Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

नेपालमा बढी बिक्ने षड्यन्त्र सिद्धान्त (Conspiracy theory) र बिगत देखि बर्तमानसम्मका खेल

११ शनिबार , आश्विन २०८२६ दिन अगाडि

नेपालमा बढी बिक्ने षड्यन्त्र सिद्धान्त (Conspiracy theory) र बिगत देखि बर्तमानसम्मका खेल

षड्यन्त्र सिद्धान्त (Conspiracy theory) भन्नाले कुनै ठूला घटना, निर्णय वा सत्तासंघर्षको पछाडि देखिनेभन्दा धेरै गहिरो र गोप्य योजना रहेको छ भन्ने दाबीलाई जनाइन्छ। प्रायः यस्ता दाबी तथ्य र प्रमाणभन्दा बढी अनुमान, शंका र भावनामा आधारित हुन्छन्। समाजमा जब अविश्वास, निराशा र अनिश्चितता बढ्छ, त्यही बेलामा यस्ता सिद्धान्तले सहज उत्तर दिने जस्तो देखिन्छ र जनतालाई भावनात्मक रूपमा आकर्षित गर्छ।

यसले काम गर्ने तरिका सरल देखिए पनि प्रभावशाली छ र जनता झुक्याउन बलियो अस्त्र बन्छ । जब जनता कुनै घटना बुझ्न गाह्रो ठान्छन् वा सरकार, नेताहरू र संस्थाप्रति अविश्वासी हुन्छन्, त्यसबेला बिदेशी शक्ति, दलालहरु, “गोप्य शक्ति”, गम्भिर षडयन्त्र जस्ता शब्दजालको कथा बुनेर सजिलो र रोमाञ्चक व्याख्या गर्दै यो षड्यन्त्र सिद्धान्त (Conspiracy theory) ले मानिसलाई भ्रमित बनाउँन मद्दत गर्दछ । सामाजिक सञ्जाल र मिडियाले आधा-सत्यलाई जोडेर फैलाउँछन्, पुरानो आक्रोश र राष्ट्रवादलाई जागृत पारिन्छ। मानिसले पहिले नै विश्वास गरेको कुरा पुष्टि गर्ने सूचनामात्र खोज्ने प्रवृत्ति (confirmation bias) ले यस्ता कथालाई झनै बलियो बनाउँछ।

राजनीतिमा षड्यन्त्र सिद्धान्त (Conspiracy theory) किन बढी प्रयोग हुन्छ भन्ने कुरा स्पष्ट छ। पहिलो, प्रतिस्पर्धीलाई कमजोर पार्न सजिलो हुन्छ। कसैलाई “विदेशीको एजेन्ट”, “देश बेच्ने”, “जनतालाई धोका दिने” भनेर आरोप लगाउँदा प्रमाणभन्दा भावनाले काम गर्छ। दोस्रो, आफ्नै असफलता र गल्ती ढाकछोप गर्न “बाहिरी शक्ति” वा “सत्ताविरोधी षड्यन्त्र” को कथा उपयोगी हुन्छ। तेस्रो, जनता असन्तुष्ट हुँदा उनीहरूलाई भावनामा उक्साएर समर्थन जुटाउन सजिलो हुन्छ। चौथो, समाजलाई दुई भागमा विभाजन गरेर आफ्नो स्वार्थ प्रेरित राजनीति गर्न सजिलो हुन्छ।

नेपाली राजनीतिमा षड्यन्त्र सिद्धान्त (Conspiracy theory) र यो प्रवृत्ति गहिरो छ। नेपालको ऐतिहासिक अस्थिरता, भ्रष्टाचार, कमजोर शासन, विकासमा ढिलाइ र विदेशी प्रभावबारे शंका गर्ने संस्कृतिले षड्यन्त्र सिद्धान्तलाई बढवा दिएको छ। जनता आफ्ना नेताहरू र संस्थामाथि भरोसा गर्न सक्दैनन्, त्यसैले “लुकेका खेल” को कथा छिटो विश्वास गर्छन्। नेपालका ९५ प्रतिशत राजनीतिका विश्लेषक र बुद्धिजिबी भनाउने हरुको काम नै यहि षड्यन्त्र सिद्धान्त (Conspiracy theory) को ब्यापार गर्नु हो । यस्तै हावादारी कुरामा हामी नेपाली जनता सधै रनभुल्ल छौं र चेत खुलेन भने परिरहने छौं ।

केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम, माधवकुमार नेपाल, शेरबहादुर देउवा, आरजु राणा देउवा लगायतका नेताहरूले पटक पटक षड्यन्त्र सिद्धान्त (Conspiracy theory) लाई राजनीतिक हतियार बनाएका छन्। धुर्त ओली, प्रचण्ड, रवि षड्यन्त्र सिद्धान्त (Conspiracy theory) को ब्यापारमा अबल देखिएका छन् भने अरु पनि पछि पछि देखिन्छन । प्रचण्डले आफ्नो जनयुद्धलाई “साम्राज्यवाद र प्रतिक्रियावादीहरूको षड्यन्त्रविरुद्धको संघर्ष” भनेर समर्थन जुटाए। माधव नेपालले पार्टी फुटलाई “बाहिरी चलखेल” भनी चित्रित गरे। शेरबहादुर देउवा र उनका वरिपरिको नेतृत्वले पनि प्रायः आफ्नो कमजोरी ढाक्न विदेशी हस्तक्षेप, दरबारिया खेल, वा विरोधी दलको गुप्त षड्यन्त्र भनेर प्रस्तुत गरे। रविले सहकारी काण्ड लुकाउन अनेक अनेक भाषा प्रयोग गरे र गर्दै छन् समग्रमा षड्यन्त्र सिद्धान्त (Conspiracy theory) बाट कुनै दल, कुनै नेता अलग छैन, मात्रा थोरै धेरै मात्र हो ।

कम्युनिस्ट विचारधारा भएकाहरुमा यो प्रवृत्ति अझै प्रबल छ। कम्युनिजमले वर्गसंघर्षलाई आधार मान्छ “हामी (श्रमजीवी वर्ग) विरुद्ध उनीहरू (पूँजीपति, साम्राज्यवादी, प्रतिक्रियावादी शक्तिहरू)”। यो सोचले स्वाभाविक रूपमा शत्रु निर्माण गर्छ र हरेक असफलता बाहिरी वा गुप्त शक्तिले गराएको हो भन्ने तर्क सजिलो बनाउँछ। इतिहासमै हेर्दा सोभियत संघदेखि चीन, उत्तर कोरिया, क्युबा, भेनेजुएला सम्म कम्युनिस्ट नेतृत्वले आफ्ना नीतिगत असफलता र जनअसन्तुष्टिलाई “विदेशी शत्रु” को चाल भन्दै ढाकेको छ। नेपालमा पनि त्यही नक्कल हुँदै आएको छ।

उदाहरणका रूपमा हालैको GenZ आन्दोलनलाई पनि “विदेशी शक्तिको खेल” वा “पुराना राजावादी वा प्रतिक्रियावादीको षड्यन्त्र” भनेर प्रचार गरियो। अघिल्ला राजनीतिक घटनाहरू मदन भण्डारी र जीवराज आश्रितको दाशढुंगा दुर्घटना, राजा वीरेन्द्र र दरबार हत्याकाण्ड, चूच्चे नक्सा विवाद, महाकाली र कोशी सन्धि, लिपुलेक र कालापानी विवाद यी र यस्ता कयौं सवालमा, हरेक प्रकरणमा नेताहरूले जनभावनालाई उक्साउन र आफ्ना स्वार्थ बचाउन षड्यन्त्र सिद्धान्त (Conspiracy theory) प्रयोग गरे, षड्यन्त्रको कथा बुने। यस्ता घटनाबारे वास्तविक अनुसन्धान अपूरो हुँदा वा निष्कर्ष स्पष्ट नहुँदा अनुमानले ठाउँ पाउँछ र षड्यन्त्र सिद्धान्तले जनमत कब्जा गर्छ।

यसले समाजमा गहिरो असर पार्छ। सत्य खोज्ने प्रयास कमजोर हुन्छ, भावनामा राजनीतिलाई चलाउने बानी बस्छ, जिम्मेवारीबाट नेता र पार्टी उम्किन्छन्। लोकतान्त्रिक संस्थाहरूमा विश्वास घट्छ र जनता अझै निराश र दिशाहीन हुन्छन्।

निष्कर्षमा भन्नुपर्दा, नेपालमा षड्यन्त्र सिद्धान्तको संस्कृति ऐतिहासिक अस्थिरता, नेताको सत्ता स्वार्थ र जनताको गहिरो अविश्वासबाट जन्मिएको हो। विशेषगरी कम्युनिस्ट र शक्तिप्रेमी दलहरूले यसलाई प्रचार र नियन्त्रणको हतियार बनाएका छन्। जबसम्म तथ्य, पारदर्शिता र जवाफदेहितामा भरोसा बढाइँदैन, यस्ता कथाले राजनीति र समाज दुवैलाई भ्रम र विभाजनतर्फ लैजाने खतरा रहिरहन्छ। सबैलाई चेतना भया !