
आन्दोलन, फेरि आन्दोलन । आन्दोलनका एकपछि अर्को धम्की आइरहेका छन् । भदौ २३ र २४ को नरसंहारपछि थिलथिलो बनेका नेपाल र नेपालीहरु आइरहेका यी धम्कीबाट त्रसित छन् । अझै मुलुकले कति धनजनको क्षति व्यहोर्नुपर्ने हो ? कहिले स्थिरता र शान्ति आउला ? आमनागरिकको चिन्ताको विषय यही हो । आगामी भदौ २३ मा फेरि आन्दोलन हुन्छ भन्छन् एकथरि जेनजीहरु, अर्काथरि सत्ताको भाषा बोलिरहेका छन् । यता अभियन्ता दुर्गा प्रसाईले तिहारपछि आन्दोलन गर्ने बताइसकेका छन् । राप्रपाले पनि आन्दोलन गर्छौं भनेर धमास दिएको गत जेठतिरै हो । गत भदौ २३ र २४ मा पिटाइखाएका, घरसम्पत्ति जलाइएका दल, नेता तथा तिनका भातृ संगठनहरु बदला स्वरुप आन्दोलनका नाममा हिंसा गर्ने फुइँकी सुनिएकै छ । अर्थात् एकपछि अर्को आन्दोलन ! स्थिरता कि झन ठूलो खाडलमा जाकिने हौं ? नेपालमा जे जति आन्दोलन भए सबै अधुरो र अपुरो नै भए । हरेक आन्दोलनमा विदेशी घूसपैठ भएका कारण नेपाल र नेपालीले स्थिरताभन्दा बर्बाद हुनेमात्र काम भयो ।
जेनजीको आन्दोलन, त्यसपछिको बिद्रोहको लक्ष्य ओली नेतृत्वको सरकारको बिस्थापनमात्र थियो त ? कि फागुन २१ को चुनाव तोक्नुमात्र लक्ष्य थियो ? भ्रष्टाचारको उन्मुलन, प्रत्यक्ष कार्यकारीको चुनाव एकथरि जेनजीको माग थियो भने अर्काथरिले राजासहितको संविधान भनेका थिए । सबैथरिको माग संवोधन गर्न संवाद, सहमति र सहकार्य जरुरी छ । तव निकास निस्केला ? जेनजीको माग आमनेपालीको माग थियो । त्यसलाई हाइज्याक गरेर संविधान बचाइयो भन्ने आत्मरती भगौडा संविधानवादीको छ भने विदेशी चिनियाँ काखमा बस्नेहरुलाई पन्छाइयो भनेर खुशी हुने पनि छन् । आइएनजीओहरु बढी खुशी हुनु पनि अर्थपूर्ण छ ।
प्रश्न छ, जेनजीका माग पूरा हुनेकुरै छैन । त्यसपछि मुलुक कसरी कायापलट हुन्छ त ? यसकारण सबै पक्षलाई समेटेर अर्को संविधान लेख्नुको बिकल्प छैन । चीरकाल पर्यन्त शान्ति, स्थिरता, विकासको चाहना गर्ने हो भने नयाँ संविधान निर्बिकल्प आवश्यकता हो । ढाल्ने, ढल्ने, मिल्ने मिलाउने अनि काले काले मिलेर खाउँ भाले गर्ने हो भने भोलि यिनै जेनजीबाट सरकारको नेतृत्वमा गर्न पुगेकाहरुले नै रामधुलाई भेट्ने खतरा सन्निकट देखिदै गएको छ । यसकारण तरल राजनीतिले कस्तो आकार लिन्छ, भन्न सकिन्न । धेरै चुरीफुरी नगर्दा बेश हुनेछ ।
०६३ पछि माओवादी सर्वशक्तिशाली भएकै हो, आज त्यो माओवादी कता छ ? कस्तो हालतमा छ ? त्यसकारण समय बलवान छ, समय सधैं आफ्नो पक्षमा हुँदैन भनेर जेनजी पुस्ताले पनि बुझ्दा राम्रो । बुद्धि पु¥याएर आमनेपाली, आमजेनजीहरुको चाहना के हो ? यसमा टेकेर उभिनसके पहाड बन्न सक्ने मौका छ । बिस्तारै यो अन्तरिम सरकारले उही कांग्रेस, एमाले, माओवादीको रणनीतिमा चल्न थालेको आभाष सबैले पाउन थालिसकेका छन् । एकथरि जेनजीले भदौ २३, २४ मा नयाँ संविधानको कुरा उठाएपछि राष्ट्रपति निवासमा पार्टीहरुले नै राजालाई स्पेश दिने प्रस्ताव उठाए, प्रस्ताव निर्मल निवास पनि पठाए । सबैले सहमति पत्रमा सही गरेको लिखित खोजेर नपाएपछि राजाले इन्कार गरेको कुरा पनि सार्वजनिक भएकै हो । त्यसपछि राजनीतिले यू टर्न लियो, सुशीला प्रधानमन्त्री बनिन्, सुदन गुरुङ जेनजीका अगुवा बने । कता पुग्यो, ७६ जना नवयुवाको ज्यानको त्याग, बलिदान ?
स्थिति जिसका लाठी उसका भैंसतिर उन्मुख छ । शान्ति, स्थिरता, सुशासन, समानता, समृद्धि जुन जेनजी पुस्ताको माग थियो, सेलाउँदै गएको छ । यही संविधान अन्तर्गत फागुन २१ मा चुनाव भयो र संसद पुनस्र्थापना भयो भने ठूला दल र जेनजी दुबैलाई मान्य होला ? त्यसपछि अर्को आन्दोलनका लागि भ्रष्टाचारीलाई तह लगाउन आमनागरिकले नै सडकमा उत्रनु पर्ने हो ? ७६ जना नवयुवा मारिए, एकजनालाई पनि सुशीला सरकारले पक्राउ गर्न सकेन । कसैलाई पनि जिम्मेवार बनाउन सकेन । छानबिनको नाटक गरिएको छ, छानबिन गर्ने गौरीबहादुर कार्कीमाथि नै मिडिया ट्रायल सुरु भइसक्यो । पश्चिमाको गोटी भनेर बालेन साहमाथि आक्रामण जारी छ । शुद्ध जेनजीहरुले राजनीतिक षडयन्त्र, विषयान्तर र पुनः भ्रष्टाचारी, राष्ट्रघातीहरु नै अगाडि आउने वातावरण बन्दै गएको षडयन्त्र बुझ्ने कहिले ? जेनजी पुस्ता, आम नेपाली निराश हुनथालिसकेका छन्, देशलाई पुनः परास्त हुननपरोस्, भ्रष्टहरुमाथि कारवाही होस्, सचेत हुनु जरुरी छ ।