Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

Image

नेताहरूको हाँसो, गणतन्त्र नाङ्गेझार भइसक्यो

राजन कार्की

१० बुधबार , बैशाख २०८२८ दिन अगाडि

नेताहरूको हाँसो, 
गणतन्त्र नाङ्गेझार भइसक्यो

कुनै पनि दलका नेता दुःखी छैनन् । कुनै सांसद दुःखी छैनन् । कारण उनीहरूले गणतन्त्रबाट आवश्यकताभन्दा बढी लाभ लिइरहेका छन्, पदको दुरूपयोग गरिरहेका छन् ।
एकजना राजालाई किनारा लगाएर राष्ट्रिय राजनीतिक मुद्दाको अन्त्य गर्न सकेनन्, जसका कारणले यिनले जारी गरेको संविधान नै असफल हुनपुग्यो ।
अब संविधान संशोधन गरेर अघि बढ्ने बहस चलाइएको छ । यो बहसको अन्तर्य भनेको भ्रम छर्नु हो । किनकि जिवन्त बन्न नसकेको संविधानको सुधार गरेर राष्ट्रिय मुद्दाहरू संवोधन हुनेछैन ।
पुरानो संविधानमा फर्कने कि, नयाँ संविधान लेख्ने कि, भएको संविधानमा के के कुरा संशोधन गरियो भने राष्ट्रिय राजनीतिक मुद्दाको किनारा लाग्नेछ र शान्ति र समृद्धिको सुरूआत हुनेछ ? यसतिर बहस चलेकै छैन ।
राजालाई ठेगान लगाउने प्रतिषोधको अभिव्यक्ति र अहंकारकै कारण गणतन्त्रको १७ वर्षपछि पनि देशमा उज्यालो आउन सकेन । फेरि पनि उही गल्ती गर्ने कि गल्ती सुधार्ने हो ?
बिगत १७ वर्षमा गणतन्त्रवादी नामधारी नवबास्साहरूले गणतन्त्रलाई नाली नै बनाइसके । नाली गनाउने नै भयो । श्री ३ भन्दा निरंकूश बनेका छन् गणतन्त्र महाराजहरू । राजा फाल्यौं भन्नेहरू नवबास्सा बनेका छन् । गणतन्त्रमा गण छैनन्, यी गणपति बनेका छन् । गण सडकमा छन् । लोकतन्त्रमा विधि छैन, विधिजति राज्यसत्ताको फर्मानमा छ । राज्यसञ्जाल यिनकै छ, मनलागीतन्त्र पनि यिनकै छ ।
नेपालमा लोकतन्त्र छ भनिरहेका छन्, कसैले पत्याउँदैनन् ।
नेपालमा संविधान, संसद, सरकार छ, जनप्रतिनिधि छन् भन्छन्, आमनागरिकले पत्याउँदैनन् । गणतान्त्रिक लोकतन्त्र स्थापना भएको १७ वर्षमा राजनीतिक, कानुनी अव्यवस्था उस्तै छ । सडकमा डाक्टर, शिक्षक, कर्मचारीदेखि आमनागरिक बिद्रोह गरिरहेका छन् । गणतान्त्रिक लोकतन्त्र कान थुनेर बसेको छ । कान थुनेर समस्या सल्टिदैन ।
लाटो, बहिरो, कानो छ गणतन्त्र । 
नीति, विधि र विवेक मरेपछि राष्ट्र मरेतुल्य हुनेरहेछ । राष्ट्र जिवन्त छैन । भ्रष्ट र अनैतिक नेता जिवन्त छौं भनेर चलमलाईरहेछन् । यथार्थमा कायरहरू यसैगरी जिउँदै मर्छन्, जसले जनविश्वास र आस्था गुमाएका हुन्छन् ।
प्रकृतिले किन जनावरलाई आवाजमात्र दियो, मान्छेमा नवरस, नवरङ्ग र नवस्वरका वाणीहरू विद्यमान छन् ? यत्ति कुरा राजनीतिमा लाग्ने कुनै पनि दलका, कुनै पनि विचारका र कुनै पनि तह र तप्काका अगुवाहरूले बुझेनन् । हामीमा असभ्यता मौलाउनु र मानवताको हत्या भइरहनुको जरो यही हो । त्यसैले त समस्या बहुला कुकुर भएर घर, समाज, देश र हाम्रो सभ्यतालाई लेखटिरहेछ, समस्यासँग जुध्ने जब्बर साहस हामीमा कहिले पनि आएन । समस्याले हामीलाई टोकिरहेछ र हामी रगताम्मे भएर भागिरहेका छौं ।
हामी अवला नागरिक, जुनसुकै तह र तप्काका हाम्रा प्रतिनिधि पात्रहरू हुन्, तिनीहरूले कहिल्यै न्यायको पक्षमा उभिएनन् । जति अन्याय, विभेद, निषेध, समाजविरोधी क्रियाकलाप बढेका छन्, तिनका मूलद्वारा तिनै प्रतिनिधि पात्रहरू हुन् । चाहे ती नागरिक समाज, न्यायदाता, शासक, प्रशासक हुन् अथवा नीति निर्माता । नागरिक समाज, बुद्धिजीवी र विचारक हुन् ।
यस्ताबाट हामीले सुशासनको अपेक्षा गर्ने ? गणतन्त्र भनेको बोको देखाएर कुकुरको मासु बेचेजस्तै देखियो ।
कुशासन र भ्रष्टाचार, यो टेन्सन, राष्ट्रिय रोग हो । महारोग ।
००७ साल अघि सम्म देशमा राणा शासन थियो, डा. महेन्द्रप्रसाद श्रीवास्तव डाक्टर भएर स्वदेश आए । श्री ३ पद्मशमशेरले थाहा पाए र उनलाई लिन ६ घोडे बग्गी पठाएका थिए । डाक्टर श्रीवास्तवले महाराजको जय होस् भनेर दर्शन गरेपछि पद्मशमशेरले नाडी तेस्र्याएर सोधेछन्— मलाई जाँच् त ? के भएछ हेर् हेर् ?
डाक्टरलाई फसाद प¥यो । उनले नाडी समातेर भनिदिए— सरकारलाई टेन्सन देखियो ।
श्री ३ महाराजले भोलिपल्ट डाक्टर सिद्धिमणि आदी र डा.महेन्द्रप्रसाद दुबैलाई दरवारमा हाजिर हुन फर्मान जारी गरे । दुबै डाक्टर आएपछि श्री ३ महाराजले सोधे— ए डाक्टर सिद्धिमणि, महेन्द्रे त मलाई टेन्सन छ भन्छ नि । तिमीले किन नभनेको ?
माफ बक्सियोस् महाराज, टेन्सन बढेको छैन, ठीक हुन्छ ।
ज्यान बाँच्यो, समस्या ट¥यो ।
आज सिंहदरवार र शीतल निवासका श्री ६ महाराज, महारानीलाई कसरी रजगज गरिरहने, कसरी आफ्नो गुट बलियो पार्ने, कसरी बढीभन्दा बढी प्रभावशाली बनेर सुख भोग्ने टेन्सन छ । यो टेन्सन (तनाव) ले राजनीतिलाई गल्लीको भट्टीजस्तो, अर्धपागल नगरवधुजस्तो बनाइरहेको छ । सत्य बताइदिने कुनै डाक्टर महेन्द्रप्रसाद श्रीवास्तवहरू छैनन् । विवेक सबैमा छ, आवाज सबैको छ तर कसैभित्रको वाणी बोल्दैन, चेतना कोही खोल्दैनन्, विवेक म¥यो । लोकतन्त्र तुहियो । गणतन्त्र कुहियो । राष्ट्र नुहियो ।
गणतन्त्रमा गण निराश छन् । लोकले लोकका लागि ल्याएको लोकतन्त्र नेता र प्रभावशालीहरूले खोरिया र मौजा बनाएपछि खेर गयो लोकतन्त्र । लोकतन्त्र अघि पनि शोक, पछि पनि शोक बन्यो । जनताले पशुको जस्तो चिल्ला र चर्का बोलीलाई मीठो मसिनो भनिदिनुपर्ने भयो । मान्छेको जस्तो वाणी सुन्न पाइदैन लोकतन्त्रमा । मान्छेको जस्तो शासन छैन पद्धतिमा । दुर्दिनले पिछा छाडेन । नेतातन्त्रले अत्यधिक शोषण र निरंकूशता बढायो ।
अयोग्य शासक प्रशासकको आसनबाट गरेको शासन कसरी फलिभूत हुनसक्छ ? लोकोक्ति छ— माफ बार बार गर तर विश्वास एकबार गर । जनताले आफ्ना नेताहरूलाई बार बार विश्वास पनि गरे, माफ पनि गरे । फलतः नेता पुलपुलिन पुगे । लोकतन्त्र— अघिपछि अन्त चैतमा जन्त भयो । होस हराएका नेताको शासनले राष्ट्रले पहिचान हराउँदैछ । राष्ट्र बिफल हुँदैछ । भ्रष्टाचारको एकोहोरो आवाज सुनिन्छ, लोकतन्त्रमा किन जयजयकारको लोक आवाज कतै सुनिदैन ।
नेता छन्, नेतामा हुनैपर्ने नीति—शिक्षा, नैतिक—शिक्षा, सैन्य—शिक्षा, व्यूह—शिक्षा, राजनीतिक—शिक्षा शून्य छ । अशिक्षितको नेतृत्वमा दुर्गन्ध छ, सुनौलो पद्धति दुर्गन्धित हुनपुग्यो । अपरम्पार महत्वको माटोमाथि नेताहरू गन्धे झारमात्र छन् । ऐंजेरूले राष्ट्रको अस्तित्व समाप्त पारिदिन लाग्यो ।
३ करोड जनसंख्या भएको नेपाल, ६२ लाख नागरिक रोजी रोटी, अवसरका लागि विदेशीएका छन् । २ करोड ३८ लाख जनसंख्याका लागि ७ सय ६१ सरकार छन् । तीन तहको संरचना छ र हजाऔं साना राजाहरू छन् । पहिले ७० जना विशिष्ट थिए, अहिले ४ हजार ८ सय ६० पुगेछन् । यो लोकतन्त्र हो कि जोकतन्त्र ?
रमिता बन्यो गणतन्त्र नेपाल । जता पनि लाखेनाच ।
नेपाली युवाहरू अधिकांश मजदुर, यौनशोषणमा पार्न निर्यात गर्ने र तिनको शवलाई स्वागत गर्ने मुलुक भयो । पहिले बम्बैमा बेचिन्थे, अहिले कंगोसम्म बेश्यावृत्ति गर्न पु¥याइएका छन् । नारीहरू शरीरका छालाका लागि समेत तस्करी भइरहेका छन् । मानौं, नेपाल दासको मुलुक हो । संविधान भन्ने कागजको खोस्टो भइसक्यो । म्यारिज खेलको मालजस्तो जसले जसरी पनि अथ्र्याए हुने । यस्तो संविधानले सुखी, समृद्ध नेपाल बनाउने ? विधिको शासन दिने, आठौं आश्चर्य हो यो, जुन कहिल्यै पूरा हुन्न । नेपालको गौरव धुलिसात हुनपुग्यो ।
इम्परर न्यूक्लोथको बादशाहजस्तो, राजनीति जत्ति नाङ्गिए हुन्छ, जसले जसलाई जत्ति नङ्ग्याए हुन्छ । न राजकाजमा नीति छ, न राजनीतिमा नैतिकता ? संविधान किराले कोपरेको दस्तावेज बन्यो ।
लोकतन्त्र लोकमत, लोकइच्छा, लोकअपेक्षा, लोकसुझाव, लोकबल र लोकाचारको लक्ष्मणरेखालाई सबैले मान्नुपर्ने पद्धति हो । भ्रष्टाचारी टाउको उठाएर हिड्छ, दुराचारी आफै पुरिनेगरी माला लगाएर घुम्छ, मान्छेदेखि माटोसम्मका बलात्कारीहरूको मान सम्मान हुन्छ, जयजयकार गर्ने हामी नै हौं, हामी दास नभए के हौं ? वीरको मुलुक नेपालीत्व किन यसरी समाप्त हुँदै गयो, कतै चिन्ता छैन, चासो छैन ।
सिद्धान्तहीन, निष्ठाहीन नेताहरू भन्छन्— लोकतन्त्र ल्यायौं, लोकतन्त्र आयो ।
कहाँ छ लोकतन्त्र ? कहाँ छन् लोक ? भाषण गर्नेलाई लोकको हित के हो, लोकका लागि गर्नुपर्ने दायित्व के हो ? अत्तोपत्तो छैन । देखिन्छ, नेतृत्वको स्वार्थमात्र देखिन्छ । जिम्मेवारी कतै देखिदैन ।
सर्वहारावाद, समाजवादको सपना देख्नेहरू, सोम शर्मा बनिरहेका छन् । जो संसदलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्थे, आफूलाई प्रजातन्त्रको बिडा उठाउने पार्टी मान्थे, ती सबै बोकाको टाउको देखाएर कुकुर बेचिरहेका छन् ।
यिनलाई जनता मूर्ख भन्ने लागेको होला । आजका जनतालाई सधैं झुक्याउन सकिदैन । जति झुक्याउने झुक्याइसके ।
दैनिक ५० लाखको गुँदपाक र पुष्टकारी विक्रीहुने न्यूरोड गेटको श्रीकृष्ण गुदपाक भण्डारभन्दा पवित्र के थियो होला तर अनुसन्धान गर्दा दिशा, पिसाव र खकारसमेत मिसाइएको भेटियो । देशको निधारमा लोकतन्त्रको चहकिलो साइनबोर्ड त झुण्डिएको छ, यही साइनबोर्ड मुनी आपराधिक व्यवसाय फोहरको मूला फस्टाएझैं फस्टाइरहेको छ । हामी बिद्रोह गर्न सक्दैनौं । करियाले झैं टुलुटुलु हेरिरहेछौं । जतिसुकै दुखोस्, सहिरहेछौं । छैन हामीमा नागरिक हैसियत ? नागरिक त बोल्छ, हामी वाणी भएका नागरिक बन्न सकेनौं । नागरिक जाग्नैपर्छ ।
केही नागरिकले सडकमा असन्तुष्टि पोखे, नेतृत्वले टियरग्यास नै दाग्यो । गोली ठोक्यो । जसलाई पनि पक्रने र थुन्ने, मुद्दामा फसाएर जनता तर्साउने काम राज्यको बहादुर बन्न पुगेको छ ।
राज्यले बुझ्नैपर्छ, लोकको मुख थुनेर लोकतन्त्र देखिदैन । राज्य जिम्मेवार भएको भए आज सडकभरि लोक असन्तुष्टि पोखिरहेका छन् । भोलि भोलि आमनागरिक नै सडकमा उत्रिए भने राज्यले थाम्न सक्ला ?
परिवर्तनपछिका १७ वर्ष हेरेरै बिते । सहेरै बिते । जङ्गलीतन्त्र फस्टाइरह्यो । राजदरवार शितल निवास र सिंहदरवारमा स¥यो, सिंहदरवार र शितल निवास दिल्ली पुगेको छ । देशको शासक नेपालीले छान्नसक्ने स्वतन्त्र हैसियत समाप्त भइसक्यो ।
जनताका लागि लोकतन्त्ररूपी कालो पोते नपाउनेलाई तिलहरिको धोको मात्र हो । संवैधानिक शासन भनेर झ्याली पिट्नेहरू पिटिरहेका छन्, इन्टरनेशनल क्राइसिस ग्रुपले ब्रसेल्सबाट नेपालमाथि नै प्रश्नचिन्ह लागेको रिपोर्ट सार्वजनिक गरेको पढ्दैनन्, वल्र्ड बैंक र एडीबीको कहालीलाग्दा अर्थव्यवस्था र जनजीवनबारेको तथ्य पनि पढ्दैनन्, वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीमाथि दासजस्तो व्यवहार गरिन्छ भन्ने विभिन्न निकायको रिपोर्ट पनि पढ्दैनन् । लोक सरकारको दृष्टिमा लोक भए न पढ्ने हो, सत्ता र सम्पत्ति माथि मात्र नजर गाड्नेहरूलाई नागरिक जतासुकै मरून्, के मतलव ?
यसकारण त अन्तर्राष्ट्रिय विश्वास समाप्त भएको ग्रेलिष्टमा नेपाल परिसक्यो, गणतान्त्रिक लोकतन्त्र भन्नेहरूलाई कतै बिझेको छैन ।
बुझ्नेका लागि समुद्र शान्त हुन्जेल, रमाइलो लाग्छ । जब समुद्र उर्लिन्छ, सुनामी चल्छ र बितण्डा मच्चाउँछ । जनसमुद्र २०६३ सालमा उर्लेको थियो, उराल्नेको ठूलो लगानीले शान्त पा¥यो र आफ्नै लागि सिंचाइ गरेर फसल फलाउँदैछन् । भोका नेपालीका लागि लोकतन्त्र कौवालाई बेल पाकेभन्दा भिन्न रहेन । यिनै लोक फेरि सडकमा निस्कन थालेका छन् । आमनागरिकको समुद्र उर्लियो भने के होला ?
नेतातन्त्रको अहंकार अति भयो । राजनीति गर्ने र राजकाज चलाउनेहरूले नाकलाई फोहरको गन्दे नालीमा धेरै जोते । गणतन्त्रमा टुकुचा गनाउन थाल्यो । हैजा संक्रमित फोहरी नाक बोकेर नेपाल कतिदिन विश्व समुदायमा सभ्य भएर उभिन सक्छ ? यस्तो निर्लज्जता, अमानवीय, असभ्य आतङ्क अब रोकिनुपर्छ । किन ०१७ साल आयो, सबैले बुझ्नुपर्छ, पढ्नुपर्छ । महादेवले पागलजस्तो भएर सतीदेवीको शव बोकेर हिँडेजसरी संविधानको शब बोकेर बोकेर कतिदिन हिडिरहने ? संविधानको शबको गन्दकीले सिङ्गो नेपाल दुर्गन्धित भइरहेको छ । नेताहरू दुर्गन्धलाई गणतन्त्रको सुगन्ध भनिरहेका छन् । जुन कुरा गणले पत्याउन छाडेका छन् ।
समय अर्को परिवर्तनको संघारमा पुग्यो । जनताले अर्को परिवर्तन खोजे । डाक्टर सडकमा, शिक्षक, प्राध्यापक सडकमा छन् । बैंक, लघुवित्त, मिटरब्याज पीडित, बलात्कारपीडित सडकमा छन् । कर्मचारी सडकमा छन् । हरेक बर्ग असन्तुष्टि पोखिरहेका छन् । नेताहरूको आलोचना गरेर नेतृत्वको हाँसो उडाइरहेका छन् । गणतन्त्र नाङ्गेझार भइसक्यो, नाङ्गेझार ।