
सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर सिंगापुर गएपछि नेपाली कांग्रेस महिनौंदेखि केन्द्रिय समितिको बैठकमा रूमल्लिएको छ । प्रजातन्त्रको बिडा उठाएको कांग्रेसभित्र नियमित अधिवेशन पुसमा गर्ने कि बैशाखमा भनेर अलमल गरिरहेको छ । कांग्रेस बुझ्नेहरू भन्छन्– महाधिवेशन पुस, माघ, बैशाख अघिपछि जहिले गरे पनि कांग्रेसी विधानले बाधा गर्दैन तर ५४ प्रतिशतले माग गरिसकेपछि विशेष अधिवेशन माग भएपछि ९० दिनभित्र अनिवार्य रूपमा गर्नैपर्छ । विधानको दफा १७(२)ले यसै भन्छ । नियमित कि विशेष अधिवेशन ? कार्यवाहक सभापति पूर्णबहादुर खड्का यसैमा अड्किएका छन्, बैठक गरिरहेका छन् ।
नेपाली कांग्रेस पुरानो पार्टी, प्रजातन्त्रको बिडा उठाएको दावी गर्ने पार्टी । यसकारण कांग्रेसका कृयाकलाप राष्ट्रिय महत्वका हुन्छन् । महिनौं छलफल गर्दा, सदस्यहरूले आआफ्ना विचार राखिसकेपछि पनि निर्णय गर्न सकस किन ? कांग्रेसीले पार्टीका लागि धेरै काम गर्नुछ, जेनजी पुस्ताले पु¥याएको क्षति र लागेको दाग धुनुछ, देशका लागि कांग्रेस अपरिहार्य छ भनेर राजनीतिक रूपमा प्रमाणित पनि गर्नुछ । यति हुँदा पनि कांग्रेसी बैठक गम्भीर छ, गम्भीरतापूर्वक निर्णय गर्नसक्दैन । चलिरहेको कांग्रेसको केन्द्रिय समितिको बैठकले कांग्रेस कति सक्षम, कति सवल देखाउन सकेन ।
५४ प्रतिशत सदस्यले माग गरेको विशेष अधिवेशनका विषयमा उनीहरूले भनेका छन्– केन्द्रिय समितिबाटै सुदृढ एकताको सन्देश दिन, ५४ प्रतिशत सदस्यहरूको मागको संवोधन र विचारको सम्मान गर्न, जनतामैत्री नीति, नेता र कार्यक्रम तय गर्न र चुनावी तैयारीलाई यथोचित समय बन्दोवस्त गर्न का लागि ।
तर चुनावपछि महाधिवेशन सार्न कम्मर कसेर लागेको संस्थापन पक्षले किन चुनावपछि महाधिवेशन, किन विधान विपरित संस्थापन पक्ष लागेको, ५४ प्रतिशत सदस्यको मागलाई अनदेखा गरेर अघि बढ्न मिल्छ ? यसबारे स्पष्ट छैन ।
युवाहरू सडकमा, पार्टी पार्टीमा युवाको महत्व भनिरहेका छन् । युवापुस्ता जुर्मुराएको यो ऐतिहासिक क्षणमा बुढोपुस्ता, स्थापित पुस्ता पुस्तान्तरण गर्न चाहिरहेका छैनन् । माओवादी, एमाले र कांग्रेस जब्बर बनेर नेतृत्वमा टाँस्सिरहेको देखिन्छ, टाँस्सिरहन चाहेको पनि देखिन्छ । पार्टीभित्रका युवापुस्ता माग त गरिरहेका छन्, युवापुस्ता अपरिहार्य छ भनेर प्रमाणित गर्न र जबरजस्ती माग राख्न सकिरहेका छैनन् । न माओवादीसहितका कम्युनिष्ट, न त बिद्रोही कम्युनिष्ट, न कांग्रेस अथवा न एमाले, न त अन्य ससाना दलहरू नै किन नहुन्, कतै पनि आआफ्ना पार्टीले के कस्तो परिवर्तन खोजेको, आगामी दिनमा गर्ने के कस्तो परिवर्तन हो, युवाले खोजेको परिवर्तन कस्तो हो, जनताको असन्तुष्टि बिद्रोहमै रूपान्तरण भइसकेको र दुःखद नतिजा सबैले देखिसकेको स्थितिमा जनताले खोजेको परिवर्तन के हो ? अब कुन प्रकारको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक मार्ग निर्दिष्ट गर्नुपर्ने हो ? यसका लागि युवाले निर्वाह गर्नुपर्ने दायित्व र अग्रसरता लिनुपर्ने कुन हदसम्मको विषय हो ? यो विषयको निक्र्यौल हुन जरूरी देखिन्छ । जरूरी निर्णय नलिएर कांग्रेस बिलम्ब गरिरहेको छ ।
बहुदलको ३७ र गणतन्त्रको १७ वर्षमा नेतृत्वले नैतिकता, नीयत, सिद्धान्त, इमान देखाउन नसकेरै गत भदौ २३ र २४ को आन्दोलन र बिद्रोह भएको हो । यो आन्दोलन र बिद्रोहमा घूसपैठ भयो होला, अनुसन्धानले बताउला तर यथार्थ के हो भने राज्यसत्ताले आमनागरिक र बालबालिकाको टाउकोमा गोली हानेकै हो, निर्मम दमन गरेकै हो र दमनपछि आमनागरिकले यो पद्धतिको, यी नेताको, यिनको शासनको बिरोध गरेकै हुन् । वर्तमान स्थितिमा नेताप्रति जनताको विश्वास छैन । यही विश्वासको कमीका कारण हरेक क्षेत्र, समुदायमा युवा युवाको माग बढिरहेको छ । घण्टाघरले घण्टी बजाएको छ, समयको आहट सुन्ने नसुन्ने नेताहरूको काम हो । अझै पनि भ्रष्टाचारमा आहाल बस्ने कि समयको आवाज सुनेर युवापुस्तालाई नेतृत्व सुम्पने ? यो विषय खासगरी प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र बढी तरङ्गित छ । यही तरङ्गले एमाले, माओवादी र अन्य पार्टीहरूमा पनि छोएको देखिन्छ । विश्लेषक मुमाराम खनालको यो विश्लेषण सटिक मानिएको छ । खनाल लेख्छन्– कांग्रेसको भ्रष्ट बृद्ध गिरोह, ओलीको भ्रष्ट गुण्डु गुण्डादल र दाहालको भ्रष्ट वाम बृद्धाश्रमले फेरि पनि सत्ताको स्वाद फिर्ता लिने दुस्वप्त देखेको छ भने त्यो हिजोको जेनजी आन्दोलनभन्दा पनि खराब स्थितिको सामना गर्न समाजलाई दिएको खुला निमन्त्रणा ठहरिने छ । मुलुक धेरै तल गइसक्यो । यो विश्लेषण हरेक नेताका लागि मन्त्र हो, पढ्दा राम्रो ।
नेपाली कांग्रेसजस्तो पार्टीका सभापति शेरबहादुर देउवाले आफूलाई वीपीको अनुयायी भन्ने गरेका छन् । तर उनको सत्ता र सभापतिको कार्यकालमा कहिले पनि कहीँपनि वीपीको नीतिको असर देखिदैन । एउटा अनुयायीले वीपीको नीति, सिद्धान्तलाई पार्टीको जीवनचक्र बनाएको भए हरेक कांग्रेसी समाजमा आदरका पात्र बन्नेथिए । वर्तमान कालखण्डमा आएर कांग्रेस पुनः२०१५–१६ सालको लुटाह, भ्रष्ट, अनैतिकहरूको झुण्डका रूपमा बदनाम हुनपुगेका छन् । यो चरित्र सुधार्नका लागि पनि कांग्रेसको महाधिवेशन जरूरी छ र महाधिवेशनपछि कांग्रेसले सही बाटो समातेर अघि बढ्नुपर्छ । कहिले माओवादीका प्रचण्ड, कहिले एमालेका ओलीको पछि लागेर सत्ताको साँचो कुर्दा कुर्दा कांग्रेस हायलकायल भइसक्यो । यहाँसम्म कि सभापति देउवा दम्पत्तिले बेइजति हुनुपर्ने दिन पनि आयो ।
यसकारण नेपाली कांग्रेस सही कांग्रेस बन्ने अवसर नगुमाउँदा उत्तम ।


