Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

देश त ठूला नेताहरूको खुवा बिर्ताजस्तो पो भयो

१० मंगलबार , असार २०८२७ दिन अगाडि

देश त ठूला नेताहरूको खुवा बिर्ताजस्तो पो भयो

नेपालबाट २४० वर्ष पुरानो बैध राजतन्त्र गयो । त्यो कुन कानुनले गयो र कुन कानुनले रोक्न सक्छ ? २०४७ सालको बैध संविधान गयो । अन्तरिम संविधान आयो । कुन कानुनले गयो र कुन कानुनले रोक्न सक्यो ? देशबाट राजा गए । राष्ट्रपति आए । कुन कानुनले गए । कुन कानुनले आए ? कुन कानुनले रोक्न सक्यो ? त्यसरी नै करोडौंको संख्यामा विदेशीलाई नागरिकतामात्र होइन दोहोरो नागरिकतासमेत दिइयो । कुन कानुन अन्तर्गत दिइयो । कुन कानुनले रोक्यो ? आधिकारिक सीमा र नक्सा ध्वस्त भए । कीर्ते सीमा र नक्सा तैयार भए । कुन कानुन अन्तर्गत भए र कुन कानुन अन्तर्गत गए । कुन कानुनले रोक्यो ? त्यस्तै जलश्रोतमा । विद्युतमा र राष्ट्रका सर्वाङ्गमा किन रोक्न सकेन कुनै कानुनले पनि ? आवधिक समय तोकेर जनताले गठन गरेका संस्थाहरू पनि जनादेश विपरित स्थायी खुवा बिर्ताको रूपमा परिणत हुँदैछन् । खोई कुन कानुनले रोक्यो त त्यसलाई पनि ?
जब कुनै देशमा राष्ट्रिय शक्तिको पतन हुन्छ । शासन प्रशासनमा उसको नियन्त्रण सकिन्छ । विदेशी शक्तिको हस्तक्षेप बढ्छ । जकड मजबुत हुन्छ अनि त्यहाँ उसले भयको राज्य । रेन अफ टेरर खडा गरिदिन्छ र त्यसको शक्ति नै कानुन भएर लागू हुन्छ । अहिले नेपालमा बाहुबलीतन्त्र भएको पनि यही हो ।
राष्ट्रवादको पतन रणनीतिक ढंगबाट गरिन्छ र जातिवादलाई अत्यधिक रूपमा उछालेर देशलाई अविरल रूपमा अन्तरसंघर्षद्वारा गृहयुद्धको दलदलमा फसाइन्छ । देशमा वर्ग समन्वय र सामाजिक सद्भावना बिथोलेर बर्ग संघर्ष र जातीय संघर्षलाई उतारिन्छ र अर्थतन्त्र चौपट गराइन्छ । जातीयताका आधारमा प्रान्त बिभाजन र आत्मनिर्णयको अधिकारलाई अग्र प्राथमिकतामा पारेर भविष्यमा आफ्नो दुराशय पूरा गर्ने लक्ष्य तय गरिन्छ । कानुन र संविधानको व्याख्यामा भयात्मक अवरोध खडा गरिन्छ र जुनसुकै कानुनी उपचारको उपाय आवश्यकताको सिद्धान्तमा लगेर टुङ्ग्याइ दिएको हुन्छ । त्यसरी नै अवैध असमान तथा करकापका सन्धिहरूलाई प्रयोगमा ल्याइन्छ र न्यायिक सन्धिहरू दुर्लभ गराइन्छ । उपरोक्त सबै कृत्यहरूलाई कुन कानुनले रोक्न सक्यो ? र शरद सिंह भण्डारीजस्ता नेता १० पल्ट मन्त्री बने, देउवा ५ पल्ट, प्रचण्ड ३ पल्ट, ओली ३ पल्ट प्रधानमन्त्री भए, खोई के भयो ? देशका हरेक नेता भ्रष्टाचारमा, नैतिकतामा बदनाम छन्, कहाँ छ विधिको शासन ?
इमान्दार देशभक्तहरूको भलो नहोस् भन्ने जोर सतीको श्राप खेपिरहेका नेपाली जनताले अव आएर साना साना भुरेटाकुरे, बाइसेचौविसे, गाउँगाउँ, सहरिया राज्यहरूलाई ठूलो परिश्रमका साथ एकिकरण गरी चार जात छत्तीस वर्णको साझा फूलवारी घोषणा गरी सबै नेपालीहरूको सौर्य, चातुर्य र देशभक्तिमा पूर्ण आस्थावान भई भविष्यका लागि मार्गदर्शन सहित साझा जिम्मेवारीमा छाडी श्री ५ पृथ्वीनारायण स्वर्गाारोहण भएको कुरा विश्वव्यापी नै छ । पृथ्वीनारायण शाहका उक्त सदाशयतालाई धेरै वर्षसम्म वीर नेपालीहरूले शिरोधार्य गरिरहे । बैरीका बर्कत र मायावी खेलका अगाडि टिक्न गाह्रै थियो ता पनि राजा महेन्द्र, वीरेन्द्र, वीपी कोइराला, मदन भण्डारीका शेषभरि नेपाल बचाउने आन्दोलन सशक्तरूपमा चलिनै रह्यो । अहिले ज्ञानेन्द्रले पृथ्वीपथ भन्दा भ्रष्टहरूको टाउको दुखेको छ ।
उत्तरमा चीन, दक्षिणमा भारतजस्ता शक्तिशाली मुलुकको वीचमा अवस्थित सानो देश नेपालको ठूलो प्राकृतिक श्रोत र बैभव खोस्नपर्ने दबाबलाई बुझेर दुई ढुंगाको तरूलको संज्ञा दिएर नाजुक अवस्थाको सधैंका लागि चेत खोलिदिएर सकारात्मक तटस्थता अर्थात पोजिटिभ न्यूट्रालिटीको स्थायी परराष्ट्रनीतिको जग हालिदिएर श्री ५ पृथ्वी स्वर्गे भएको आज यतिका वर्षपछि यी आजका पार्टी र नेताहरू एकतर्फी अवसरवाद र दक्षिणतर्फ समर्पित भएर नेपालको सन्तुलनमात्र बिगारेका छैनन् कि अस्तित्वलाई पनि खतरामा पु¥याए ।
पृथ्वीनारायण शाहका पालाका चार जात, छत्तीस वर्णमा ब्राम्हण, क्षेत्री, नेवार, शेर्पा, तामाङ, मगर, गुरूङ, राई, लिम्बु, थारू, राजवंशी, मैथिली, भोजपुरी, अवधि, सन्यासी, कामी, दमाई, सार्की, सुनार, चमार, मेहतर आदि इत्यादि सबै तराई, पहाड, हिमालवासीहरूको एउटै साझा फूलवारी कायम गरी अनेकतामा एकताबद्ध गराई एकजात नेपाली खडा गरेर राष्ट्रियताको जग मजबुत गराएर श्री ५ पृथ्वी स्वर्गे भएको यतिका वर्षपछि यी दलहरू विदेशीका छलमा फसेर अनेकौं जातिवादी मोर्चा कसेर गृहयुद्धमा देशलाई फसाउँदैछन् । कैले नदेखेका करोडौं विदेशी मधेसे, नेपालमै नभएका मंगोलियन संगठन, नयाँ तिवेतियन नेपाली समेतका विविध संग्रामशील जातिवादी अखडा खोलेर नेपाललाई अफगानिस्तान सरह निरन्तर गृहयुद्धमा फसाउने यी नेताहरूले अवस्य अर्को श्राप पनि भेट्नेछन् । नेपाली स्वजातिलाई मेटाएर विदेशी कूजाति, बार्बेरियनलाई बढाउने, बार्बेरियन बन्ने यी नेताहरूको अल्पदृष्टि आलोच्य छ ।
परिवर्तनको १८ वर्षमा देश भ्रष्टाचारका काण्डैकाण्डले दुर्गन्धित भइसक्यो । अमेरिकाले फ्रडमात्र भनेन, मानव तस्कर र दण्डहीन मुलुक भनिसक्यो । नेपाल विश्वदृष्टिमा ग्रे लिष्टमा परिसक्यो । नेपालको विश्वसनीयता घट्दो छ । ब्ल्याकलिष्टमा परिहाल्यो भने नेपाल र नेपालीको कुन बिजोग होला ?
यी सबै कलंक बिर्सेर नेताहरू गणतन्त्रमा रामराज्य छ झैं प्रचार गरिरहेका छन् । नेपाल युवा निकासी गर्ने कारखाना बनिसक्यो । उद्योगधन्दा सबै बन्द भएका छन् । दैलेखमा पर्याप्त ग्यास फेला प¥यो, चिनियाँ कम्पनीले पत्ता लगाएको भनेर दक्षिणाको टाउको दुखेको छ र त्यसलाई रोक्ने साजिस सुरू भइसक्यो । राजनीतिक बिबाद चर्कदो छ, संसदमा झगडा छ, सत्तामा भ्रष्टाचार र अनियमिततामात्र छ । भएका ७६१ सरकार भ्रष्टाचारले बदनाम छन् । प्रश्न यत्ति छ, यहाँ एकछत्र भारतीय विस्तारवाद, पश्चिमा पूर्जावादको रामराज्य कायम भएको छ । नेपालको अस्तित्व संकटमा छ, यहीको लोकतान्त्रिक गणतन्त्रले दिएको उपहार ।