
२०६३ को जनआन्दोलनको सफलता र राजाले बिघटित संसद पुनस्थापना गरिदिएपछि गिरिजाप्रसाद कोइराला अन्तरिम सरकारका प्रम बनेपछि उनले आफैलाई कार्यवाहक राष्ट्राध्यक्षसमेतको स्वघोषणा गरेका थिए ।
त्यसपछि माओवादी जनयुद्धको बलमा पुस्पकमल दाहाल प्रधानमन्त्री बने । उनी असफल भएपछि माधवकुमार नेपाललाई प्रम बनाइयो । एमालेका झलनाथ खनाल, माओवादीका बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, कांग्रेसका सुशील कोइराला पालैपालो प्रधानमन्त्री बनेका थिए । ८ वर्षमा संविधान बनाउन नसकेपछि नवौं वर्षमा फास्ट ट्य्राकबाट संविधान घोाषणा गरियो, केपी ओली प्रधानमन्त्री बने । ओलीपछि पुनः प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड हुँदै पुनः केपी ओली नै प्रधानमन्त्री बनेका थिए । अर्थात् २०४६ सालपछि र २०६३ पछि पनि यिनै कांग्रेस, एमाले, माओवादीकै हातमा सत्ता चलिरह्यो । यिनैले मनलाग्दी तरिकाले बहुदल र लोकतन्त्रलाई पनि चलाए, फरियावादले सत्तामा रजगज गरिरहे । नेपोटिजम, नेपोबेइजम, फासिजम, नेताइजमको बिरूद्ध देशव्यापी असन्तुष्टि बढिरहेको थियो । अन्ततः गत भदौ २३ गते जेनजी पुस्ताको ज्वालामुखी फुट्यो । यिनको मनपरीतन्त्रलाई ज्वालामुखीले खरानी बनाइदियो ।
कतिपयले अन्तरिम सरकारले जेनजी पुस्ताको भावनामाथि खेलबाड गरेको, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल दह्रो खुट्टा टेक्न नसकेको टिप्पणी सुरू भइरहदा, जेनजी पुस्ताले आफ्ना मागबारे प्रधानमन्त्री र राष्ट्रपतिसँग राखेर छलफल गर्न चाहेको बताएका छन् । उनीहरूको प्रमुख मागमा संविधानको खारेजी र प्रत्यक्ष राष्ट्रपति अथवा प्रधानमन्त्रीको चुनाव हुनुपर्ने रहेको छ ।
जेनजी पुस्ता बिजयी भइसकेका छन् । नयाँ पुस्तालाई नजरअन्दाज गर्न सकिने अवस्था छैन । फेरि हेपियो भने अर्को बिद्रोह हुनेस्थिति देखिन्छ ।
गत बिहीवार प्रधानमन्त्रीको राष्ट्रका नाममा आएका सन्देशप्रति जेनजी पुस्ता नाखुस रहेको छ । प्रम सुशीला कार्कीले संविधानमा टेकेर चुनाव गर्ने कुरा अघि सारेपछि जेनजी पुस्ता गम्भीर भएर एकताका साथ अघि बढ्दैछ । जेनजी पुस्ताको त्याग र बलिदानमा खेलाची भए नतिजा गम्भीर हुनसक्ने देखिन्छ । प्रकृयामा संविधान संशोधन जेनजी पुस्ताले मान्नसक्ने देखिदैन ।
जेनजी पुस्ताले २७ घण्टामा गरेको उथलपुथललाई कसैले कम नआँकौं ।