
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूबीचको संवादको तिक्ततालाई तोड्ने प्रयास स्वरूप सर्वदलीय बैठक आह्वान गरका छन् । राष्ट्रपतिले सर्वदलीय बैठक आज दिउँसो ४ बजेका लागि आह्वान गरेका छन् ।
भदौ २३ र २४ को जेनाजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको वर्तमान राजनीतिक परिवेशमा राजनीतिक दलहरूबीच संवादको खडेरी तोड्ने प्रयास स्वरूप सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठकमा प्रधानमन्त्री सुशीला कार्की लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ ।
आगामी फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा पनि सरकार र राजनीतिक दलहरूबीच अपेक्षित संवाद हुन नसकेको अवस्थामा बोलाइएको सर्वदलीय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राष्ट्रपतिले निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्नका लागि दलहरूबीच सहमति र सहकार्य अपरिहार्य हुने बुझाइका साथ बैठक आवहान गरेका हुन् ।
यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको र उक्त भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण तयार पार्न सुझाव दिएको बताइएको छ । भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको र सरकार पनि निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सबै तयारीमा जुटेको जानकारी गराएकी थिइन् ।
मुख्यतया निर्वाचन आचारसंहिताको पालना, सुरक्षा व्यवस्थापन, दलहरूबीचको सौहार्दपूर्ण प्रतिस्पर्धा र समग्र चुनावी प्रक्रियालाई कसरी थप विश्वसनीय बनाउन सकिन्छ भन्ने विषयमा छलफलका लागि आव्हान गरिएको सर्वदलीय बैठकमा चुनावी माहोललाई थप घनिभूत बनाउने तथा दलहरूबीचको दूरी घटाएर एक साझा समझदारी निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।