
गत भदौ २३ र २४ गतेको नरसंहारपछि देशमा संवैधानिक र कानुनी संकट सुरु भएको भनिदैछ । त्यसो त गत असोज ३ गते असक्षम गणतन्त्रवादीहरुले कथित रुपमा संविधान दिवस मनाए, भोज खाए । देशमा १० वर्षे संविधान असफल भइसकेको अन्यौलको वीच संविधान दिवस मनाउने नाटक किन गरियो ? संविधान असफल भएपछि स्वयम् राष्ट्रपतिले संसद बिघटन र संविधानविपरित अन्तरिम सरकार गठन गरेपछि आगामी फागुन २१ गते मध्यावधि चुनाव घोषणा गरिएको छ । बलियाले चाहेअनुसार हुने अघोषित र अलिखित कानुन छ, परिवर्तन सडकबाट हुन्छ भन्ने फेरि प्रमाणित भएको छ । जेनजी पुस्ताको आन्दोलनले व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका सबैलाई प्रहार गरेर परिवर्तन आयो । यो परिवर्तनले सुशासन, भ्रष्टमाथि कारवाही, समानता, संघीयताको अन्त, अन्तरिम संविधान, प्रत्यक्ष राष्ट्रपतीय वा प्रधानमन्त्रीय व्यवस्था लगायतका गम्भीर माग अघि सारेको थियो । ७४ जना बालबालिकाको हत्या गरियो, परिवर्तनको नाममा केपी ओलीको ठाउँमा सुशीला कार्कीको पदस्थापन गरियो ।
षडयन्त्र भयो, जेनजी पुस्तामा गुट उपगुट खडा गरियो । संविधान चाहिने रहेछ भन्ने गुट पनि देखियो । राजा चाहिने रहेछ भन्ने पनि खडा भए । कतिपय जेनजीहरु राजतन्त्रलाई पनि समेटेर जानुपर्छ भन्नेहरु पनि छन् ।
प्रष्ट सन्देश के हो भने नवयुवाहरुको त्याग र बलिदान वर्तमान संविधान खारेज गरेर भ्रष्टहरुमाथि कारवाही र सुशासनकै लागि हो । सुशासन हुन्न भने हामी पनि गोली खान तैयार छौं भन्न थालेका छन् सहीदका आमाहरु । यथार्थ कुरो के हो भने निषेध, विभेद, नेपोटिजम र नेपोबेबीका कारण असन्तुष्टि बढेको हो । बढ्दो असन्तुष्टिलाई संवोधन गर्न सहमति, संवाद र सहकार्यमा आउनैपर्छ । यसपछि सुरु हुन्छ, सिद्धान्त, नीति, नैतिकता, आचरण र सुशासन । यसकारण यो संविधान खारेज गरेर सबैलाई समेट्ने र जनताले अपनत्व लिनसक्ने संविधान निर्माण गर्न अत्यन्त जरुरी छ । यसो गर्न सकिएन भने फागुन २१ को चुनावले देश र नयाँ पुस्ताको भविष्यलाई झन बढी अन्धकारमा धकेल्नेछ । संविधान संशोधनको कार्यादेश बोकेर बनेको दुई ठूला दल कांग्रेस एमालेको सरकारले डेढवर्ष भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई संरक्षण गर्न बितायो । राजनीतिको अपराधिकरण ग¥यो । अब त संसद नै छैन, कसरी संविधान संशोधन हुनसक्छ र ? यसकारण पनि संविधान नयाँ लेख्नैपर्छ, सबैलाई समेट्ने र असन्तुष्टि संवोधन हुने संविधान जारी हुनुपर्छ ।
एमाले, कांग्रेस, माओवादीका बिसौंलाख कार्यकर्ता कता थिए जेनजी आन्दोलन हुँदा ? यसको अर्थ जनअसन्तुष्टि संवोधन गर्न कुनै पार्टी, नेता, कार्यकर्ता अग्रसर रहेनछन् । फेरि सर्वस्वीकार्य संविधान लेखिएन भने पुनःपुनः देशमा यसैगरी कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकामा डढेलो सल्काइरहने ? यसकारण राजनीतिक र परम्परागत शक्ति राजतन्त्रलाई समेत समेटेर संविधान लेखिनु उत्तम हुनेछ । यो चुनावमा पनि आउने यिनै भाडाका, राष्ट्रघातक, जनघातक, भ्रष्टहरु नै हुन् । नयाँ पुस्ताले देशलाई हाँक्न र नवनिर्माणका लागि पनि नवपुस्ताले देश हाँक्नुपर्छ । यिनले कति देश र जनता लुटेका रहेछन् भन्ने त २३ र २४ गतेको आन्दोलनका परिदृश्यले देखाएकै छन् । अब पनि यिनलाई देशको बागडोर सुम्पनु भनेको फेरि पनि लुट्ने लाइसेन्स दिनु हो । देशलाई दण्डहीनताको हाइटी बनाउनु हो । नागरिकलाई बेच्ने सुविधा दिनु हो । देशलाई कंगाल बनाउनु हो । नवयुवाले रगत बगाएको, ज्यान दिएको अर्थ भ्रष्टहरुलाई रक्तपिपासु ड्य्राकुला बनाउन होइन ।
पार्टीका भ्रष्टहरु किनारा लागेका छन् । प्रशासनका भ्रष्टहरु मुटु कमाएर बसेका छन् । तिनलाई तङ्ग्रिन दिनुहुन्न । बिस्तारै तिनीहरु स्वार्थका डम्फु बजाउने रिहर्सल गर्न थालेका छन् । जनतालाई फेरि भ्रम छर्न र राजनीतिमा षडयन्त्र गर्न सुरु गरिसकेको अनुभूति भइसकेको छ । आफूले गरेका लुटतन्त्र पुनस्र्थापित गर्न यिनले न्वारानको बल लगाउने छन् । लुटतन्त्र बिस्थापित गर्ने हो भने जेनजी पुस्ताले आफूले सुरुमा उठाएका सवालहरुलाई बिर्सनु हुन्न । जेनजी पुस्तामा देशको पर्याप्त जानकारी छ । यसकारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकामा रहेका कुडाकरकड, फोहर, ऐंजेरु सबै बढार्ने समय यही हो । नवयुवाहरु ७४ भन्दा बढीले ज्यान दिएका छन्, हजारौं घाइते छन्, सबैको आशा र आस्था भनेको सुशासनतिर हो, स्थिरता र समृद्धि हो । यसतिर अहिले ध्यान नदिए कहिले दिने ?