Advertisement Banner
Advertisement Banner

०९ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

बिध्वंशपछि निर्माण, निर्माण अघि नैतिकता

राजन कार्की

२९ बुधबार , आश्विन २०८२१० दिन अगाडि

बिध्वंशपछि निर्माण, निर्माण अघि नैतिकता

सकिने कि सच्चिने ? सकिने भए खेल समाप्त । सच्चिने भए नैतिकताको विकास जरूरी छ । नैतिकता भएमात्र विधिको शासन र सुशासन सम्भवछ ।
वर्तमान नेपालको वर्तमान कालखण्ड शासन प्रशासनमा देवासुर सङ्ग्रामजस्तो छ । देवहरू नयाँ पुस्ता हुन् भने असुरहरू अनैतिकतामा उभिएका शासक प्रशासकहरू हुन् ।
२०८२ भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनलाई यसरी मथियो कि त्यो आन्दोलन समुन्द्र मन्थनजस्तो बन्यो । ७६ भन्दा बढी नवयुवाको खली खाएको, रगत पिएको सत्ता ढल्यो, संसद ढल्यो, संविधान ढल्यो, राष्ट्रपति ब्रम्हनालमा पुगेका छन् । त्यसपछि अमृत कसले पिउने भनेर असुरहरू सङ्ग्राममा उत्रिएका छन् । असुरहरूलाई आसुरी प्रवृत्तिले छाडेको छैन । मृत्युको मुखबाट बाँचेका असुरहरू जेनजी पुस्तालाई बिथोल्ने, विभाजन गरेर राज गर्ने अङ्ग्रेजनीतिमा असुरूहरू लागेका छन् । एकदोस्रालाई खुल्याएर, हातेमालो गरेर स्वार्थको राज गरी आएका असुरहरू एक हुने प्रयासमा छन् ।
    भन्न सकिन्न, असुरले जित्छन् कि नयाँ पुस्ताले ? नयाँ पुस्ता आफ्नै, देशको भविष्य सुनिश्चित गर्न सक्छन् कि सक्दैनन् ? क्षमता होला कि नहोला ?
सङ्ग्राम सुरू भइसक्यो । यो राजनीतिक महाभारत हो, महाभारतमा नयाँ पुस्ताले कृष्णावतार लिन सक्लान् कि नसक्लान् ? बहुदल कालरात्रि बनेको थियो । जनयुद्धले कहाली लगायो, जनआन्दोलनले परिवर्तन ले¥यायो । कसले सोचेको थियो, परिवर्तनले पनि देश र जनताको सातो खान्छ भनेर । बच्चाको रगत तनतनी पिउँछ भनेर ?
खरानी भइसक्यो देश । खरानीबाट बन्नुछ, उठ्नुछ, उठाउनु छ देश ।
देश बर्बादीको भीरमा पुगिसक्यो, जनता बेहाल अवस्थामा पुगिसक्यो, नेतृत्वपङ्ति अझै संविधान कार्यान्वयन ग¥यौं, संविधान बचायौं भन्दा भन्दै यही संविधानले बालबालिकाको रगत पियो, ज्यान लियो । संविधानले जनअपेक्षाको चीर हरण ग¥यो, जुन पद्धतिले विधिको शासन सिध्यायो, त्यही संविधान कायम राखेर हुन्छ के ? अझै बर्बादी निम्त्याउने ? शासक प्रशासकको, पद्धतिको नाकले माटो खाइसक्यो, न्याय ढलमती बनेर बगिसक्यो, विपन्न र पिछडाबर्गको हक र अधिकारसमेत सम्भ्रान्तले दिउँसै लुटेका छन्, अझै नेताहरू अग्रगमनतिर लागेका छौं भन्न लाज मान्दैनन् । पुस्तान्तरण गर्न अटेर गरेर बसेका छन् । रजगज गरेको शासनसत्ता छाड्दैनौं भनेर संग्राम निकालिरहेका छन् ।
यो कस्तो नेतातन्त्र हो, नेपोटिजम, नेपाबेबीइजम हो, जसले नाली र जंगल पनि चिन्दैन । संसद भेडीगोठ कि जनप्रतिनिधि स्थल हो भनेर हिजो बुझिएन । आज तिनै भ्रष्टहरू कुर्लिन थालेका छन् । देशमा रक्तपात गरेर पनि चेतेका छैनन् । यसैलाई भनिन्छ, लोकतान्त्रिक भनिएका नेताहरू मुखमा ऋषिमन देखाउँछन्, व्यवहारमा असुरपनको कार्य गर्छन् । राजनीतिमा अपराधिकरण भएपछि बढ्ने अपराध नै हो ।
भारतमा नरेन्द्र मोदीको एकछत्र राज चलेको छ । तिनै मोदीले नेपालको जिवन्त लोकतान्त्रिक जीवनलाई यसरी निसास्सिने गरेर घाँटी निमोठ्छन् भन्ने ? हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता बनाइदा पनि सहन्छन् भन्ने ? भारतलाई त उसको स्वार्थ प्यारो रहेछ, हिन्दुराष्ट्र, राजतन्त्रसँग कुनै सरोकार नै रहेनछ । यसैवीच चीन व्यापारी बनेर अगाडि बढेको छ । नेपालको सार्वभौमिकतालाई सम्मान गर्ने चिप्लो कुरा गरेर नेपालकै भूमिबाट भारतसँग व्यापार बढाएको छ । मोदीले चीनमा पुगेर नेपालको लिपुलेकबाट व्यापार गर्ने सन्धि गरे, जर्मन र अमेरिका पुगेर बुद्ध भारतका हुन् भनिदिए । लुम्बिनी पारी नक्कली लुम्बिनी बनाएर आधुनिक एयरपोर्ट निर्माण गरेर सञ्चालनसमेत गरिसके । तर नेपालको लुम्बिनीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी जहाजलाई अनुमतिसमेत दिन मानेनन् । त्यो भारत, त्यो चीनलाई साइजमा ल्याउन अमेरिका अग्रसर भएको छ । नेपालमा भूराजनीति दिनदिनै तात्दै गएको छ ।
    लोकतन्त्र भन्ने नेता र पार्टीहरूले आफ्नो भूमि भारत सरकारले ७७ स्थानमा हजारौं हेक्टर सीमा मिच्दा बोलेनन् । लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्सामा हालेर हजम गरिदिए । मौन छन् । हालैको वर्षामा नेपाल डुबानमा प¥यो, भारतले अन्तर्राष्ट्रिय कानुनविपरित बाँध बनाएको विषयमा समेत कुनै दल, नेता, शासक, प्रशासक बोलेनन्, बोल्दैनन् । नेपाल मानौं भारतको प्रान्त होजस्तो, नेपालका बारेमा भारतको मोदी सरकारले अन्तर्राष्ट्रिय नीति, नियम, मर्यादासमेत उल्लंघन गरिरहेका छन् । नेपाल कसैको मौजा थिएन, होइन । तर व्यवहारले नेपाल परजीवी बनिसकेको छ । नेपालका होनहार पार्टी, नेता, नयाँ चुनिएका युवासमेत भारतको ज्यादतिबारे बोल्दैनन् । अब जेनजी पुस्ताले बोल्नुपर्छ, देशका लागि केही गर्नुपर्छ । असुर मास्न आन्दोलन गर्नसक्ने जेनजी पुस्ता अस्तित्व रक्षा गर्न पछि पर्नेछैनन् भन्ने विश्वास गर्न सकिन्छ । मात्र आवश्यक छ, टुटाउने र फुटाउने चिन्नुपर्छ, एकढिक्का हुनसक्नुपर्छ ।
    हस्तक्षेप बढ्दो छ । हरेक प्रकारका हस्तक्षेप हामीले सुन्यौं, भोग्यौं र चुपचाप हेरिह्यौं । हामी विभाजित भएकाले हाम्रो प्रतिवादको स्वर आवश्यकताजति बाक्लो हुनसकेन । भारतले नाकावन्दी गरे पनि, नगरे पनि भारत ‘एसेन्सियल इभिल’का रूपमा नेपालमा भारत गढेको छ । अब पश्चिमा र चीन पनि गढदो छ । जतिसुकै खराव भए पनि छिमेकी फेर्न सकिन्न । मित्रलाई दुश्मन बनाउन पनि सकिन्न । नेपालले परम्परागत नीतिको महत्वमा बच्ने बचाउने काम गर्नुपर्छ ।
    पश्चिमाले सहयोग गरिरहेका छन् । दुबै छिमेकीले पनि सहयोग दिइरहेका छन् । खरानी हामीमा छ, हाम्रो स्वार्थपनमा छ । खासगरी हाम्रो दक्षिणी छिमकी मुखले ऋषिमनको पवित्रता देखाउँछ र व्यवहारले असुरपन । उत्तरी छिमेकी नेपालको सार्वभौमिकताको कदर गर्छु भन्छ, साहस बढाउने सहयोग गर्दैन, पश्चिमा र युरोपियनहरू विश्वशक्ति बन्न र नेपाललाई इसाईकरण गर्न लागिपरेका छन् । यस्ता मित्रहरू डरलाग्दा हुन्छन्, बढी सतर्क हुनुपर्छ । यतिखेर नेपाल त्यही असुरपनको विषादी लागेर दीर्घरोग लागेको बिरामीजसरी छटपटिइरहेको छ । नेतृत्व निकास निकाल्न सक्षम छैन । राजनीतिमा समुन्द्र मन्थन भइरहेको छ, विष पन्छाएर अमृत ग्रहण गर्नुपर्ने बेलामा गृहयुद्धतिर धर्केल्ने साजिस भइरहेको छ ।
बुद्धि पुगेन, राजनीतिक दलहरूको बुद्धि पुगेन । सहमति र सहकार्य, संवादबाट राजनीति अघि बढाउने अवसर छ, तर त्यो अवसर पनि गुमाएर देशलाई अशान्त पार्ने कार्य ठूला नेता र ठूलाहरूबाटै बढ्नु देशको दुर्भाग्य हो ।
    चाहिएको सक्षम टेक्टिस हो, जुन अभाव छ । आन्तरिक न बाह्य, मल्लयुद्ध हाम्रो क्षमतामा छैन । इतिहास हेरौं, असुरचरित्रसँग असुर बनेर नेपालीले कहिल्यै बहादुरी देखाएनन् । युद्ध हारे, बहादुरी छाडेनन् । बहादुरीका साथ आफ्नो स्वतन्त्रतालाई वर्तमान कालखण्डसम्म अक्षुण्ण राखेका छन् । वर्तमान पुस्ताले भावीपुस्तालाई दिने उपहार पनि सिङ्गो र स्वतन्त्र नेपाल नै हो । नेपाली नेतृत्ववर्गले पहिलोपल्ट दह्रो खुट्टा टेक्नसक्नुपर्छ । जेनजी पुस्तालाई नेतृत्व गर्ने अवस्र दिनुपर्छ । नेपाल बफर स्टेट हो, बफर स्टेटकै रूपमा आफूलाई सगरमाथाजस्तै उभ्याइरहनुपर्छ । लाइट अफ एसियाकै रूपमा खडा राख्नुपर्छ । जडी उपाय अवलम्बन गरेर समस्याको जरो उखेल्ने र सबैसँग सम्बन्धलाई सामान्यीकरण गराउने सामुहिक यत्न थालिहाल्नुपर्छ । चरित्रहीनतामा डामिएकाहरू पन्छिनुको बिकल्प छैन ।
जति गर्नु शासन गरे, अब तिनीहरू सबैले जेनजी पुस्तामा नेतृत्व पुस्तान्तरण गर्नु उत्तम हुनेछ ।
    नेपालको संसदमै प्रश्न उठ्यो– सत्यमेव जयते कि सिंहमय जयते ? चीनले नेपालको सार्वभौकितामा सम्मान गरेको हो भने लिपुलेक क्षेत्रबारे प्रष्ट बोल्नुपर्छ । नेपाल विश्वशक्तिको अखडा बनिसक्यो । भ्रष्ट नेता र प्रशासकले कूटनीति, राजनीति, आर्थिक, सामाजिक लगायतका हरेक क्षेत्रलाई प्रदूषित पारिसके ।
    चैत १५ होस् कि भदौ २३, २४ प्रष्ट छैन कति मरे मारिए । आमाहरूको आँखाको आँसु सुक्यो, जुकाहरू चेतेनन् ।
जेनजी पुस्ता अघि स¥यो, तिनलाई गोलीले ठिक पार्नेहरू राजनीतिमा आफूलाई अब्बल सम्झन्छन् । आधुनिक युगमा मान्छेको ज्यान लिने मांसहारीहरू पनि लोककल्याणकारी राज्य चलाउन ल्याकत राख्ने प्राणी हुनसक्छन् र ? यसकारण नयाँ पुस्ता उठ्नुपर्छ ।
जनआन्दोलन, जनयुद्ध, संविधान सभा, लोकतन्त्र, धर्मनिरपेक्षता, गणतन्त्र सबै घटनाक्रममा विदेशी ताकतले खेलेकै हो, पेलेकै हो । चैत १५ अथवा भदौ २३, २४ मा पनि नयाँ पुस्तालाई बदनाम गर्न रगतको होली खेल्नेहरू देशी विदेशी शक्तिहरू नै थिए । कहिल्यै पराधीन नभएको स्वतन्त्र नेपाल पराधीनताको पराकाष्ठा बेहोरिरहेको छ । यो सबै नेतृत्वको असक्षमता र अकर्मण्यताका कारणले हो । यसकारण पनि असुर भनेर दागी भइसकेका नेताहरूले नयाँ पुस्तालाई जिम्मेवारी दिनु उचित हुनेछ ।
    बृटिशले ‘बिभाजन गर र हत्याउ’ भनेर सिकाएर गएको थियो, भारतले त्यसलाई दीव्यज्ञान मानेर नेपालमाथि त्यही नीति लादिरहेको छ । नेपालका नेताहरूले पनि भारतकै अनुकरण गरेर आन्तरिक रूपमा राजनीतिक स्वार्थ पूरा गरिरहेका छन् । भारत महाराज किन बिर्सेको– बागमतीमा रगत बग्दा गंगा पनि रगताम्मे हुन्छ । चीन किन बिर्सेको– नेपालले दुःख पाउँदा तिमी पनि अस्थिर र अराजक हुनेछौ । विश्वशक्ति किन बिर्सेको– नेपालको अशान्तिले विश्वयुद्ध निम्त्याउँछ ।
जेनजी पुस्ताले बुझ्नैपर्ने इतिहास–
खोटरहित नौवटी कन्याको नवयोनी पूजा गर्ने, तिनलाई नौ भैरवीको रूपमा उन्मत्त भैरव मैथुन गर्ने राजाले पनि नेपाल चलाएकै थिए । डेढवर्षका राजा गिर्वाणलाई सिंहासनमा राखेर स्वामी महाराज बनेका रणबहादुर शाहले नायवी बनेर सिक्किमदेखि गढवालसम्मको राज्य धानेकै थिए । १८१६ मा रसदपानी छेकेर युद्ध हारे पनि राणाहरूले पूर्वी नेपाल र नयाू मुलुक फिर्ता ल्याए, सीमामा जंगे पिलर गाडेर देशको रक्षा गरेकै हुन् । २०६३ साल वैशाख ११ को परिवर्तन, २०६५ साल जेठ १५ को गणतन्त्र कार्यान्वयन र २०७२ साल असोज ३ गतेको संविधान आधुनिक फ्रान्सको राज्यक्रान्तिजस्तै थियो, त्यो क्रान्ति २०७९ मंसिर ४ को दोस्रो आवधिक निर्वाचन परिणामबाट परास्त भएको थियो । अब नयाँ पुस्ता जागरूक बन्यो । अग्रसर भयो । नयाँ पुस्ताले संविधान, प्रधानमन्त्री, संसद, राष्ट्रपति भवन, सर्वोच्च अदालत सबै खरानी बनाउने गरी आन्दोलन गरिसकेको छ । हिंसामा उत्रने सत्तापक्ष हुन् कि घूसपैठ गरेर जेनजी पुस्तालाई बदनाम गर्नेहरू हुन्, सावधान...जेनजी पुस्ताले खरानीबाट देश उठाउने अभिभारा बोकेका छन् । यसकारण असुरहरू पछि हट । नयाँ पुस्तालाई देश हाँक्ने अवसर देउ ।