Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रिय Zen-Z भाइबहिनीहरू

२८ शनिबार , भाद्र २०८२५ महिना अगाडि

प्रिय Zen-Z भाइबहिनीहरू

विदेशी गुप्तचर निकाय र शक्तिहरूद्वारा पालित–पोषित केही नेपाली नागरिकता धारी जासूसहरूले विगतमा हाम्रो राष्ट्रिय भावनामा खेलबाड गर्दै नेपाली कांग्रेस र राजाको सम्बन्धमा दरार उत्पन्न गरेका थिए। यसको परिणामस्वरूप कांग्रेस र राजाबीच मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै पनि प्रतिकूल वातावरण सिर्जना भएको थियो। त्यसपछि न त हाम्रो प्रजातन्त्रले जरै गाड्न सक्यो, न त राष्ट्रियता सबल हुन सक्यो। हाम्रो देश विदेशीहरूको स्वार्थ परीक्षण गर्ने एउटा प्रयोगशालामात्र बन्न पुगेको थियो।

लामो इतिहास बोकेको नेपाली कांग्रेस आफ्नै संगठनभित्र प्रवेश गर्ने खराब तत्वहरूलाई रोक्न सजग हुन सकेन। त्यस्तै, राजाले पनि प्रतिकूल ग्रह–नक्षत्रका संकेतहरूलाई बुझ्न सकेनन्। फलस्वरूप, देश संकटको भुमरीमा फस्यो। त्यसै कारण आजसम्म पनि नेपाली जनताले निरन्तर दुःख भोगिरहेका छन्। यदि इतिहासका ती ठक्करहरूबाट पाठ सिकेर हामी सबैले २०४७ सालको राजनीतिक उपलब्धिलाई अक्षुण्ण राख्न सकेका भए, आजको जेन–जेड पुस्ताले यसरी निराशाको आँसु बगाउनुपर्ने थिएन।

प्रिय नवजवान Zen-Z  भाइबहिनीहरू,
आज तपाईंहरूको पुस्ताले सुरु गरेको भ्रष्टाचार विरोधी आन्दोलनले जुन रूप लिएको छ, यसले एउटा अविस्मरणीय इतिहास रच्ने अवसर पाएको छ। मलाई यो आन्दोलन देख्दा महामानव बी.पी. कोइरालाको भविष्यवाणी स्मरण हुन्छ—

“प्रजातन्त्र आएपछि एकपटक देशमा सुकीलामुकीलाहरू हावी हुनेछन्। त्यसको विरुद्धमा नवजवानहरूले विद्रोह गर्नुपर्ने हुन्छ। त्यसपछि स्थापित भएको नेपालको प्रजातन्त्रले देशमा समृद्धि ल्याउनेछ।”

बी।पी। कोइरालाको यो भनाइ आजको परिवेशसँग प्रत्यक्ष सम्बन्धित छ। बी।पी। स्मृति दिवस र भदौ २३ गतेदेखि सुरु भएको Zen-Z  को भ्रष्टाचार विरोधी आन्दोलन, दुवै सन्दर्भ अहिले अत्यन्तै सान्दर्भिक बनेका छन्। अब हामी सबै नेपाली दाजुभाइ–दिदीबहिनीहरूले मिलेर बी।पी। कोइरालाको सपना साकार पार्नुपर्छ। देशभित्रका सबै शक्ति र शासन प्रणालीलाई स्थिर र दिगो बनाउनै पर्छ।

मेरो धारणा स्पष्ट छ— २०४७ सालको संविधान नै हाम्रो देशलाई सही बाटोतर्फ डोर्याउने ऐतिहासिक दस्तावेज हो।

स्मरणीय छ, राजा महेन्द्रले बी.पी. कोइरालाबारे भन्नुभएको थियो—
“बी.पी. जस्तो प्रधानमन्त्रीसँग काम गर्न पाउनुमा आफूलाई अहोभाग्य ठान्दछु।”
यो भनाइ बी।पी। कोइरालाको जेल जर्नल मा समेत उल्लेखित छ।

त्यो समय बी।पी। र महेन्द्रबीच मात्र राजनीतिक सम्बन्ध थिएन, उहाँहरू असल मित्र पनि हुनुहुन्थ्यो। युवराज पद त्याग गर्न तयार भएका युवराज महेन्द्र र राजा त्रिभुवनबीचको आन्तरिक सहकार्यमा समेत बी।पी। कोइरालाले महत्वपूर्ण भूमिका खेलेका थिए।

आज हामीलाई त्यस्तै नेताको खाँचो छ— जस्तो बी.पी. र महेन्द्र हुनुहुन्थ्यो। जहाँ राष्ट्रियताको प्रतीक राजसंस्था र प्रजातन्त्रको प्रतीक नेपाली कांग्रेस दुवै खुट्टाले टेकिरहेको सबल संयोजनमा देश उभिएको होस्। जसका कर्मले समाजवादको प्रतिफल समान रूपले प्रत्येक नेपालीसम्म पुगोस्, र जसले बलियो राष्ट्र र समृद्ध नागरिक निर्माण गरोस्।

जय नेपाल