
संविधानले नागरिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ । तर सरकारले यो विषयमा ध्यानै नदिएर सर्वोच्चले कानुन निर्माण गरेर समाजिक सञ्जाल नियमन गर्न दिएको परमादेशलाई आधार बनाएर सरकारले सामाजिक सञ्जाल दर्ता हुन आएनन् भनेर प्रतिवन्ध लगाउने फर्मान जारी ग¥यो । समाजिक सञ्जाल बन्द भए । फेसबुक, मेसेन्जरलगायतका २६ समाजिक सञ्जाल बन्द हुँदा दैनिक जीवनसँग जोडिएको कारण सञ्जाल बन्द हुँदा संसार, सम्बन्ध अँध्यारो कोठाजस्ता बन्न पुगेको छ ।
जनजीवनमा सरकारले पु¥याएको साह्रै घातक निर्णय पनि हो । सामाजिक सञ्जाल सञ्चालकहरुले तत्काल सरकारसँग सम्पर्क गरेर दर्ता हुने प्रकृयामा जानुपर्छ, सरकारले पनि तत्काल सामाजिक सञ्जाल खोलेर संविधान प्रदत्त अधिकारको संरक्षण गर्नुपर्छ । लोकतन्त्रमा सरकार अन्यायी हुनसक्दैन, अँध्यारोमा जनलाई राख्न पाइदैन ।
र, सर्वोच्च अदालतले कानुन बनाएर नियमन गर्न दिएको आदेशअनुसार तत्काल संसदमा असरल्ल परेको विधेयकलाई पास गरेर कानुन बनाउनुपर्छ, कानुनअनुसार सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्नुपर्छ ।
सरकार इम्परर न्यूक्लोथजस्तो नाङ्गै हिड्न सक्दैन । सरकार नाङ्गै देखेकाले व्यक्ति, संस्था, पार्टी, जनप्रतिनिधि, मानवाधिकार आयोग सबैले सरकारको आलोचना गरेका हुन् । यो आलोचनालाई सुझावको रुपमा सरकारले ग्रहण गर्न जरुरी छ ।
सामाजिक सञ्जाल बन्द गरेर सरकार नागा होइन नाङ्गो भएको हो ।
नागा र नाङ्गाको विषयमा सर्वोच्च अदालतले नजीर स्थापित गरेको छ, नागाबाबा भनेको अस्लिलता होइन, यो धार्मिक परम्परा हो । शिवरात्रि अथवा अन्य धार्मिक पर्व पर्वमा भारतबाट नागा बाबा आउँछन् र हिन्दु महिलाहरु नागाबाबाको लिङ्गमा ढोक्ने, टिका लगाउने गर्छन् । यो अस्लिलता भयो भनेर परेको मुद्दामा अदालतको आदेश आयो, यो अस्लिलता होइन ।
नाङ्गो हुनु अस्लिलता हो कि होइन । नेपालका शासकहरु नाङ्गो चरित्रका छन् । कुनै दिन पढिएको थियो, इम्परर न्यूक्लथ । अर्थात्, सम्राटले नयाँ नयाँ लुगा लगाउँदा उनका अनुचर, सहयोगीहरुले आधुनिक बस्त्र भनेर सम्राटलाई नाङ्गै बजार घुमाइदिए । डरका कारण सबैले सम्राटको जय जयकार गरे । कति राम्रो लुगा भनेर नाङ्गा सम्राटको प्रशंसा गरे तर एउटा बालकले प्वाक्क भनिदियो, सम्राट न नाङ्गै छन्, लाज पनि नलागेको ?
नेपालको राजनीतिक परिदृश्य ठ्याक्कै यस्तै छ । शासक, प्रशासकहरु नाङ्गै छन् । उनीहरु यही नाङ्गोपनलाई लोकतान्त्रिक गणतन्त्र भनिरहेका छन् । यी नाङ्गा शासक, प्रशासकका अनुचरहरु नेतृत्वको नग्नतालाई जयजयकार गरेर चाकरी गरिरहेका छन् । चाकरहरुले विवेक गुमाएका छन् । विवेक गुमाउनु र चरित्रहीन हुनु भनेको राजनीतिक अस्लिलता हो । राजनीतिक नेताहरुले नागा हुँ भनेर नाङ्गोपनलाई ढाकछोप गरिरहेका छन्, यो राजनीतिक अपराध हो । नेता र प्रशासकहरु नागा होइनन्, धार्मिक परम्परा पनि होइन, राजनीतिले चरित्र गुमाएको अवस्था हो ।
अब नागरिकले बालकको जस्तो सत्य बोल्नैपर्छ । सत्य नबोल्ने हो भने घर, समाज, देश सबै नाङ्गै बनाइदिनेछन् यी चरित्रहीनहरुले । यी दूरगामी छैनन्, यिनीहरु त स्वार्थ सिद्ध गरिरहेका छन् । यिनले देश बिगारेर आफू नाङ्गा सम्राट बनिरहेका छन् । राष्ट्र संकटमाथि संकटग्रस्त हुँदैछ, यिनलाई आफ्नो, दलको, परिवारको, अनुचरहरुको फाइदाको मात्र चिन्ता छ । फाइदाका लागि यी नाङ्गा सम्राटहरु भ्रम छरिरहेका छन् ।
यिनले आकाश पाताल जोड्ने सपना देखाएकै हुन् । कुनै पनि सपना पूरा गर्न सकेनन् । जनता र देशप्रति यिनले जवाफदेहीता पूरा गरेनन् । देश अभिभावकविहीन जंगलजस्तो बनेको छ । देशमा विधिको कम, राजनीतिक दबाब र प्रभावको बाहुबली शासन बढी छ ।
लोकतान्त्रिक स्याल हुइया र राष्ट्रियताको खोक्रो नारा यिनको स्वार्थ सिद्ध गर्ने औजार बनेको छ । यसकारण पनि यो पद्धतिप्रति बितृष्णा र नेतृत्वप्रति घृणाभाव बढेको छ । समानताको गुड्डी हाँक्नेहरु ‘सर्वाङ्ग नाङ्गा’ चरित्रहीन सावित भइसकेका छन् ।
लौन नागरिकहरु उठ्नुप¥यो र विवेकको बिर्को खोलेर भन्नुप¥यो– लोकतन्त्रे शासक प्रशासकहरु नाङ्गै छन् । चरित्रहीन छन् ।
समाज व्यवस्थालाई नाङ्गाहरुले लथालिङ्ग पारिसके । यिनीहरु आफूलाई लोकतन्त्रका मसिहा सम्झिन्छन् र त्यही अनुसार भाषण गर्छन् । अब भाषणले गनाउने गणतन्त्रको दुर्गन्ध छोपिने अवस्था सकिसकेको छ । यिनले कतिदिन राजतन्त्रको सत्तोसराप गरेर शासन गर्नसक्लान् ? नागरिकहरुले सोच्न थालिसकेका छन् । सडकमा विद्रोहको झिल्का उठिसकेको छ । झिल्का सल्किन लामो समय लाग्नेछैन, यो पद्धतिमा डढेलो सल्क्यो भने यी नाङ्गा शासकहरुले भाग्ने अवसर पनि पाउने छैनन् ।
काण्ड पनि कति कति ? जहाज खरिद होस् कि सरकारी जग्गा, यिनकै खान्की बन्यो । भिजिट भिसा होस् कि भुटानी शरणार्थी बनाएर नागरिक बेचेको हो, गिरिबन्धुदेखि सुनकाण्डसम्मका अनेक प्रकरण छन् । भ्रष्टाचारका सयौं काण्ड छन्, छानबिन नै हुँदैन । बिरोधीलाई कानुनको नाममा जेलमा सडाउने, झमेलामा पार्ने र भ्रष्टाचारमा आहाल बस्ने यी नाङ्गा नेताहरुको दिनचर्या बिनसकेको छ ।
शासक प्रशासकको नाङ्गो चरित्रका कारण, स्वार्थमा चुर्लुम्मै डुब्ने व्यवहारका कारण राष्ट्रको भूमि गुमेको छ, स्वाधीनता खुम्चिदै जाँदो छ । विदेशीले दण्डहीन, मानव बेचबिखन गर्ने देश भनेर आरोप लगाइसकेका छन् । विश्वसनीयता पग्लदै गएको छ । भारतले यति हेपिसकेको छ कि भारतको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई सामेल गरिसक्यो । संसद छ, बहससम्म हुँदैन । यतिसम्मका लज्जाहीन नाङ्गाहरुले चलाएको पद्धति हो यो ।
विश्वका केही राष्ट्रमा, कुनै दिन समाजवाद कि मृत्यु ? भन्ने प्रश्न उठेको थियो । बाँच्नका लागि समाजवाद अँगाल्ने राष्ट्र बच्यो । १९७५ मा सिक्किमी जनताका प्रतिनिधिहरुले मृत्यु रोजे, सिक्किम म¥यो । सिक्किमको राष्ट्रिय फूल सुनाखरी फुल्दाफुल्दै झ¥यो । नेता अदूरदर्शी, स्वार्थी भए भने कसरी राष्ट्र सकिदो रहेछ, यसको ताजा उदाहरण हो, सिक्कम । तर हामीले शिक्षा लिइसकेका छैनौं ।
शासक प्रशासक अदूरदर्शी र स्वार्थी भइदिनाले अफगानिस्तानका निर्वाचित राष्ट्रपति भाग्नुप¥यो । श्रीलंकाका राष्ट्रपति भूमिगत भएर बस्नुप¥यो । बंगलादेशका निर्वाचित प्रधानमन्त्री भारतको शरणमा पुगेर ज्यान जोगाउनु परेको छ । देशका शासकहरु कसरी सत्ताबाट सडकमा पछारिन्छन्, सुखबाट तातो तावामा पुगेको देखेका नेताहरुमा चेत खुलेको छैन ।
नेपाललाई माया गर्ने, सहयोगी दातृ संस्थाहरुले विश्वास गर्न छाडेका छन् । नेपाल ग्रेलिस्टमा परिसक्यो । अरुले नबोले पनि अमेरिकाले युएसएआइडी संस्था बन्द गरेर गइसक्यो । नेपाललाई फ्रड भनिसक्यो । अब त विश्वजगतमा नेपाल भनेको मानवाधिकार हनन हुने, दण्डहीन, मानव बेचबिखन गर्ने शासन सत्ता भएको मुलुक भनेर बदनाम भइरहेको छ । पद्धति र नेतृत्वप्रति जनतामा अलिकति पनि सम्मान छैन । प्राविधिक रुपमा चुनाव जितेर शासन सत्तामा भ्रष्टाचारको साम्राज्य चलाइरहेका छन् ठूला दलहरु ।
वर्षदिनपछि नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति गर्न राष्ट्र संघमा बहस चलिरहेको छ । तर नेपालको १८ खर्बको बजेटमा आधाभन्दा बढी बेरुजु छ, २७ खर्बभन्दा बढी राष्ट्र ऋणमा डुबेको छ । उत्पादन, उद्योग, निकासी केही छैन । व्यापारघाटा १४ खर्ब पुगिसकेको छ । यस्तो मुलुक विकाशशील बनेर के हुन्छ ? जब शान्ति, स्थिरता, पद्धतिप्रति जनविश्वास नै छैन भने यो राष्ट्र असफल हुने जोखिममा छ । भूराजनीतिको भूमरीमा परिसकेको छ । स्पष्ट राष्ट्रियनीति लङ्गडो बनेको छ, परम्परागत पञ्चशील र असंलग्नताबाट धरमराएको छ । प्रधानमन्त्री एससीओ बैठकमा सहभागी हुन चीन गए । समाचार आयो, चीनको सुरक्षानीतिमा नेपाल सहमत भयो रे । प्रमका सल्लाहकार युवराज खतिवडाले भनेका छन्– त्यस्तो सहमति भएको छैन । जब आफ्नै मुलुक आफ्नो भन्ने स्थिति छैन, जब संसदमा सबै दलको समर्थन लिएर प्रधानमन्त्री विदेश यात्रामा जाँदैनन्, त्यस्तो देशलाई बिभाजन गर र स्वार्थ सिद्ध गर भन्ने नीतिमा विदेशी लाग्छन् । नेपाल त्यही रोगबाट ग्रसित बन्नपुगेको छ । प्रम ओलीमाथि प्रश्न उठिसकेको छ, उनले स्पष्ट पारिसकेका छैनन् ।
भूराजनीतिका कारण नेपालले फुकी फुकी पाइला चाल्नुपर्ने समय हो । तर शासक प्रशासकहरु निर्धक्क देशलाई लुटिरहेका छन् ।
बिकिनी किलर चाल्र्स शोभराजले भनेका थिए– नेपालमा पैसा भएपछि जे पनि गर्न सकिन्छ । हो, यो १८ वर्षमा नेपालमा हरेक पद खरिद बिक्री भएको देखियो । लोकतन्त्रवादी हुँ भन्ने पार्टीहरु हरेकले पद बेचेका छन् । पदको दुरुपयोग गरेका छ्न । सांसद पद समेत दाइजोमा दिएको उदाहरण पनि छ । राज्यलक्ष्मी गोल्छाले त ७ करोड दिएर सांसद बनेकी थिइन् । गर्ल फ्रेण्डलाई सांसद बनाए, राजदूत, मन्त्रीले मानव बेचबिखनमा हात हाले । मन्त्रीलाई जापानजस्तो मुलुकबाट फर्काइयो । सेनाका कर्णेललाई लण्डनमा पक्राउ गरेर थुनियो, केश चलाइयो । अर्थात्, दण्डहीनताको मूल्य राष्ट्रले चुकायो, जनताले चुकाए । भारतका प्रख्यात लेखक खुशवन्त सिंहले भनेका थिए– राजनीति बेश्यालय हो । नेपालको राजनीति खुशवन्त सिंहको व्याख्याजस्तो बन्न पुग्यो भन्छन् राष्ट्रवादीहरु ।
प्रजातन्त्रका प्रवर्तक अब्राहम लिंकनले भनेका गएका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । हो, नेपाली गरीव छन्, सबै सत्य बुझेका छन् तर बाध्यतावश तिनैलाई चुन्छन् जो जनवादीका नाममा जनघाती छ । समाजवादीका नाममा समाजविरोधी छ ।
जनताले देखिसके कि नेता र प्रशासकहरू नाङ्गा छन् । नागरिकहरुले विवेकपूर्ण बोल्ने साहस गर्नथाले ।