तिको दुरूपयोग गरेर सडकमा पोखिएका जनअसन्तुष्टिमाथि दमन चलाइरहेको छ । जनता गलत राज्य प्रणाली र व्यवहारको बिरोध गरिरहेका छन् । गैंडाको छाला भएका गणतन्त्रवादीहरूलाई जनविरोधले छुन सकिरहेको छैन । राज्यशक्तिको दुरूपयोग गरेर बाहुबली बन्दै तर्साइरहेको छ ।
शिक्षा, स्वास्थ्य, राजनीति, सांस्कृतिक, सामाजिक, आर्थिक, कूटनीतिक कुनै पनि क्षेत्र सन्तुष्ट नहुनु भनेको राज्यको बिफलता हो । जता पनि अति राजनीतिकरण र ठूला पार्टीको भागबण्डा शैलीप्रति जनताको तीब्र बिरोध सडक सडकमा देखिएका छन् । लोकतान्त्रिक गणतन्त्र हाँक्नेहरू राज्यसुरक्षा घेरामा घेरिएर सडकको बिरोधलाई गिल्ला गरिरहेका छन् । नेतृत्वमा रहेकाले लोकआवाजप्रति गिल्ला गर्ने, तिनीहरूमाथि राज्यदमन गर्ने होइन, तिनको आवाजको सम्मान र संवोधन गर्न सक्नुपर्छ । यी कस्ता लोकतन्त्रवादी हुन्, जो जनताको आवाज सुन्दैनन् ?
कार्यकर्ता उफारेर कहिलेसम्म जनतामाथि शासन गरिरहने हो ? जब पद्धतिमाथि जनताले आलोचना गर्छन्, अपनत्व ग्रहण गर्दैनन्, त्यस्तो पद्धति पार्टीका कार्यकर्ताले टिकाएर कहिलेसम्म टिक्ला ? लोकतन्त्रमा लोक देखिनुपर्छ, कार्यकर्ता होइन । कार्यकर्ताले टिकाएको पद्धति निरंकूशतन्त्र हो ।
असन्तुष्टिका आवाज सडकमा घन्किन थालेपछि र राज्यदमन बर्बर हुनथालेको दृश्य परिदृश्यले वर्तमान समयमा नेपालमा पनि लोकतन्त्र छ र ? यो प्रश्न अब विश्वभरि नै उठ्न थालेको छ । दण्डहीन मुलुक भएको, फौजदारी अभियोग लागेकाहरूले संसद, सरकार, संविधान नाटकीय रूपमा चलायमान बनाएजस्तो गरेकाले विश्वजगत नै आश्चर्य चकित परेको छ । योभन्दा ठूलो लोकतन्त्रको उपहास के हुनसक्छ ?
१७ वर्षको गणतन्त्रमा कुनै पार्टी पनि स्वच्छ देखिदैन । हरेक पार्टीभित्र भ्रष्टहरूको राइँदाइँ चलेको छ । भ्रष्ट, राष्ट्रघाती, जनमतघातीहरू यत्रतत्र सर्वत्र छन् । आत्मनिर्भर बन्दै गएको मुलुकलाई माँग्नेदेश बनाइदिए यी नेताहरूले । बहुदलको ३४ पछि र लोकतन्त्रको १७ वर्षपछि नेपाल ९५ प्रतिशत परनिर्भर बन्नपुगेको छ । यिनले गणतन्त्र व्यवस्था हाँकेपछि, नयाँ नेपाल बनाउने सपना देखाएप्ीछ ६० लाख युवा वैदेशिक रोजगारीमा गएका छन् । हरेक युवाको मुखैमा छ–यो देशमा अवसर छैन । गरिखान पाइदैन । हरेक विद्यार्थी भन्न थालेका छन्– १२ कक्षा पढेपछि विदेश जाने हो । यो स्थिति राष्ट्रका लागि चिन्ताको विषय हुनुपर्ने हो । न राजनीति, न अर्थविज्ञ, न समाजशास्त्री, न नागरिक समाज, कसैलाई पनि देशको भविष्यको चिन्ता छैन । अचम्म त बुद्धिजीवी भनिनेहरूले समेत मुखबुजो लगाएर बसेका छन् ।
इतिहास हेरौं, सुगौलीसन्धि गर्न खटिएका राजा गिर्वाण विक्रमका दूत थिए गजराज मिश्र र चन्द्रशेखर उपाध्याय, जसले देशमाथि घात गरे । अंग्रेजसँग बकस लिएर देशमाथि गद्धारी गरे । तीभन्दा भिन्न रहेनन् लोकतन्त्रका नायकहरू । त्यस्तै घाती चरित्र बहुदलमा देखियो, जनआन्दोलनपछि सुधार होला भनेको त लोकतन्त्रमा पनि जनविश्वासघात, देशघात बढेर गएको छ । देशवाद मर्दो अवस्थामा पुग्यो, जुन दुःखदायी छ । गणतान्त्रिक लोकतन्त्रले देशलाई कमजोर बनायो भन्ने अनेक प्रमाणहरू सार्वजनिक भइरहेको देखिन्छ ।
घरमा, समाजमा, देशमा अभिभावक चाहिने रहेछ । बढ्दो समस्या देशमा अभिभावक नभएकाले भएको हो । नयाँ नेपाल बनाउँछु भन्नेहरू आफै, परिवार बनाउनतिर लागे । देश टुहुरो हुनपुग्यो । परम्परागत शक्ति अर्थात राजा यी कथित लोकतान्त्रिक भनिने नेता र पार्टीहरूको काँधमा राखेर विदेशीले चलाएका वाणहरूको शैयामा महाभारतका भीष्म झैं लम्पसार सुतिरहेका छन् । उनले बुझेका छन्– देशभक्तलाई यसरी वाणमा सुताउने देशवादी होइनन् । तर उनी वाण फ्याँकेर उठ्ने साहस गर्दैनन्, किनकि उनको विचारमा जनता जाग्नुपर्छ, जनताले आवश्यकता ठान्नुपर्छ । त्यसैले भीष्म भनिरहेका छन्– म यहीँ छु । जनताले खोजेका बेलामा उ उठ्छु । जनताले खोजेका छन् तर जनबिद्रोह भइसकेको छैन । जनता आफै चैत १५ गते के जागेका थिए, गणतन्त्रे शासकहरूले आफूमाथि धावा बोलेको भन्ने भाष्य बुझेर अनेक प्रकारका षडयन्त्र गर्दै दोष देखिरहेका, देखाइरहेका छन् । आफ्नो भ्रष्टाचारी नियतलाई ढाकछोप गर्न जनअसन्तुष्टि बोल्नेहरूमाथि राज्यदमन, मुद्दा लगाएर विषयान्तर गरिरहेका छन् । निष्पक्ष छानबिन आयोग गठन गर्ने जनमाग मानिरहेका छैनन् । वेष्ट मिनिष्टर प्रणाली लोकतन्त्र चरित्रले चल्नुपर्ने हो । विधिले चल्नुपर्ने हो । निरंकूश र अपराधिक मानसिकताले चलाएको लोकतन्त्र जड्याहले हाँकेको गाडीजस्तो बनेको छ । जो जुनसुकै बेला दुर्घटनामा पर्नसक्छ । यी जो लोकतन्त्रको आवरणमा विदेशी काखमा खेलिरहेका छन्, मस्ती मारिरहेका छन् । वास्तवमा यिनले लोकतन्त्र बुझेकै छैनन्, त्यसैले लोक विपदले, भोकले, रोगले मरिरहेका छन्, देश रोइरहेको छ । यिनीहरू भ्रष्टाचार गरेर त्यसैलाई गणतन्त्र भनिरहेका छन् ।
लोकनेता लोक बिपदमा पर्दा शोक गर्छ र लोक बचाउन हदैसम्मको त्याग गर्छ । यी त भ्रष्टाचार गर्छन् । त्याग र बलिदान यिनको व्यवहारमा छैन । यिनीहरू त जुका हुन्, जो लोकलाई चुस्नु लोकतन्त्र हो भन्ठान्छन् । लोकतन्त्र नामधारी स्वार्थी राजनीति गर्नेहरू रक्तपिपासु ड्य्राकुल्ला लाग्छन्, लोक मर्दा भोज खान्छन् । त्यसैले त लोक सडकमा बिद्रोह बोलिरहेका छन्, शासन र सडकभरि नै अराजकता फैलदो छ । यो अराजकतालाई गणतन्त्र मान्न लोक तैयार छैनन् । राज्यसत्तामा बस्नेहरू यही लोकतन्त्र हो भनिरहेका छन् ।
स्वार्थमा रमाउने शासकहरूले देशलाई अन्तर्राष्ट्रिय खेलमैदान बनाइदिए । तत्कालीन अवस्थामा गौरीशंकर छात्रसमिति पनि थियो, यो समितिका लक्ष्मण घिमिरे, शिवबहादुर खड्का, विपिन कोइराला, भवेन्द्र खड्का, श्रवण कोइराला, हेमन्त कोइराला, भरत बरालहरूले पञ्चायतमात्र होइन, राजतन्त्रै फाल्नुपर्छ भनेर रगतको सहीछाप गरेको इतिहास छ । तर यी कम्युनिष्टहरू यसरी बिग्रिए कि यिनले सर्वहारालाई झन झन सर्वहारा बनाएर बिल्लिबाठ पारिदिए । वामको पछि लाग्ने समाजवाद ‘तँ त बिग्रिस नि बद्री’ भनेजस्तो भयो । अहिले पनि कम्युनिष्ट कांग्रेस मिलेर सत्ता चलाएका छन् । यी सबै सत्ताधारी, संसदधारीहरू जनतामारा बनेका छन् । जनतामा यिनीहरूमाथि रत्तिभर पनि विश्वास लाग्न छाडेको छ । यहीकारण हो, नेपालबाट लोकतन्त्र बदनाम भएको छ । गणतान्त्रिक लोकतन्त्रलाई जीवनपद्धति बनाउन पनि नसक्ने, आफ्नो चरित्र, सिद्धान्त प्रष्ट पार्न पनि नसक्ने, अवसरवादितामा चलने अनि यही गणतन्त्र हो भनेर लाद्नु भनेको आजका जनतालाई स्वीकार्य विषय हुनैसक्दैन । जनताका नजरमा जो नेताहरू छन्, तिनीहरू भ्रष्टाचार र अनैतिकताको पोखरीमा आहाल बसेका प्राणी हुन् भन्ने परेको छ । यो भ्रष्टाचारको दाग मेटाउनुभन्दा जनआवाज दबाउन सजिलो भन्ठानेर नेतृत्व गणतन्त्र बचाउनु पर्छ भन्दै जनआवाज दमन गर्न लागेका छन् ।
बिगतमा विदेशीको सामल, शक्तिसमेत गुहारेर ०३६ र ०४६ सालमा कांग्रेस, कम्युनिष्टले दलमाथिको प्रतिवन्ध फुकुवा गर्न न्वारानमा खाएको घ्यूको बल निकालेकै हो । ०४६ सालमा त भारतीय नेताहरू डीपी त्रिपाठी, हरकिसन सिंह, डा.फारूकी, एमजे अकवर, सुब्रमण्यम स्वामीहरूको लस्कर गणेशमान सिंहको चाक्सीवासीमा आएर राजतन्त्रमात्र होइन, नेपालै सिध्याउने चर्को भाषण समेत गरेका थिए । ०६३ सालको परिवर्तनमा पनि भारतकै हात देखियो । यी कति स्वाभिमानी होलान् ? अहिले भारतले यिनलाई १२ बुँदे लक्ष्मण रेखामा बाँधेको छ । यिनीहरू भारतको इसारा बिना दायाँबायाँ गर्न सक्दैनन्, आत्मनिर्णय गर्ने अधिकार यिनले भारतलाई बन्दकी राखेका छन् । त्यसैले त सीमा मिचिदा, भूमि भारतले खाइदिदा पनि मुखमा दही जमाएर बसेका छन् ।
यो गणतन्त्र परिवर्तन लोकका लागि गाँडतन्त्र बन्यो । राजतन्त्र फाल्न र रगतका ल्याप्चे लगाउनेहरूले गर्न सकेनन्, उनीहरूले अर्काको टेको लिएर सम्पन्न गरे । यी परिवर्तनका लङ्गडाहरू पात्र थिएनन् भने संविधानसभामा आठ वर्ष देउसी खेल्दैनथे, संविधान जारी भएपछिका २ कार्यकाल यसरी लोकतन्त्रका नाममा लोक लुट्दैनथिए । यी नेताहरूमा राष्ट्रवाद नै छैन ।
नयाँ नेपाल बनाउने नाममा त्यति ठूलो नरसंहार मच्चाइयो, धर्म र व्यवस्था फेरियो । भोको पेट, नाङ्गो जीउ, सडकको बास उस्तै छ । रगत चढाएर लोकतन्त्र आयो, कहाँ आयो ? नेता र तिनका परिवारमा त आयो, भुइँमान्छेमा लोकतन्त्र गणतन्त्र कौवालाई बेल पाकेसरह हो । हेर्नमात्र काम लाग्ने ।
समयले भनिरहेको छ– लोकतन्त्र कौडी पिचासहरूलाई आयो । सत्ताका भूत बन्न रूचाउनेहरूलाई आयो । राजनीतिलाई व्यवसाय बनाउनेहरूलाई आयो । यी रछ्यान हुन्, यिनमा चोखो मन र जनताको बलमा उभिने इच्छाशक्ति छैन । विवेकहीन फोस्राहरू फुस्रा गफ हाँकिरहेका छन् । यही सब सहन गर्न नसकेर जनता सडकमा बिद्रोह बोल्न थालेका हुन् । जनबिद्रोहलाई सत्ता र शक्तिले कतिसमय दमन गर्न सक्ला र ?  जनताले बुझ्नुपर्छ गिर्वाणविक्रमको अधिकार बोकेर गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले बृटिश इण्डियाको स्वार्थमा जसरी विश्वासमाथि घात गरे, वर्तमान नेपालका नेताहरूले भारतको स्वार्थमा नेपाली हक, हित र अस्तित्वमाथि धोका दिइरहेका छन् । 
यसकारण सडकमा पोखिन थालेको जनविद्रोहको आवाज दावानल बनेर जाने देखिन्छ । यो बिद्रोहले के के परिवर्तन ल्याउने हो, समयले देखाउला । समयलाई कसले रोक्न सकेको छ र ?