Advertisement Banner
Advertisement Banner

०६ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

जेनजीलाई समय दिएर हेरौं

२८ मंगलबार , आश्विन २०८२८ दिन अगाडि

जेनजीलाई समय दिएर हेरौं

नेपाली चाँडै नै बिर्सने बानी भएका हुन्छन् । महिना दिन अघि लूट मच्चाउने लोकतन्त्रवादी नेतालाई भाग्न, लुक्न बाध्य पार्ने जेनजी पुस्ताले बाटो बिराए, ७७ जनाको हत्या गर्नेहरू तिनै जेनजी पुस्तालाई गाली गर्न थालिसकेका छन् । सिंहदरवार, संसद, अदालत खरानी भयो, व्यक्तिगत सम्पत्ति लुटियो, तोडफोड भयो, जलाइयो । अब गाली खाने पालो बालेन साहको, सुदन गुरूङको । यहाँसम्म कि वालेन साहलाई लुसिफर (सैतान) समेत भनियो । पार्टी नेताहरूले समेत भेडाको बथान झैं गाली गरिदैछ । प्रचण्ड, ओली, देउवाले मच्चाएको भ्रष्टाचारको बितण्डा बिर्सन थालिसके । वालेन र सुदनहरूलाई विदेशी एजेण्ट भनिदैछ । ओली, प्रचण्ड, देउवाहरू नै शुद्ध भएझैं विषयान्तर गरिदैछ ।
देश नै डुबाउने खालका भ्रष्टाचार, राष्ट्रघातलाई कति चाँडो बिर्सन सकेको हामीले ? कथा छ नाग र साँपको । चोर डाँकुमा कुन रोज्ने ? पनि भनिन्छ । यस्तो अवस्था छ आज देशमा । भन्नैपर्छ, कम खतरनाकलाई रोज्नुपर्छ, रोज्दा । भोलिका दिनमा बालेन र सुदनहरू अझै खतरनाक देखिएलान् । असम्भवछैन । तर आज चर्चा गर्दा बालेन सुदन र अन्य जेनजीका घटकरूलाई स्वावासी दिनैपर्छ । कम्तिमा सिण्डिकेटको राजनीतिलाई त स्वाद चखाए । आगामी दिनमा के हुन्छ ? सबै जेनजी पुस्ताको काँधमा छ शिरोभारो । स्वच्छ चुनाव गराउने । चुनाव हुन्छ कि हुन्न ? प्रश्न छ तथापि चुनाव हुनुपर्छ र स्वतन्त्र र निष्पक्ष चुनाव होस् । यो यही असफल संविधान मान्नेहरूको माग हो ।  अर्काथरि बहुसंख्यक छन्, तिनीहरू जेनजी पुस्ताले यो संविधान खारेज गर्नुपर्छ, संघीयता हुनुहुन्न भनिरहेका छन् । अभिभावक चाहिन्छ, राजतन्त्रसहितको संविधान र सहमति, संवाद र सहकार्य हुनुपर्छ । यही मार्गमा सत्ता अघि बढाउन सके जेनजी पुस्ताको त्याग र बलिदानको अर्थ हुनेछ । जेनजी पुस्ताको जिम्मेवारी हो, यिनले भ्रष्टहरूले अझै फणा उठाउनु पूर्व तिनको भ्रष्टाचारी दिमाग कुल्चनुपर्छ । राष्ट्रलाई भ्रष्टाचारबाट मुक्त पार्नुपर्छ । द्वन्द्व चर्किन्छ कि भनेर भ्रष्टाचारीहरूलाई छुट दिनुहुन्न । जे जति नोक्सानी हुनु थियो, भइसक्यो, अब निर्माण गर्नुपर्छ र निर्माण अघि भ्रष्टहरूलाई दण्डित गर्नैपर्छ । तिनलाई अनुसन्धान गर्न र कारवाहीको दायरामा ल्याउनैपर्छ ।
जेनजीको महाअभियानलाई गाली गर्ने होइन, शंका गर्ने होइन, विश्वास गर्नुपर्छ र सत्ता र राष्ट्रनिर्माणको अवसर दिनुपर्छ । जेनजीले चाल्ने सुशासनका कदममा सबैले साथ दिनुपर्छ । जेनजीभित्र कुनै गलत तत्व छन् कि गल्ती गर्छन् कि जनता चनाखो हुनुपर्छ, खबरदारी गर्नुपर्छ, सही मार्ग देखाउनु पर्छ । जेनजी पुस्ताले पनि सचेत भएर आफ्ना निर्णयहरू अघि बढाउनुपर्छ । सबैभन्दा मुख्य सवाल भनेको जेनजी पुस्तालाई गुट गुटमा पार्ने षडयन्त्र भएको छ, एकता टुट्नुहुन्न । महिना दिनमै हिजोका भ्रष्ट शासक प्रशासकहरू डुक्रिन थालिसकेका छन् । पुनः तिनकै डाँको ठूलो हुने हो भने जेनजी पुस्ताको आन्दोलनको मर्म बाँकी रहनेछैन ।
हो, जेनजीको आन्दोलनलाई स्वार्थमा उपयोग गर्नेहरू सलबलाएका छन् । यी बिना पिँधका लोटा, मुल्लाहरूले बढी प्याज खान थाल, नेपाल र नेपालीका अपेक्षविपरित निर्णय गर्न थाले भने तिनलाई पनि भोलिका दिनमा आमनागरिक एक भएर लखेट्नैपर्छ । जेनजीहरूले नेपालीको भावनालाई बुझेर सबैलई समेट्दै राष्ट्रको बृहत्तर हितका लागि काम गर्छन् भने, यिनको बिगत खोतल्नु व्यर्थ हो । जो जो जेनजी छन्, तिनलाई काम गर्न दिउँ । तिनक कृयाकलापमा नजर लगाऔं । नयाँ पुस्ता हो, ज्यान हत्केलामा राखेर, कति जेनजीले ज्यान नै गुमाएर आएको परिवर्तन हो यो, परिवर्तनले नयाँ के के काम गर्छ, त्यो मुख्य सवाल हो । जेनजी पुस्तालाई बदनाम गरेर काम छैन । जुन पुस्ताले २७ घण्टामा सत्ता पल्टायो, लोकतन्त्र, संसद, सरकारलाई धुलो चटायो, ठूला नेताहरूलाई भागम्भाग बनायो, त्यो पुस्तामा केही त छ, यिनले केही त गर्छन् । सुशासन यिनले दिने विश्वास गरौं । भ्रष्टाचारको अन्त्य र देशमै गरिखाने वातावरण बनाउँछौं भनेका छन्, अवसर त दिनैपर्छ । पुरानो पुस्ता बदनाम छ, आमनागरिकमा चोर भन्ने छाप परेको छ । नयाँ पुस्ता नयाँ जाँगर र उत्साह लिएर अग्रसर भएका छन् । अलिकति पनि बुद्धि छ भने पुराना पुस्ताले पुस्तान्तरण गर्ने राम्रो अवसर यही हो । अझै हेप्ने । खाइपाई आएको मौजासरह राष्ट्रलाई लुट्ने हो भने योभन्दा खराव दिनहरू आउन सक्नेछन् । यसकारण पनि नयाँ पुस्ताले नयाँ जमाना ल्याउँछ भने किन मौका नदिने ?