Advertisement Banner
Advertisement Banner

०४ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

समृद्धिका महाथिर बन्नुपर्नेहरु दुर्गतिका महारोगी

राजन कार्की

३१ शुक्रबार , श्रावण २०८२५ दिन अगाडि

समृद्धिका महाथिर बन्नुपर्नेहरु 
दुर्गतिका महारोगी

समृद्धिका महाथिर बन्नुपर्नेहरू दुर्गतिका महारोगी बन्नु नेपाल र नेपालीका लागि दुर्भाग्य हो ।
समाजवादको स्वर्ग सम्झनेहरूका लागि भारत वा पश्चिमा अनुकरणीय हुनसक्थ्यो । चीनलाई बैतर्णी सम्झनेहरूका लागि चीन अनुकरणीय हुनसक्थ्यो । तर सत्ताका महत्वकांक्षी र अवसरवादीले सिद्धान्तलाई मिठ्ठाबरफ बनाइदिए । बरफ पग्लिएपछि पानी बन्छ, पानीको आकार भनेको जुन भाँडोमा हाल्यौ उस्तै हुने हो । पानी र नेपालका समाजवादी, सर्वहारावादी, गणतन्त्रवादी, प्रजातन्त्रवादी हात्ती र हात्तीछाप चप्पलजस्तै बन्नपुगे ।
छेपारो, जो मौसम अनुसारको ट्यूनिक फेर्छन्, तिनीहरूको आकार पनि हुँदैन, रङ् पनि हुँदैन । नेपालको राजनीति, शासन प्रशासन र छेपारो एउटै चरित्रका हुन् । मौसमी छन् ।
राष्ट्रपछि ट्रम्प अथवा भारतका प्रम नरेन्द्र मोदी, दुबैले आफ्नै मुलुक फस्ट, राष्ट्रवादभन्दा अर्को बिकल्प छैन भन्ने नीति लिएपछि उनीहरू चर्चित छन्, समृद्धिको शिखरतिर उन्मुख छन् । चीनका राष्ट्रपति सी चिनफिङ्ले पार्टीका उच्चपदमा र सत्तामा बस्नेले निजी सम्पत्ति राख्न नपाउने भन्दै कडा नियम ल्याए, भ्रष्टाचारी सावित भएकालाई सिधै मृत्युदण्ड दिने नीतिलाई अवलम्बन गरेपछि चीन विश्वको सम्पन्न आर्थिक र सामरिक शक्ति बनेको छ । अभेद्य किल्ला बन्नपुगेको छ । नेपाल दुई महासागरजस्ता र समृद्धि देशको वीचमा छ, तर नेपालले लाभ लिन सकेन । यसको मूल कारण शासकमा ल्याकतको अभाव हो ।
हालैको भारत पाकिस्तानको युद्धमा चीनले पाकिस्तानलाई सहयोग गरेको विमानले विश्वकै अत्याधुनिक मानिएको र त्यही लडाकु विमानको अभिमानमा उफ्रेको भारतले आक्रामणका लागि उडाएको राफेललाई धरासायी बनाइदिएपछि रातारात अमेरिकी सम्पर्कमा भारतले युद्धविराम गर्न बाध्य भयो । यतिबेला भाजपाका नेता जोली नेपालमै आएर भन्न भ्याएका छन्– भारत युद्ध चाहदैन । भारतलाई युद्धका लागि उकास्ने काम नगरौं । युद्ध त रोकियो, तर भारतलाई सानो आकारको नेपालको समर्थन पनि चाहिएको देखियो । पाकिस्तानले पनि नेपालको साथ खोजेकै हो । चीनले राजतन्त्र फालिदा मौन रहेको भए पनि यतिबेला पार्टी, बौद्धिक, जनस्तर र सरकार स्तरमा नेपालसँग सम्बन्धलाई व्यापकता दिदै आएको छ ।
हो, पाकिस्तानलाई सिध्याइदिने भारतको यो टोन चेन्जले भन्छ– बिस्तारवाद टिक्दैन । भारतलाई शिक्षा भयो, नेपालले शान्तिका लागि आह्वानसमेत गर्न सकेन । आतंकवादको विरूद्धमा उभिएको वक्तव्य दिएर प्रम ओलीले भनेका थिए– नेपालले भारत पाकिस्तानको युद्ध रोकिदियो । प्रम ओली हाँसोका पात्र बने, टिप्पणीकारको टिप्पणी थियो– हुटिट्याउँको खुट्टी हेर्दै चाल पाइयो । सार्कको अध्यक्षको नातासमेत निभाउन नसक्नेको फुइँकी ठूलो । सार्क छ, मूर्दा मूडोजस्तो छ । अध्यक्ष हुँ, सचिवालय नेपालमै छ भनेर के को गुड्डी हाँक्नु ? नेपालले छिमेक र अमेरिकाबाट सिक्नुपर्ने शिक्षा भनेको विकास र राष्ट्रवादको सूत्र थियो । राष्ट्रियनीतिमा समेत स्पष्ट नभएको नेपालले सिक्नुपर्ने केही सिकेन । 
अमेरिकाले मेक अमेरिका ग्रेट अगेन भन्ने नीति लिएपछि अमेरिका समृद्धितिर अग्रसर छ । भारतले विकास र जनतालाई सुविधामा ध्यान दिएपछि आर्थिक र सामरिक रूपमा समेत लामो छलाङ मार्दैछ । चीनको विकासको एकमात्र सूत्र भनेको सुशासन, इमान र देशप्रतिको निष्ठा हो । यी ३ सुत्रले चीनलाई आज संसारकै चमत्कारिक प्रगतिको देशका रूपमा स्थापित गरिसकेको छ । नेपाल ग्रेलिष्टमा पुगिसक्यो । ब्ल्याकमा पुग्यो भने ?
धन्न अमेरिकाले एमसीसी सुचारू गरिदिएको छ । अमेरिकाले नेपाललाई मानवबेचबिखन गर्ने, धोकेवाज भ्रष्ट देश भनिसकेको छ । ब्ल्याकलिष्टमा राखिदिएको भए नेपालको हविगत के हुन्थ्यो ? शासन प्रशासन गर्नेले सोचेका छन् ?
२०७५ सालको एमाले माओवादीको दुई तिहाई राष्ट्रका लागि सराप बन्यो । २०८२ को एमाले कांग्रेसको दुई तिहाई पनि सरापबाट मुक्त देखिएन । हिजो पनि नेपाल धरापमा थियो, आज पनि नेपाल जोखिममा छ । सतीको सरापबाट अभिशप्त छ राष्ट्र । सराप मोचनका लागि जनताले बिद्रोह गर्नुपर्ने अवस्था आउनु भनेको लोकतान्त्रिक गणतन्त्र असफल भयो भन्ने हो ।
नेता वा कुनै पनि दल, सरकार र संसदले सुशासन, सम्बृद्धि र विधिको शासनमा कटिवद्धता देखाउन सकेनन् । राजनीति देशका लागि मृत्युघण्ट बन्नु पद्धति निकम्मा हुनु हो । नेतृत्व कति काँचो रहेछ भन्ने दृष्टान्त हो । हरेक पदासीनले भ्रष्टाचार गर्दैनौं त भने तर भ्रष्टाचारको जगमा उभिन पुगे । गणतन्त्रको जरा कुहियो, रूख ढल्नेवाला छ । मिसन ०८४ भन्छन्, भएको संसद सफल पार्न नसक्नेका लागि केको मिसन ०८४ ? यी राजनीतिक नेताहरूको मिसन भनेको सत्ता, सम्पत्ति र शक्ति आर्जनमात्र हो । कुनै पनि नेताले आफूलाई ढाल्नु र सेवकका रूपमा प्रस्तुत हुन सकेनन् । वर्तमान एमालेको नेतृत्वमा बनेको कांग्रेस सहितको सरकारले आफ्नो बाटो बिराइरहेको छ । हरेक नेता चुकेका छन् ।
संक्रमणकालीन मुद्दा होस् कि सुशासनका विषय, यो संसद र सरकारले याँली ब्याँली गरेर समय बिताइरहेको छ । २०६३ सालको परिवर्तन र २०७२ सालको संविधान तथा संविधानको कार्यान्वयनले तात्वीक अन्तर केही ल्याउन सकेन । भ्रष्टाचार र दण्डहीन मुलुक बन्नपुग्यो नेपाल । फ्रड मुलुक भनेर बदनाम भयो ।
विकास हुनसकेन, रोजीरोटी ठूलो समस्या बनेको छ, जनता जीवनस्तरको सहजता खोजिरहेका छन् । देश र जनतालाई यति ठूला ठूला सपना बाँडिएको छ कि सपनाको त खातै लागिसक्यो । पहिले देखाएका सपना पूरा भएका छैनन्, समृद्धिको ठूलो सपना देखाएर के गर्नु ? कुशासनले सीमा नाघिसक्यो । राष्ट्रमा समस्या र लथालिङ्गे चाला कुनै एक क्षेत्र वा संस्थामा मात्र छैन । शिक्षा क्षेत्र पुरै राजनीतिकरण भएको छ भने स्वास्थ्यक्षेत्रमा अराजकता छ । न्यायदेखि परराष्ट्रसम्म, व्यापारदेखि उद्यमसम्म, राज्यका सबै तह र तप्का, सञ्जालभरि सिण्डिकेटको जञ्जाल  नभएको र सेटिङमा कानुन मिच्ने र राज्यदोहन गर्ने काम रोकिएको छैन । युवा निकासी गर्ने र यही नाममा मानव बेचबिखनसम्मका अपराध खुलेआम भइरहेका छन् । हिजो सिंहदरवारबाट हुने गरेको भ्रष्टाचार पालिकास्तरमा समेत फैलिसकेको छ । 
महामारीका भाइरसले आर्थिक क्रान्ति गर्ने विश्वास गर्नु आकाशतिर फर्केर थुक्नुजस्तै हो  । प्रश्न छ– राजनीतिक क्रान्ति सकिएको हो भने फेरि मुलुक त्यही राजनीतिक द्वन्द्वको भूमरीमै किन फन्को मारिएको छ ? आर्थिक क्रान्तिको समय आएको हो भने आर्थिक क्रान्ति सुरू गर्नका लागि किन भद्रो हेरिरहनु प¥यो ? स्वदेशी लगानी बाहिरिदै छ, विदेशी लगानी आकर्षित पार्न सकिएको छैन । किन कुनै रोजगारी सिर्जना गरिदैन ? किन यस विषयमा बिषद छलफल गरेर राष्ट्रिय नीति तय गर्न सक्रिय छैनन् ? कारण एउटै छ, यो पद्धतिका सञ्चालकहरूमा राष्ट्रनिर्माणको भिजन नै छैन । हिजो राजनीतिक बिबाद थियो, आज पनि बिबाद छ । हिजो भ्रष्टाचारमय शासनमा सुशास्न ल्याउने कुरा गरियो, आज पनि त्यही कुरा गरिदैछ । फरक के भयो ? फरक के गरियो ? नतिजा शून्य छ । यसमा मनन गर्न जरूरी छ ।
सवाल के हो भने– हेर्दा डरलाग्दो देखिने कछुवाको दाँत नै हुँदैनन् । सानो जीव हो, लामखुट्टे त्यसका १७ ओटा दाँत हुन्छन् । दुई तिहाई बहुमत भएको यो सरकार हेर्दा डरलाग्दो छ, तर यसको गति साह्रै सुस्त देखिन्छ । सानो जीवन लामखुट्टेको १७ ओटा दाँत हुन्छ, राज्य संयन्त्र लामखुट्टे जस्तै बनेको छ र १७ तिरबाट देश र जनतालाई टोकिरहेको छ । यो सरकार लामखुट्टेको जुनीबाट माथि उठ्ने कहिले ? यो क्वेशन अफ टाइम होइन र ?
जनयुद्ध जनआन्दोलनमा मिसिएपछि सफल भएको हो, यसका साना नेपोलियन थिए– प्रचण्ड । भारतले नाकावन्दी गर्दा भारतका सामु झुक्न नमान्ने बाध्यतामा परेर राष्ट्रवादी नायक बनेका अर्का साना नेपोलियन थिए– ओली । जनआन्दोलनमा अर्का प्रजातन्त्रवादी नेपोलियन मिसिए देउवा । यी तीन नेपोलियन १७ वर्षदेखि सत्ता र राजनीतिको केन्द्रमा छन् । यिनीहरू पटक पटक प्रधानमन्त्री बनिसकेका छन् । अहिले पनि सत्ता यिनकै मुठ्ठीमा छ । यिनलाई अव के प्राप्त गर्नु छ र यिनीहरू देशभित्रका महामारीविरूद्ध निर्मम निर्णय गरेर निगरानी गर्न छाडेर ङारङार ङुरङुर गरिरहेका छन् ? जनतालाई शक्तिशाली बनाउने माध्यम जनता नै हुन् भन्ने नेपोलियनको मान्यता यिनमा देखिदैन । आफू शक्तिशाली हुन सके राजनीतिक बिजेता भइन्छ भन्ने गलत मान्यता बोक्दा यिनको ओह्रालो यात्रा सुरू भएजस्तो देखिदैछ । 
मामाको हत्या गरेर अलाउद्दीन खिल्जी दिल्लीका सम्राट बनेको इतिहास छ । तिनै खिल्जी चित्तौढका राजा रत्नसेनकी महारानी पद्मिनी हासिल गर्ने महत्वाकांक्षामा लाग्दा उनले चित्तौढ त जिते, पद्मिनी हासिल गर्न सकेनन् । पद्मिनीले जौहर गरेर प्राण त्यागिन् । भष्मासुरको कथा र खिल्जीको इतिहास उस्तै छ । एमाले र माओवादीले भारत र क्रिश्चियन हतियारको आडमा राजतन्त्र र हिन्दुधर्मको हत्या गरेर सत्ता हासिल गरे । यिनले हासिल गर्न खोजेको पद्मिनीरूपी आलोपालो र निरन्तरको शासनसत्ता यही चाल र तालले हासिल गर्नसक्ने देखिदैन । यिनलाई काम गर्नेभन्दा पनि एकता गर्ने, फेरि फेरि चुनाव जित्ने वातावरण बनाउने अहंकारले छोपेको छ । यिनीहरू भष्मासुरे प्रवृत्तिमा लीन भइसकेका छन् । नेतामा हुनैपर्ने राजनीतिक धर्म भएन भने न विवेक रहन्छ, न नैतिकता । यी गुण नभएकाका लागि स्वाधीनता र सार्वभौमिकता न धोती हो, न टोपी ? यसकारण नेतृत्व जनताको आँखामा कसिङ्गर बनेका हुन् ।
लोकतान्त्रिक गणतन्त्रवादी हुँ भन्नेहरूले सिंहदरवारमा बस्नेले बेलायती बैठकमा रहेको ऐनामा आफ्नो अनुहार हेरून्, आफ्ना बिगत सम्झुन, कहाँ उभिएको छु भनेर मनन गरून् । चुनावका बेलामा के के प्रतिवद्धता व्यक्त गरेका थिए, पढुन् । पद्धति परिवर्तन भयो, पद्धति जीवन पद्धति किन हुनसकेन भनेर नियालुन् र अव गर्नुपर्ने काम के के हुन् भनेर खुट्याउन् । होइन भने भ्रष्टाचारले देशभित्र पिलो पाकिसकेको छ । चिरफार गरेर खिल निकाल्न जनताले कम्मरकस्न नपरोस् । त्यसो भयो भने बंगलादेश र श्रीलंकामा के भयो, हेक्का राखुन् ।
मलेसियाका फादर अफ नेशन, महाथिर महोमद । १९८१ देखि २००३ सम्म सत्तामा बसेर मलेसियालाई सम्पन्न पारेर पन्छिएका थिए । उनले ठाने मलेसिया फेरि गलत बाटोतिर लाग्न लाग्यो । उनी चुनावमा खडा भए र गलत चरित्र सच्याइदिए । ९२ वर्षका महाथिरको पहिलो भाषण थियो– म ज्यूँदैछु । म जनताको अपेक्षा पूरा गर्छु । मलेसिया मेरो गौरव हो । जवाफदेहीता, निष्ठा त्यस्तो हुन्छ । देशप्रतिको जिम्मेवारी त्यस्तो हुन्छ । को छ त्यस्तो ?