
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । विभिन्न १० वाम दल र समूहको एकताबाट बनेको उक्त पार्टीले दल दर्ताका लागि निवेदन दिएको हो ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत विभिन्न १० वाम दल र समूहको एकताबाट नेपाली राजनीतिमा नयाँ शक्तिको उदय भएको हो । हिँजो एकता घोषणा गरेको पार्टीले आजै आयोगमा निवेदन दर्ता गरेर नयाँ पार्टीले चुनावी मैदानमा होमिन आफू तयार रहेको संकेत दिएको हो ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ निर्धारण गरिएको छ । यता निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘नेपाली कम्युनिस्ट पार्टी’ को दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले कात्तिक ३० गते भित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने प्रावधान रहेको छ भने नवगठित नेपाली कम्युनिस्ट पार्टीले दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित आयोगमा निवेदन बुझाएको छ ।


