Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

Image

कांग्रेसका कारण छिप्पेको बोकोभन्दा गनायो गणतन्त्र

राजन कार्की

०३ मंगलबार , असार २०८२२१ दिन अगाडि

कांग्रेसका कारण छिप्पेको बोकोभन्दा गनायो गणतन्त्र

कति बेच्ने बोकोभन्दै कुकुरको मासु ? संसद भनेको बोको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्नेहरुले बन्दुक पड्काए, शक्ति बन्दुकको नालबाट निस्कियो । त्यो शक्तिको यति धेरै दुरुपयोग भयो कि शक्तिकै बलमा १८ वर्षदेखि बेच्न थालिएको कुकुर आज पनि बेचिदैछ । जनताको आँखामा छारो हाल्दै बोको बोको भन्दै कुकुर बेच्ने निरन्तरता जारी छ ।
छिप्पेको बोकोभन्दा पनि गनायो गणतान्त्रिक संसद ।
वीपी थिए र प्रजातान्त्रिक नीति र सिद्धान्त पनि थियो । २०३९ साउन ६ गते वीपी कोइरालाको निधन भएपछि कांग्रेसमा नीति र वैचारिक धरातलमा पहिरो जान थालेको हो । आज नेपाली कांग्रेस खोज्न कहिले माओवादीको पेरिसडाँडातिर हेर्नुपर्छ, अहिले पाटनको च्यासलतिर । नीति, सिद्धान्त, नैतिकतामा कांग्रेस खोजेर पाइदैन । कांग्रेस कमजोर हुँदा, जनताको आँखामा बिझाउँदा, कांग्रेसले लत्तो छाड्दा कम्युनिष्ट भुइँमा न भाँडामा भएका छन् ।
कांग्रेस कमजोर हुँद, कांग्रेस कम्युनिष्टको पछि पछि लाग्दा छिप्पेको बोकोभन्दा पनि गनायो गणतान्त्रिक संसद ।
८० वर्षे कांग्रेस, ८० वर्षे शेरबहादुर देउवाले हाँकेका छन् । उनी भन्दै थिए– मेरो उमेर पनि गयो । रिटायरमेन्टको बेला भइसक्यो । मुखले जे बोले पनि देउवा सकृय छन्, नेपाली कांग्रेसका शीर्ष नेता हुन् । नेता शीर्ष भएर के गर्नु, वीपीले प्रतिपादन गरेको राष्ट्रवाद र राजतन्त्रवादमा उभिन नसक्दा कम्युनिष्टलाई लाभ भएको छ । व्यक्तिगत इवि साध्दा पार्टीगत क्षति भइरहेको छ । ५ पल्ट प्रधानमन्त्री भइसकेका देउवा गणतन्त्रको १८ वर्षपछि अर्थात् २०८२ मा आइपुग्दा कांग्रेस ठूलो पार्टी त छ तर काँधमा भ्रष्टाचार र भ्रष्ट अवसरवादी कम्युनिष्टलाई बोकेर समाजवादको कुन लक्ष्यतिर लागेको छ, कुहिरोमा फसेको कागजस्तो लाग्छ ।
कांग्रेसको भविष्य अन्धकार छ भन्छन्, कांग्रेसकै विश्लेषकहरु ।
कांग्रेस नेपालको पहिलो र ठूलो समाजवादी–लोकतान्त्रिक पार्टी हो । छ । २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरण भएपछि यो झन ठूलो पार्टी बनेको थियो । कांग्रेस भन्छ– कृयाशील सदस्य १० लाख छन् । विवेकमा छन् त ? कहाँ छन् कांग्रेस पार्टी, नीति, सिद्धान्त र कस्तो छ कांग्रेसको छवि ? जता पनि राजनीतिकरण, जता पनि अनैतिकता, पार्टीहरुमा नीति, सिद्धान्त, देश र जनताप्रति जवाफेहीता नहुँदा कांग्रेसमात्र होइन, कम्युनिष्टसमेत जनताको विश्वासमा घात गर्ने पार्टी हुन् भन्ने स्थिति छ ।
कांग्रेस जनताको विश्वासमा जिवन्त छैन । किन छैन, कांग्रेसभित्र आत्ममिमांसा नै हुँदैन । भएको छैन । कांग्रेसले भ्रष्टाचार अँगाल्दा र सिद्धान्तमा अड्न नसक्दा कम्युनिष्टहरुको शोषण र बाहुबलीतन्त्र बढेर गएको छ । हामी गरीब छौं, गरीव राख्नकै लागि उद्योग बेच्ने, उद्यम नखोल्ने, रोजगारीमा पार्टीकरण गर्ने र युवा विदेशलाई बेच्ने नीति राष्ट्रिय नीति बन्नपुगेको छ । यो दुर्भाग्य हो परिवर्तनको । कांग्रेसको प्रजातान्त्रिक भविष्यको ।
१० वर्षे जनयुद्धमा वामपन्थीले गरीबहरुलाई बन्दुक बोकाए, ०६२–६३ सालको जनआन्दोलनमा पनि वामपन्थी नै हावी भए । राजतन्त्रको अन्त्य, हिन्दुधर्मको बिनास, लोकतन्त्रको नाममा लूटतन्त्र चलाउन कम्युनिष्टहरु अग्रपङ्तिमा देखिए । बहुदलपछिको ३७ वर्ष र लोकतन्त्रको १८ वर्ष कम्युनिष्टकै रजगज गर्ने समय देखिन्छ । यो समयमा कम्युनिष्टले आफूले आफैलाई नवसामन्तवादको बादशाह बनाए । कम्युनिष्टभन्दा के कम भनेर कांग्रेसले पनि गर्नुसम्मको भ्रष्टाचार गरेका छन् । जब विवेकशून्य हुन्छन्, बादशाहहरु नाङ्गिएको पनि चाल पाउँदैनन् । यसकारण देशमा लखनौं लूट चलिरहेको छ । विधिको शासन मरिरहेको छ ।
विधिमा कांग्रेस अड्ने हो भने, वीपीको सिद्धान्तमा कांग्रेस अघि बढ्ने हो भने, संसद संसदजस्तो हुन्छ । बोको देखाएर कुकुरको मासु बेच्ने व्यापार बन्द हुनसक्छ । संसद छिप्पेको बोको गनाएजस्तो गनाउने छैन ।
संसद संसदजस्तो, लोकतन्त्र लोकतन्त्रजस्तो, नेता नेताजस्तो हुनेछ । यसका लागि कांग्रेसभित्र शुद्धीकरण हुनुपर्छ । कांग्रेस वीपीको नीतिमा फर्कनुपर्छ । द्वेष, रिस, इवि, प्रतिषोधबाट मुक्त हुनुपर्छ । संवाद, सहमति र सहकार्यमा कांग्रेस फर्कने हो भने कांग्रेसले कम्युनिष्टले निभाएको प्रजातन्त्रको दियो बाल्न सक्छ ।
संसदलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो बनाइराख्ने कि वीपीको सपना पूरा गर्न अग्रसर हुने, कांग्रेसले निर्णय गर्न अबेर गर्नुहुन्न ।
कांग्रेस पार्टीभित्र विवेक छ भन्ने देखिएला ?