
जेनजी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर र आफ्ना मन्तव्यका क्रममा भनेका छन्– संसद पुनस्र्थापनातिर लाग्ने हो भने फेरि अर्को विद्रोह गर्न बाध्य हुनेछौं ,
केही जेनजीहरूले परिवर्तनका लागि निर्वाचन भनेका छन् । खासगरी आफूलाई जेनजी प्रतिनिधि भनेर खुला भएका सामना लावती, अर्णव चौधरी, रक्षा बम, पुरूषोत्तम यादव र मोनिका घिमिरेले भ्रष्ट संसद खोजेका होइनौं, संसद पुनस्र्थापना गर्नु भनेको जेनजीको अपमान हुनेछ, जेनजी पुस्ता अर्को आन्दोलन गर्न बाध्य हुनेछ भनेरखबरदारी गरेका छन् ।
खासगरी भदौ २३ र २४ को जेनजी आन्दोलनबाट ज्यान जोगाएर हेलिकोप्टरमा भागेकातत्कालीन प्रधानमन्त्री केपी ओली र उनको एमाले पार्टी संसद पुनस्र्थापना हुनैपर्छ भनिरहेको छ र सडक आन्दोलनद्वारा संसद पुनस्र्थापनाका लागि दबाब दिइरहेको छ । निर्वाचनबाट डराएका र जेनजी पुस्तालाई हा हु भन्ने एमाले संसद पुनस्र्थापनाका लागि हस्ताक्षर अभियान पनि चलाइरहेको छ । कांग्रेस सन्निपात भएझैं भएको छ, निर्णय गर्न सकिरहेको छैन भने माओवादी राजनीतिक शक्ति आर्जन गर्न संगठन बलियो बनाउँदै छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा जेनजी पुस्ताले सातो लिएर अपमानित गरेपछि उपचारका क्रममा सिंगापुर पुगेका थिए, फर्किएका छन् । उनले अझै कांग्रेसलाई दिशा निर्देश गर्न सकिरहेका छैनन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का सकभर पार्टी अधिवेशन नगर्ने, टार्ने र संसद पुनस्र्थापना हुन्छ कि भनेर भद्रो हेर्नथालेका छन् । यसैवीच कांग्रेसी स्रोत भन्छ– देउवा वीपी पुत्र सशांक कोइरालाई सभापति सुम्पिन सक्ने बताउँछन् । यता शेखर कोइराला विशेष अधिवेशन भनिरहेका छन् भने कतिपय कांग्रेसीहरू नियमित अधिवेशन गर्दा हुने विवादमा छन् ।
आश्चर्य गगन थापाले आफ्ना अनुयायीहरूलाइृ गगन थापा सभापति र प्रधानमन्त्री हुनुपर्छ भनेर हुइयाँ चलाउको पनि देखिन्छ । यद्यपि गगन थापाभन्दा शेखर कोइराला बढी शक्तिशाली छन् । गगन र शेखर नजिकिएर टाढिएका थिए, फेरि नजिकिन पुगेका छन् । शेरबहादुर देउवाले अब सभापति नबन्ने निर्णय गरिसकेका छन् यद्यपि संसद पुनस्र्थापना भए प्रधानमन्त्री चाहिं देउवा नै बन्ने लालसामा देखिन्छन् । केही कांग्रेसी सांसदहरू संसद पुनस्र्थापनाको बिकल्प नभएको बताउँदै एमालेको लहैलहैमा लागेर हस्ताक्षर अभियानमा समेत जुटेको देखिएको थियो ।
जेनजीहरू चीलका आँखाले फागुन २१ को निर्वाचन, सरकारको रवैया, सुशासन र भ्रष्टाचारीहरूमाथिको कारवाहीलाई हेरिरहेका देखिन्छन् । जेनजी सूदन गुरूङमात्र होइनन्, अनेक जेनजीहरू जेनजीका माग पूरा नहुने देखेपछि सरकारलाई घोचपेच गर्न थालेका छन् । कतिपय जेनजीले पार्टी समेत खोलिसकेका छन् । जेनजी र सरकारवीच वार्ता पनि भइरहेको छ, जेनजीले सरकारलाई ज्ञापनपत्र पनि बुझाइरहेको देखिन्छ ।
सशक्त र सकृय जेनजी प्रतिनिधिहरू गत भदौ २३ र २४ को आन्दोलनले भत्काइसकेको बिघटित संसद ब्युँताउन खोजेर ठूला दलका नेताहरूले जेनजी आन्दोलनको भावना र मागको अवमूल्यन गरेको आरोप लगाएका छन् । ठूला र स्थापित दलका लागि जेनजी पुस्ताको यो आरोप महगो पर्नसक्ने अनुमान गरिएको छ । जेनजी आन्दोलनमा राज्यले ७६ जनाको ज्यान लिएको थियो । सयौं घाइते र अंगभंग भएका थिए । चुनाव हुनुपर्छ भन्दै जेनजीहरू भन्छन्– चुनावले जेनजी पुस्ताको माग संवोधन गर्ने तरिकाबाट हुनुपर्छ । अन्यथा...
जेनजीहरू भन्छन्– एमाले, कांग्रेसलगायतका पार्टीका गतिविधि देखेका छौं, आँखा चिम्लेर बसेका छैनौं । सपना देख्न सकिन्छ, तर संसद पुनस्र्थापना हुने सपना पूरा हुनैसक्दैन । अझै जनताको यति ठूलो त्याग र बलिदानपछि पनि संसद पुनस्र्थापनातिर लगियो भने अर्को आन्दोलनलाई निम्तो दिनुसरह हुनेछ ।
जेनजी पुस्ताले पनि अभियान चलाउन सक्छ । केपी ओली, शेरबहादुर देउवाहरूलाई जेल हालौं भनेर हस्ताक्षर अभियान चलाउन सक्छौं । देशलाई खँगार पार्ने पार्टीका नेताहरू अझै सुध्रिने बाटोमा देखिदैनन्, यी पनि नेता हुन् र ? भन्दै अर्काथरि जेनजी पुस्ताका अगुवा भन्छन्– संसद पुनस्र्थापना नै चाहेको भए प्रष्टसँग भनुन्, इटाको जवाफ पत्थरले दिन हामी तैयार छौं ।


