
भरतपुर, असार १४ । चीनको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग भ्रमण टोली शनिबार भरतपुर आइपुगेको छ । भरतपुरको भगिनी सम्बन्ध रहेको सिगात्से सहरका मेयरसहितको टोलीलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्यालयमा स्वागत गर्नुभयो ।
सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच दुई पालिका बीच सहकार्यलाई थप उचाई दिने विषयमा छलफल भएको थियो ।
भेटमा आपसी हित, दुई सहर र चीनबीचको गर्न सकिने सहकार्यको बारेमा छलफल भएको हो ।
प्रमुख दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा सधै सकारात्मक रहेको बताउनुभयो ।
महानगरपालिका प्रमुख दाहालले भरतपुरको फोहर व्यवस्थापनमा सिगात्से सहर र चीनको सहयोग प्रस्ताव गर्नुभयो ।
सिगात्से सिटिको सबै क्षेत्रमा भएको उच्च प्रविधिको प्रयोग, हरियाली सहर, समय व्यवस्थापन एवम् प्रभावकारी फोहर व्यवस्थापनको अभ्यास भरतपुर महानगरपालिकामा पनि क्रमिक रुपमा अगाडी बढाईरहेको बताउनुभयो । विशेष गरी फोहर मैला व्यवस्थापनमा यहाँहरुको सहयोगको अपेक्षा समेत गरेका छौ–उहाँले भन्नुभयो ।
प्रमुख दाहालले चीनबाट भरतपुरमा धेरैभन्दा धेरै पर्यटक भ्रमणका लागि वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।
यस्तै सिगात्से सहरका मेयर हुड्गले भरतपुर महानगरपालिकासँग थप व्यपारिक सम्बन्ध अघि बढाउन खोजेको उल्लेख गर्नुभयो । भरतपुरमा उत्पादन भएका ग्रीन फार्मिङलाई सिगात्सेले आयात गर्न खोजेको उहाँको भनाई थियो ।
उहाँले भरतपुर प्राकृतिक रुपमा अति नै सुन्दर रहेकाले चीनबाट भरतपुर घुम्नका लागि पर्यटकलाई निमन्त्रणा दिने पनि बताउनुभयो ।
सिगात्से र भरतपुरबीच गत वर्षको कार्तिक महिनामा भगिनी सम्बन्ध कायम भएको थियो ।