
यी हुन् तनुजा पाण्डे । जेनजीका सकृय नवयुवा । जेनजीले २७ घण्टामा भ्रष्टाचारमा ठडिएको सरकार ढाले । बिजयी भए, नवपुस्ताले तमाम प्रकारका भ्रष्टाचारको अन्त गर्ने माग गरेका हुन् । भ्रष्टहरुको साम्राज्य ढल्ला कि नढल्ला ?
यो परिवर्तन ७४ भन्दा बढी युवाको रक्तपात पछि आएको छ । नेपालको इतिहासमै यो सबैभन्दा ठुलो युवाहरुको रक्तपातको घटना हो । महगो मूल्य आमाहरुले चुकाए, परिवार र देशले चुकायो । यो मूल्यमा देशमा सुशासन, समृद्धि आउनुपर्ने हो, भ्रष्ट र घातकहरु जेलमा कोचिनुपर्ने हो, दण्ड पाउनुपर्ने हो ।
बिद्रोही युवा तनुजा पाण्डे भन्छिन्– “हामी गर्व गर्छौं, तर आघात, पश्चाताप र क्रोधको मिश्रित झोला पनि छ ।“ अब त बुढोपुस्ताले चेत्नुपर्ने हो । युवा विद्रोहको कारण र तिनले खोजेको सुशासन स्थापित हुनुपर्ने हो । युवापुस्तालाई देशको जिम्मा दिनुपर्ने हो । पुस्तान्तरण अहिले नभए कहिले हुने ?
लोकतन्त्रका नाइकेहरुको कृयाकलाप युवापुस्ताले अस्वीकृत गरिसके । यो अस्वीकृति घर, परिवार, समाज, पार्टी र देशभरि नै फैलिएको छ । अब युवाले खोजेको स्वीकृति र सहमस्तित्व, सुशासन र अवसर आउनुपर्ने हो ।
१० वर्षअघिको भूकम्पमा ९ हजार मारिए, यो संविधानको १० वर्ष, लोकतन्त्रको १८ वर्ष त्यो भूकम्पभन्दा भयानक थियो, सबैले यो भय अनुभूति गर्नैपर्छ ।
बिनास देशैभरि भयो, किनकि असन्तुष्ट जेनजी जमात देशैभरिबाट उठे । निर्माण यसैगरी देशैभरिबाट उठ्नुपर्छ । सुशासनका लागि सबै जुट्नुपर्छ । युवा जुटे र सुशासन स्थापित भयो भने देश उठ्छ, जगैदेखि, देश बन्छ ।
जेनजी पुस्ता देशको वर्तमान, भविष्य पनि हुन् । शासन, प्रशासन, सत्ता, राजनीति सबैतिर जेनजीको सुनवाई होस् । जेनजी पुस्तालाई कम नआँकियोस् ।