Advertisement Banner
Advertisement Banner

२९ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

लेण्डुपझैं बदनाम हुन्छन् पार्टी शासकहरू

राजन कार्की

१८ बुधबार , भाद्र २०८२११ दिन अगाडि

लेण्डुपझैं बदनाम हुन्छन् पार्टी शासकहरू

राष्ट्रवादको स्तरमा खरो उत्रन नसकेका पार्टी सञ्चालक, नेताहरुलाई भविष्यले लेण्डुप भनेर सम्झने छन् । राम्रो काम गर्न सकेको भए नेताहरु जनताको नजरमा हाइ हाइ हुनेथिए, आज जनताले नेताहरुलाई घृणा गर्छन्, घुणाको स्तर बृद्धि हुँदै गएको छ नेपालका शासक प्रशासकहरुप्रति ।
राजालाई निरंकूश भनेर गालीगर्नेहरुले शासनसत्ता चलाएको ३८ वर्ष भयो । यिनीहरु राजाभन्दा निरंकूश बन्नपुगेका छन् । यिनले देश चलाएको ३८ वर्षमा राष्ट्रिय मुद्दाहरुको किनारा लागेनन् । बहुदल र लोकतन्त्रले राष्ट्रिय मुद्दाहरुलाई झन पेचिलो बनाइदिए । नेताहरुको इज्जत देशमा रहेन, देशको इज्जत अन्तर्राष्ट्रिय स्तरमा खस्कदै गयो । ०४६ सालका नेताहरु ०८२ सालमा पनि शासनमा छन्, पालैपालो शासन गरिरहेका छन् । यिनले के के काम अग्रगमनकारी गरे ? केही पनि छैन । राजाले बनाइदिएको पूर्वाधारलाई बेचेर खाए, तिनै पूर्वाधारमा टेकेर उभिएका छन् । केही गर्न नसक्नेले राजालाई गाली गर्ने ? जनताको प्रश्न छ । बिगतबाट त शिक्षा लिने हो । बिगतलाई सराप्ने होइन । वर्तमानमा आफूले काम गर्ने हो, भविष्यलाई सम्झना लायक बनाउने हो । इतिहासमा कलंक बन्ने होडबाजी गरिरहेका छन् लोकतन्त्रका शासक प्रशासकहरु । जो लोकलज्जाबाट डराउँदैन, भ्रष्टाचार गर्न गर्व गर्छ, सुकर्म गर्दैन, जनअपेक्षाको बेवास्ता गर्छ, त्यो बर्गले अरुको आलोचना गरेको सुहाउँदैन ।
यी राजनीतिका नामका जुका प्रवृत्तिका नेताहरु इतिहासलाई सराप्नू, आकाशतिर फर्केर थुक्नुजस्तै हो । यस्ता शासक भविष्यमा लेण्डुप भनेर चिनिनेछन् । नाम सुन्दैमा छिःछिः हुनेछन् । प्रकृति हो यो– दाँतै नहुने लाटोकोसेरोले के खाएर बाँच्छ होला ? खानलाई चरा, मुसा खान्छ । त्यसैले उसले जे खान्छ, सिंगै सुलुत्त सुलुत्त निल्छ । राजनीति लाटोकोसेरो हुनसक्दैन । राजनीतिले गर्ने सेवा हो, दिने योगदान हो । त्याग र बलिदान हो ।
तर नेपालको राजनीति लाटोकोसेरो भइसक्यो । जे देख्यो, पायो खान्छ, खाएपछि पचाउँछ । दिनभरि भ्रष्टाचार गर्छ, अपराध गर्छ, रातभरि खाइरहन्छ । लुटतन्त्र बन्यो लोकतन्त्र । 
राज्यको पाचन प्रणाली भनेको विधि हो । संविधान हो । विधिविधानलाई जे खायो पचायो राजनीतिकरण गरिसकेकाले विधि पनि छैन, संविधान पनि छैन । नीति पनि छैन, निष्ठा पनि छैन । सिद्धान्त पनि छैन, जनताप्रति उत्तरदायित्व पनि छैन । राजनीति छाडा बन्दैगयो । लाटोकोसेरो चरा, मुसा सुलुत्तै निल्छ, हाम्रो राजनीति अनैतिकता पचाउँछ । नेतृत्वलाई लाज शरम, घीन केही पनि लाग्दैन । इमान छैन नेतृत्वमा ।
हिजोको चप्पले नेता आज पजेरो चढ्छ, एक कप चियाका लागि चियापसलमा विहानै पुग्ने नेता आज महलमा बस्छन् । सांसद भयो कि मन्त्री, मन्त्री भयो कि प्रधानमन्त्री । ५ पटकसम्म प्रधानमन्त्री बन्ने शेरबहादुर देउवामा कुन ल्याकत र ताकत होला ? उनीभन्दा सत्ता सञ्चालनमा गिरेका कुनै व्यक्ति नै छैनन्, फेरि उनी कसरी ५ पल्ट प्रधानमन्त्री बन्न सके । उनको भनाई छ– मलाई जनताले भोट दिन्छन्, जिताउँछन् त म के गरुँ ? जनता किन जनतातिर नहेर्ने नेतालाई चुनाव जिताउँछन् ?
बन्न त काठमाडौं र रौतहटबाट चुनाव हारेका माधव नेपाललाई पनि नेतागणले  प्रधानमन्त्री बनाए । सर्वहारावाद ल्याउँछु भन्ने माओवादी प्रचण्ड प्रचण्डपथ निर्माण गर्छु भनेर ३ पल्ट प्रधानमन्त्री बने । प्रधानन्यायाधीश नै प्रधानमन्त्री पनि बनेको नजीर छ लोकतन्त्रमा । यस्तो देशमा को सांसद, मन्त्री बन्यो, प्रधानमन्त्री बन्यो, के चर्चा गर्नु ? चर्चा गर्न लायक नै छैनन् ।
किनकि नेपालमा हरेक पद विक्रीमा छन् । लोकतन्त्रवादी हुँ भन्ने पार्टीहरु हरेकले पद बेचेका छन् । पदनको दुरुपयोग गरेका छ्न । सांसद पद समेत दाइजोमा दिएको उदाहरण पनि छ । राज्यलक्ष्मी गोल्छाले त ७ करोड दिएर सांसद बनेकी थिइन् । अनेक तीता अनुभूति छन् ।
नेपालको राजनीति व्यवसाय बन्यो । लाटोकोसेरो बन्यो । नेपालको भविष्य निर्माणमा राजनीति ऐंजेरु बन्यो ।
पञ्चायत खराव भनेर बहुदल ल्याइयो, बहुदल–राजतन्त्र–हिन्दुधर्मले विभेद बढायो भनेर लोकतन्त्र ल्याइयो । लोकतन्त्रको १८ वर्षमै स्पष्ट भयो– यो त लूटतन्त्र रहेछ । नेताजति लाटोकोसेरो चरित्रका निस्के, लाटोकोसेरो तन्त्र चलाए । यो सबै देखेर अमेरिकाले भनेको हो– नेपाली नेता फ्रड छन् । विश्व आर्थिक जगतले नेपालमाथि ग्रेलिस्टमा सूचीकृत गरिदिएको छ । तैपनि नेताहरु भन्छन्– २०२६ मा हामी विकाशशील हुँदैछौं ।
प्रजातन्त्रका प्रवर्तक अब्राहम लिंकनले भनेका गएका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । हो, नेपाली गरीव छन्, सबै सत्य बुझेका छन् तर बाध्यतावश तिनैलाई चुन्छन् जो जनवादीका नाममा जनघाती छ । समाजवादीका नाममा समाजविरोधी छ । राष्ट्रवादका नाममा राष्ट्रघाती छन् । 
त्यसैले त मौसम मौसममा ट्यूनिक फेर्छन्, पर्व पर्वमा राष्ट्रवादी बन्छन् । मजाले धुलो उडाउँछन् र आफू वातानुकुलित कोठामा बसेर चौरासी व्यञ्जन खान्छन् । जो सिंहदरवारमा बस्छन्, तिनले झोपडीको कथा, जो सहरमा बस्छन्, तिनले गाउँका व्यथा कसरी बुझ्न सक्छन् र ? जो विदेशीसँग रातरात भर रमाइलो गर्छन्, तिनले न सीमा अतिक्रमणमा बोल्छन्, न डुबानमा । विदेशीले कहिले गोली हान्छ, कहिले तुइन चुडालेर मार्छ, नेपाली दिदीबहिनी, दाजुभाइलाई दिनदिनै खुला सीमामा बलात्कार गर्छ, लुट्छ, तिनले देख्दैनन् । यिनका लागि चीन र भारतले लिपुलेकबाट यातायात चलाउनु, व्यापार गर्नु, कैलाशमानसरोवरको तीर्थयात्रा पर्यटन चलाउनु ठूलो कुरा होइन । यिनलाई देशको माटोको महत्व नै थाहा छैन । लिपुलेक, लिम्पियाधुरा,, कालापानी नेपाली भूभाग हो । भारतले हत्याइसक्यो, यिनीहरु संसदमा बहससम्म गर्दैनन् । यिनलाई स्वार्थको चिन्ता छ, देशको अस्तित्वको होइन । जनअपेक्षाको होइन ।
यी सब नेता भन्छन्– हामी लोकतान्त्रिक देशभक्त हौं । यिनको बुझाइमा लोकतन्त्र भनेको राष्ट्र चुहिनु र नेतृत्व तुहिनु हो । यस्तो तुहिएको नेतृत्वले देश बनाउँदैन । अब नेपालीले बुझ्नुपर्छ । बुझ्न अवेर गर्नु हुँदैन ।
जो समाजवादको नारा उराल्छ र समाज बिथोल्छ । जो राष्ट्रवादको गीत गाउँछ, ऊ राष्ट्र नै बेच्छ । जो सर्वहाराको नारा लगाउँछ, ऊ सर्वआहारा खान्छ । बर्जित फल खाने सिद्धान्तहीन व्यक्तिहरु देशको शक्ति बनेका छन् । नीति र सिद्धान्तहीन भनेको राजनीतिक बहुलापन हो, यो बहुलापनले जे पनि बोल्छ, जे पनि गर्छ । देशलाई संकटमा पार्छ ।
नेपालका सन्दर्भमा आधुनिक डाइनासोर हुन् राजनीतिक दलहरु । डाइनासोर आपसमै लड्दैमा सखाप भए । हाम्रा नेताहरु पनि आपसमै लडीरहेका छन् र सखाप हुने क्रममा छन् । प्रश्न यत्ति छ, कतै यिनले आफू सखाप हुँदा देश सखाप नपारुन् ।
१२६ (१३२ ?) जाति छन् देशमा । १२–१५ जातिले शासन गरिरहेछन् । समावेशीताको नारा यिनै घन्काउँछन् । कुनै जाति जंगलमा गिठ्ठा भ्याकुर खाएर बाँचिरहेको छ, अधिकांश जाति गरीवीको रोगले जन्मन्छ र किराफट्याङ्ग्रा मरेझैं मरिरहेका छन् । तिनका लागि सरकार र समानता संविधानको अक्षरमा लेखिएको अक्षर बाहेक कतै केही छैन । तिनको मानवाधिकार, राष्ट्राधिकार, सार्वभौमिक अधिकार, बाँच्ने आधारभूत अधिकारको लागि कुन नेता लड्यो ? गाउँपालिकासम्म पुगेको सिंहदरवार पनि अनियमितता र भ्रष्टाचारकै पोखरीमा भैंसी आहाल बसेझैं बसेको छ । नेपाल दण्डहीन थियो, ठग बन्यो, मानवाधिकारविहीन बन्दैछ ।
जो समाजवाद, राष्ट्रवाद, सर्वहाराका नाइके थिए, तिनीहरु पालैपालो सत्तामा गए । मुहार चम्किलो बनाए । रोगको उपचारसमेत राज्यकोषबाट खर्च गराए । आफ्ना र परिवार, आफन्तका लागि सात पुस्तालाई पुग्ने सम्पत्ति जोडजाम गरे । स्थिति यतिसम्म देखियो कि अव त केही दिन आराम गर्न सिंगापुर, बैंकक, दुवई जाने र सिंगो परिवार नै बोकेर वाटर वाथ गर्न समेत विदेश हुइँकिने । सकेसम्म राज्यदोहन गर्ने । पार्टी बैठक रिसोर्टमा गर्ने, ठूला होटलमा महानगरका गोष्ठी हुनथालेका छन् । लुट्न सके लुट, अरु देशमा पाइदैन यस्तो छूट भनेको यही हो । यिनकै सन्तानले यसपटक पनि तीज मनाए । यिनको तीज गीत, नाचले समाजको नाक नराम्ररी भाँचेको छ । गरीवलाई यी नवसम्भ्रान्तहरुले नराम्ररी गिज्याएको छ । विभेद बढेको छ ।
विश्वजगत नेपाललाई स्वर्ग ठान्छ, अर्को स्वीट्जरलेण्ड मान्छ । शान्त हुन र शान्तिका लागि प्रेरणा लिन विश्वमानवहरु नेपाल आउने गर्छन् । यस्तो पवित्र भूमिका नेताहरु भ्रष्टाचारका प्रतिमूर्तिजस्ता । बुद्धको देश, सगरमाथाको देश बदनाम भयो ।
२००७ सालमा हामीले दिल्ली गुहा¥यौं, दिल्लीले भारी बोकाएर पठाइदियो । कोशी गण्डकीमात्र गएन, मन्त्रिपरिषदमा भारतका प्रतिनिधि बस्ने व्यवस्थासमेत मान्यौं । नेपालमा भारतीय सैनिक पोस्ट नै स्थापित गरियो । ०१७ सालमा राजाले कू त गरे तर दिल्लीका नचाहिदा, हस्तक्षेपका भारीहरु दिल्ली नै फर्काउने काम भएकै हो । विकास र राष्ट्रियताको जग कुनै बेला बलियो थियो भने त्यो ०१७ देखि ०२८ साल सम्मको महेन्द्र काल नै हो ।
महेन्द्रले खोलिदिएका ३२ उद्योग कौडीका मोलमा बेचेर खाए । ३८ वर्षमा एउटा पनि उद्योग खोलेनन् । मान्छे निकासी गर्ने श्रमस्रोत बन्यो नेपाल । नेपालको अर्थतन्त्र रेमिटान्समा चल्नुपर्ने बाध्यता आयो । समस्या नेतृत्वको चरित्रमा छ, आचरणमा छ । लोकतन्त्रजस्तो अनुशासनमा चल्ने व्यवस्था अनुशासनहीनहरुको हातमा पर्नु भनेको जड्याहले सातघुम्तीमा चलाएको गाडीजस्तै हो । यस्तै भयो ।
भारतले काश्मिरमा कू गरे पछि नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी आफ्नो नक्सामा मिलायो । कांग्रेसका दिग्गज नेता स्व. प्रदीप गिरीले संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमै ‘सके भारतले नेपाललाई सिक्किम बनाउँछ ।’ भनेर बोलेको धेरै भएको छैन । त्यही मार्ग कांग्रेस, कम्युनिष्टजस्ता ठूला पार्टीहरु पछ्याइरहेका छन् ।
नेपाल अत्यधिक जोखिममा छ । १९७५ को सिक्किम घटना नेपालमा दोहोरिन सक्छ । नेपाल निलिनसक्छ अथवा उत्तर र दक्षिणको मित्रमिलापले सकिन सक्छ । असंलग्नता र समदूरीको नीति छाड्दा नेपालको अस्तित्व दिनदिनै जोखिममा पर्दै गएको छ ।
नेपालका लागि यो समय डरलाग्दो भूराजनीतिबाट बच्नुपर्ने समय हो ।
नेपालले फुकी फुकी पाइला चाल्नुपर्ने समय हो । चेतना रहोस् ।