
राजनीतिक चरित्रमा अपराध मिसियो भने के हुन्छ ? जसरी महमा विष मिसियो भने विषालु हुन्छ, त्यस्तै हुन्छ राजनीति, अनि अपराध नीति बन्छ । लोकतन्त्र चलाउने राजनीतिक दिमागमा अपराध मिसिन पुगेको छ । यसकारण बहुदलको ३५ वर्ष र लोकतन्त्रको १८ वर्षमा राजनीति अपराध मिसिएको अपराधनीति बन्यो । विषालु भएका कारण राजनीतिले देश र जनताको हक मार्दै गएको छ ।
राजनीतिमा उतार चढाव आउँछ । गल्ती कमजोरी पनि हुन्छ । सुधार गर्न सकिन्छ । सुधार गर्न स्वच्छ सोच चाहिन्छ । इतिहासमा अनेक घटनाक्रम छन्, शिक्षा लिन सकिन्छ । जब अपराधलाई सर्वोच्च ठान्ने प्रवृत्तिको विकास हुन्छ, राजनीति अपराध नै बन्छ ।
३ सेप्टेम्बर १६५८ मा मरेका बेलायती गणतन्त्रवादी शासक ओलिभर क्रमवेलको चिहान खनेर उसको टाउको लण्डनको वीचबजारमा झुण्ड्याइयो । निरकूशताको प्रमाणका रूपमा मरेको बाघको जुँगा उखेरलेको त्यो घटना तत्कालीन सभ्यताको सुरूआत मानियो । नेपालमा हिन्दुवाद र राजतन्त्रलाई राजनीतिक आवेगको किलामा ज्यूँदै झुण्ड्याएर धर्मनिरपेक्षता र गणतन्त्र लाइयो । हिन्दुवाद र राजतन्त्र यिनले लेखेको संविधानमा शव होला तर अहिले पनि बाँचेकै छ । संविधान शब बनेर गनाउँदा धर्मनिरपेक्षता र गणतन्त्रको साँप्रा लुछ्ने र जुकाले जसरी रगत चुस्नेहरू बास्ना आइरहेछ भनेर आँखा चिम्लिरहेका छन् ।
नेपालको इतिहास साक्षी छ— जननिर्वाचित सदस्य थिए रामराजाप्रसाद सिंह । बिखण्डनको कुरा गर्दा संसदमै उनलाई चड्कन हान्ने निस्किए । २०६५ सालमा गणतन्त्र कार्यान्वयन भएपछि पहिले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति मान्छु भन्ने प्रचण्डले मुख मोडे, आफै राष्ट्रपति बन्न चाहेको पोष्टर वाइसीएलमार्फत त्रिपुरेश्वरको मोडमा टाङ्न लगाए । गिरिजाप्रसाद र नेपाली कांग्रेसीको त्यतिबेला अनुहार हेर्न लायक थियो । सम्झना गर्दा हुन्छ । सिद्धान्तहीनताको त्यो पाप र पीपको पोखरी झै सुकेको छैन । राजनीतिमा आलै देखिन्छ ।
२०६५ जेठ १५ गते अवैध तरिकाले गणतन्त्र कार्यान्वयन गरेर किनारा लगाएका राजाले मेची महाकाली, राजधानीबाट पटक पटक सहमति, सहकार्य, संवादको आह्वान गरे, नेताहरूले टेरेनन् । राजाले जनता अब जाग्नुपर्छ, जनताले खोजे म यही छु पनि भने । जनता जागेका पनि हुन् । तर अपराधिक सोच भएका गणतन्त्रवादीले जनताको जागरणमा अपराध मिसाइदिए । जनताको ज्यान पनि गयो । न्यायिक छानबिन गरौं भन्दा जालझेलमा नेता रमाइरहे । लोकतन्त्रे नेताहरू लज्जाहीन बनेर हेरिरहे ।
२०६३ साल वैशाख ११ गते राजा र सात दलवीच कुनै प्रकारको राजतन्त्र मान्य हुने सहमति तोडेपछि कांग्रेसले हौसिएर आतंककारीको जुत्तामा खुट्टा हालेका थिए । हो, महेन्द्रको जुत्ता लगाएर माइलाछोरा ज्ञानेन्द्र सफल हुन सकेनन् । प्रचण्डको जुत्ता लगाएर गिरिजाप्रसाद तीन बल्ड्याङ् खाए । कांग्रेसजस्तो प्रजातन्त्रवादीले सर्वहारावादीको र मदन भण्डारी मान्ने पार्टीले सिद्धान्तलाई रेट्दा ऊ पनि सफल हुनसकेनन् । सफल व्यक्तिको जुत्ता लगाउँदैमा जुत्ता लगाउने अग्लो हुने होइन रहेछ । डा.रामवरण यादव कसरी राष्ट्रपति बने, विद्या भण्डारी कसरी सडकबाट शितल निवास पुगिन्, रामराजाप्रसाद सिंहलाई बोकेर हार खाएका प्रचण्डले कांग्रेसलाई मत हालेर रामचन्द्रलाई राष्ट्रपति बनाउनु परेको कथा हेर्ने हो भने नेपालको राजनीति र स्वस्थानीको लावण्य देश उस्तै उस्तै लाग्छ । प्रचण्ड सत्ताबाट फ्याँकिए, ओली प्रधानमन्त्री बने । यी दुबै वामपन्थलाई कांग्रेसले बोकेको हो । कांग्रेसको प्रजातान्त्रिक निष्ठा र सिद्धान्त धुलोपिठो, माटो बनिसक्यो । ८ वर्षमा जारी हुन नसकेको संविधान फास्ट ट्याकबाट ०७२ मा जारी गरियो र ०७४, ७९ मा आवधिक चुनाव भयो । यी दुबै चुनावमा कसैको बहुमत आएन, तानातानमै चल्यो, चलिरहेको छ । ०७९ को निर्वाचनमा एमाले पछाडि प¥यो, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी केही आशलाग्दा अनुहारसहित उदाएका हुन् । तर राजनीति उही हानाहाना, तानातान र सेटिङमा छ । यतिबेला सत्तामा भेटिने एमाले कांग्रेस र संसदमा देखिने माओवादी र साना दलहरू एकदोस्रालाई खुइल्याउन अग्रसर छन् । यस्तै छ नयाँ नेपाल थाङ्ने हाल ।
जनतामा आक्रोस बढ्दैजाँदा पहिले झलनाथ खनालले झापड खाएका थिए, पछि प्रचण्डले झापड र जुत्ता खाए । ओलीमाथि पनि जुत्ता प्रहार भइसकेको हो । अरू अग्ला भनिएका नेताहरू गाली खाइरहेका छन्, होच्चिएर बाउन्ने हुँदैछन् । जनताको सम्मान आर्जन गर्ने नेता एकजना पनि छैनन् । लोकतन्त्र गाईजात्रा बन्यो । इन्द्रजात्राको लाखेनाच र लोकतन्त्रका नेताहरूको चाला उस्तै छ । सांसदलाई सडकमै गोली हानेको घटना पनि नेपालमै भएको हो । हरेक नेता निरंकूशमात्र होइन, भ्रष्टाचारी पनि हुन् । नेताको इज्जत चोर आयो भन्ने स्तरमा झरिसकेको छ । संविधानलाई राजनीतिकरण गरेर कानुनव्यवस्थालाई अपराधिकरण गर्ने मूल नाइके बन्ने नेतृत्वको होडबाजीले यो अवस्था ल्याएको हो । यसकारण यो लोकतन्त्र होइन, पार्टीले हल्ला गर्ने हरेक प्रकारका बादको अन्तर्य हो ।
हिजो भुइँमान्छे प्रताडित भए, आज पनि भुइँमान्छे प्रताडित छन् । कहाँ आयो लोकतन्त्र ? भुइँमान्छेभित्रको आक्रोश आगो हो भन्ने कुरा इतिहासले पनि प्रमाणित गरेको छ । डढेलो लागेपछि सत्ता छेक्न सक्दैन । नेतृत्व सजग भए श्रीलंकामा जस्तो जनताले थुतेर दण्ड दिनुपर्ने छैन । हेक्का रहोस् ।
३५औं अमेरिकी राष्ट्रपति केनेडीलाई १९६३ मा गोली हानेर सिध्याइयो । बंगलादेशमा शेख मुजिवर रहमानलाई ढाकामै १९७५ मा गोली हानेर मारिएको हो । आइरन लेडी भनिने इन्दिरा गान्धीलाई सत्तामा भएकै अवस्थामा १९८४ अक्टोबर ३१ को दिन, आफ्नै सुरक्षागार्ड सतवन्त र बेअन्त सिंहले हत्या गरिदिए । अघिल्लो दिन भुवनेश्वरमा उनले भाषण गरेकी थिइन्— आज म यहाँ छु, भोलि नहुन सक्छु । नभन्दै भोलिपल्टै उनको हत्या गरियो । एउटै खालिस्तान मुभमेन्ट उनको हत्याको मूलकारण बन्यो । यसपछि पालो आयो इन्दिरा पुत्र राजीव गान्धीको । १९९१ मे २१ का दिन, तमिलनाडुमा तमिल लिवरेशन टाइगरले धनुमार्फत आरडीएक्स सहितको आत्मघाती बम बिस्फोट गराएर राजीव गान्धीको हत्या गरिएको हो । कर्ण हेजुलाई छाताको डाठले घोची घोची मारिएको घटना भक्तपुरेले बिर्सेका छैनन् । हत्याको श्रृंखलामा मिर्जा दिलसाद बेग, जमिम शाह, फैजान अहमद, ज्ञानेन्द्र खड्का, कृष्ण सेन, सार्द‘ल मियाँ, नारायण पोखरेल, उमा सिंह, मैना सुनार, डेकेन्द्र थापाहरू पनि परे । पादरी ग्याफ्नी र जापानी भिक्षुको प्रकरण किन लुकाइयो ? १९९७ सालका हत्याराहरूबारे किन कोही बोल्दैनन् ? दरवार हत्याकाण्डमा वास्तविक दोषी किटान गर्न कसले रोक्यो ? दृष्टान्त अनेक छन्, किन आजका लोकतन्त्रबादी हुँ भन्ने लुटाह नेताहरू इतिहासबाट शिक्षा लिदैनन् ।
हुन त लोकतन्त्र, गणतन्त्रका नेताहरू लोक, गणका सामु उभिनै सक्दैनन् । यिनको हालत राज्यको सुरक्षा निकायले बचाइदिनुपरेको छ । जनताका सामु एक्लै पुगेका दिन जनताले यी नेताको छाला काढ्ने अवस्था जनाक्रोसमा देखिन्छ ।
समाजवादी हुँ भन्ने कांग्रेसले समाजवादलाई सम्भ्रान्तवादमा बदलिसकेको छ । जसरी पनि कमाउने कांग्रेसको समाजवाद हो । सर्वहारावाद, बहुदलीय जनवाद भन्नेहरूले किन खोजेनन्– १९९३ मे १६ का दिन विचारका प्रवर्तक मदन भण्डारी र जीवराज आश्रितलाई दासढुंगाबाट नारायणीमा कसले, किन खसाल्यो ? मदन भण्डारीकी श्रीमती ८ वर्ष राष्ट्रपति बनिन्, उनले समेत यसमा चासो देखाइनन् । के नेपाल अपराधको चिहान हो, चिहान खोस्रने कोही छैनन् ? र, २०६४ सालमा हिन्दु धर्म र २०६५ सालमा राजतन्त्रको बलिदान किन गरियो ? कुन जनबल र जनादेशको शक्तिले बली चढाइयो ? बलिदान गरेपछि प्राप्ति के भो ? आजका राजनीतिक नेतृत्वले वर्तमान र इतिहासलाई जवाफ दिनुपर्छ, त्यो दिन पनि आउँछ ।
एनसेल, वाइडबडी, बालुवाटारजग्गा, यति, भुटानी शरणार्थी र भिजिट भिसा प्रकरण, गिरिबन्धु बुढी गण्डकी अनेक छन् भ्रष्टाचार काण्डहरू । हत्याहिंसाको कहालीलाग्दो अवस्था रहेको छ । गंगामायाँ अधिकारीले किन न्याय पाइनन् ? टीकापुरमा किन दुधेबालकको हत्या गरियो ? निर्मला पन्तको बलात्कारी र हत्यारा को हो ? ३८ क्विन्टल सुन, ३३ किलो सुन र सिलसिलेवार हत्यारा को को हुन् ? यी सबैका बारेमा कुनै नेता बोल्दैनन्, किनकि यी सबै काण्ड प्रकाण्डमा यिनकै आन्द्रा जोडिन्छ ।
राष्ट्रिय ढुकुटी र राष्ट्रिय सम्पत्तिलाई फुपुको श्राद्धमा उडाएजसरी उडाउने शासकहरूले जे गरिरहेका छन्, त्यो निर्विकल्प जनताको बहुदलीय जनवाद नै हो त ? सर्वहाराको राजनीति गर्छु भन्नेहरू कर्महारा बनेका छन् । परिवर्तनबाट समृद्धि, शान्ति र सुखानुभूतिको अपेक्षा गर्ने सोझा जनताका सामु यी परिवर्तनका नायकहरू अर्काले ठड्याइदिएका बुख्याँचा, पुतला साबित भए । कुनै नेता छन् भने बोल, जवाफ देऊ । कसैमा हिम्मत छैन ।
लोकतन्त्र भन्नेहरूले भन्नैपर्छ— नेपाली कमारा हुन् कि सार्वभौमसत्ता सम्पन्न नागरिक ? नागरिकलाई कमारा ठान्ने हो भने लोकतान्त्रिक अग्रगमनकारी कोही पनि नेपाली हो भन्न लायक नै छैनन् । नागरिक सार्वभौम छन् भने नागरिकले नागरिक हक किन पाइरहेका छैनन् ? लोकतन्त्रलाई गायत्री मन्त्र बनाएर र समाजवाद भनेर जपिरहने अन्धभक्त मार्काहरू जनता हकारेर र लोकतन्त्र डकारेर मात्र पुग्दैन, नीति नैतिकता र सिद्धान्तमा पनि उभिनुपर्छ भन्ने किन बिर्सेका ? सार्वभौमिकता र लोकतन्त्रका बलात्कारीहरूले लोकतन्त्रको मर्म र महिमा मिचेर लोकतन्त्रको दुहाई दिइरहने ? जुनसुकै दलका हुन् कि सडकका हुन्, सत्तामहत्वाकांक्षी मार्काहरूलाई ज्ञात होस्— डाइनामाइटको आविस्कारकले साहित्यमा नोबेल पुरस्कार राखेका हुन् । मानवीय मूल्य र मान्यतामा, मान्छेको पहिचान र अस्तित्वमा डाइनामाइट प्रयोग गरिन्न भन्ने प्रत्याभूति थियो त्यो । त्यति पनि नबुझ्ने अवुझहरू जनताको बहुदलीय जनवाद र समाजवादको अर्थ बुझ्दैनन् भने त्यसको व्याख्या गर्न महेन्द्रले दियालो बंगलाबाट, मदन भण्डारी नारायणी नदीको कोखबाट, वीपी कोइरालाले अर्को जन्म लिनुपर्छ, कि यस्ता नक्कली मयुरपंखीहरू समाप्त हुनुपर्छ । यही अन्तर्य हो, भुइँमान्छेले पूजा गर्न तैयार गरेका आफ्नै प्रतिनिधिलाई गाला चड्काउनु, जुत्ता हान्नु र घृणा गर्नु । चेतनारहोस्, नेतृत्व सचेत होस् । होस् गर, मानवीयता र सिद्धान्त त्याग्ने र रक्तवीज नबुझ्नेले केही बुझ्दैनन् । रक्तवीज जाग्छ है ।
अन्तमा एउटा सुझाव अधिनायक र भ्रष्टवाद मार्काका हाम्रा चिन्तक, विचारक, शासक र विश्लेषकहरूलाई—
पशुपतिक्षेत्र, बागमती किनारमा विरूप विरूपाक्षको मूर्ति छ । विरूपाक्ष अर्थात यौनतृष्णाको अन्धोबेग, आमासँग यौनतृष्णा मेटाउने कुरूप । यो मूर्तिलाई कलियुगको मूर्ति पनि भनिन्छ । यो मूर्ति जमीनमा धसिएको छ । यो मूर्ति जमीनबाहिर निस्केपछि ध्वस्तयुग आउने छ भन्ने मान्यता छ। पशुपतिक्षेत्र जाने र अध्ययन गर्नेहरूका अनुसार यो विरूप विरूपाक्षको मूर्ति क्रमसः बाहिर निस्कदैछ । यो प्रसङ्ग यसकारण पनि महत्वपूर्ण छ कि मान्छेलाई विवेकी भनिन्छ, मान्छेका व्यवहार विवेकहीन बनेपछि बाँदर र मान्छेमा भिन्नता बाँकी रहन्न । यौनाङजस्तै दिमागमा भिरङ्गी सल्केपछि मान्छे कुन, पशु कुन ? जो सत्य बुझ्छन् र सही छन्, छायाँमा छन् । वर्तमान नेपालका राजनीतिक, सामाजिक, आर्थिक, बौद्धिक सबै क्षेत्र नैतिकहीन र छाडा यौनबजारजस्तै बनेको अनुभूति जो कसैलाई भएको हुनुपर्छ । चेतनशील समाजमा नेपालमा जस्तो मूर्दा शान्ति हुन्छ र ? देश त जिवन्त हुनुपर्छ, मर्दै गएको छ चेतना, हामी उभिएको भूगोल चिहानजस्तो लाग्छ । वीरको देशमा वीररस छैन, भ्रष्टाचाररस मात्र देखिन्छ । भ्रष्टाचारीको शासन भनेको जंगल हो, जंगलमा विषालु र डरलाग्दा जनावर पाइन्छन्, जंगलमा मान्छे बस्छन् र ?
यसकारण सवाल छ— कतै राजनीति विरूपाक्षको संस्करणमा त छैन ? अनुरोध यत्ति छ, नेतृत्वमा रहेका प्रत्येकले ऐनमा आफ्नै अनुहार हेरून्ं र अन्यायको टुकुचामा डुबेर कति सफा र सुग्घरी छौं, दिमाग कति स्वच्छ छ ? तत्काल आत्ममिमांसा गरून् ।