Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

राष्ट्रवादी आन्दोलनको आवश्यकता

०९ सोमबार , मंसिर २०८२२ दिन अगाडि

राष्ट्रवादी आन्दोलनको आवश्यकता

फेरि प्रमाणित भयो– बाह्य सहयोग बिनाको आन्दोलनले कुनै परिणाम दिदैन । भर्खरैको कुरा, गत भदौ २३ र २४ को जेनजी आन्दोलन र अहिले अभियन्ता दुर्गा प्रसाईलाई थुनामा पठाएर भएको उनका समर्थकको आन्दोलनलाई हेरे हुन्छ । २०१७ सालदेखि २०६३ सम्मका विभिन्न चरणमा प्रजातन्त्र, लोकतन्त्रका लागि भएका कांग्रेस, कम्युनिष्टले गरेका आन्दोलनहरू पनि विदेशी सहयोगले मात्र सफल हुनसकेका थिए । अहिले ती पुराना दलहरूप्रति कुनै बाह्य चासो देखिदैन । त्यसैले महेश बस्नेतमार्काहरू भुत्ते खुकुरी हुनपुगेका छन् भने सुदन गुरूङहरू बाह्य समर्थनका कारण सिरूपाते खुकुरी झैं हुनपुगेका छन् । जतिसुकै युथ भोलिन्टीयर जत्था गठन गरे पनि एमाले र उनको जनबर्गीय संगठनहरू बुख्याँचामात्र साबित हुनेछन् । त्यसो त अहिलेको एमालेको युथ भोलिन्टियर जत्थालार्य जेनजी र त्यसको आन्दोलनको परिणाम गठन भएको सुशीला कर्की नेतृत्वको सरकारका विरूद्ध उतार्न गठन गरिएको भनिदैछ । आम नेपालीमा एमाले जत्था भयभित पार्ने खालको छ । एकातिर बाह्य चासो देखिदैन भने अर्कोतिर सर्वसाधारण नेपालीहरू पनि उदासिन छन् । जनआस्था छँदैछैन ।सबैले बुझिसकेका छन् । बालेन साह, सुदन गुरूङहरू स्वचालित छैनन् । सायद यसैले तिनका विरूद्ध सडकमा कसैले आवाज उठाएको सुनिदैन । अब कांग्रेस, एमाले, माओवादीहरू विदेशीका लागि घाँडो साबित भइसकेका छन् ।अब दुर्गा प्रसाईको आन्दोलनको कुरा गर्ने हो भने त्यो झन पंगु लाग्छ । भारतको एउटा तप्कासँग जोडिएको भनिएका प्रसाईको कुरामात्र ठूलो हो । उनको आन्दोलनलाई सरकारले थुनामा राखेर तुहाइदिएको छ । यद्यपि उनले भुइँमान्छेका सवाल उठाएका छन्, जुन उनको ठूलो शक्ति मानिएको छ । बुझ्नुपर्छ, सुदन गुरूङहरूले गर्ने आन्दोलन बाहेक अन्य प्रकारका कुनै पनि आन्दोलन जनतालाई दुःख दिने खालका मात्र हुन् । देशैभरि संगठित एमालेलाई बारा, पर्सातिर कुटाइखान परेको देखियो । ७ गते देशैभरि तहल्का मच्चाउँछु भन्ने प्रसाई थुनाको हावा खानुप¥यो । एकथरि राजावादी, हिन्दुवादी टोलटोलमा नारा लगाउँछन्, रिङ्रोडमा जुलुस निकाल्न भ्याए । कतिले त थाहासमेत पाएनन् । २०६५ सालदेखि राजतन्त्र चाहियो भन्नेहरू ०८२ सालमा पनि कुर्लिनेबाहेक केही गर्न सकेका देखिदैनन् । बाह्य चासो थियो, भदौ २३ र २४ गतेवीचको २७ घण्टामा नेपालको संविधान, संसद, सरकार सबै भताभुङ्ग पारिदियो । प्रष्ट छ, विदेशी चासो संविधान खारेज गर्ने थिएन, खारेज भएन । नेपाली असन्तुष्ट छन्, आक्रोसित छन, त्यसमा बाह्य चासो भयो कि सुनामी गइहाल्छ ।
जेनजी पुस्ताले गरेको आन्दोलन खासमा के हो ? केका लागि हो ? अहिले आएर द्विविधा बढेको छ । सुरूमा जे नारा लगाए, जे उद्देश्य देखाएका थिए, त्यो सबै धुमिल हुनपुगेको छ । आन्दोलनमा जित जेनजी को भयो तर अपहरण गरियो । अहिले आएर जेनजीहरू कुहिरोको कागजस्तो बनेका छन्, विभाजित हुनपुगेका छन् । जेनजी पुस्ता राजसंस्थाप्रति किन उदासिन देखिए ? अभिभावक नभएपछि के हुने रहेछ, जेनजी पुस्ताले बुझे होलान् अब । राजसंस्थावादी आन्दोलन पटक पटक भयो तर बाह्य सहयोग नपाउँदा असफल बन्दै गएको हो । जेनजी आन्दोलनपछि जेनजी यता न उताका भए, यसमा पनि षडयन्त्र भएर नै हो ।
अब उपाय भनेको आमनागरिकको चेत खुल्नु नै हो । जबसम्म राम्रो नराम्रोको भेउ पत्ता लाग्दैन तवसम्म सुदन गुरूङ, बालेन, ओली, प्रचण्ड, देउवाहरूको हालीमुहाली जारी रहनेछ । स्थिरता, शान्ति, समुन्नति, सुशासनका लागि राजसंस्थाप्रति जागरूक हुन जरूरी छ । अराजकता र गृहयुद्धको संघारमा स्थिति पुगिसक्यो, अब पनि चेत नखुल्नु भनेको बर्बादी निम्त्याउनु हुनेछ । भ्रष्टाचारी, नेपोटिजम, बेबीइजम, अपराधीकरण गर्नेहरूलाई नेता मानिरहनु भनेको यथास्थिति हो, यथास्थिति भनेको मृत्यु हो । मृत्यु रोज्ने कि जीवन ? जेनजी र अन्य सबैको चेत फिर्नु जरूरी छ ।
भ्रष्टाचारीको अनुहार हेर्न भोग्न पुग्यो । हरेक दिन सुदन गुरूङ, देउवा, ओली, प्रचण्डको नयाँ नयाँ अवतार हेर्नुछैन अब । यिनले मुलुक लथालिङ्ग पारिसके, भाँडभैलो मच्चिइसक्यो । यस्ता राष्ट्रिय अपराधीहरूबाट मुक्ति खोज्दै भदौ २३ र २४ को आन्दोलन भएको हो । न त मुक्ति मिल्यो, न नयाँ संविधान पाइयो । उछिट्टिएर तावामा पो परियो । दुस्चक्रमा परे नेपाल र नेपाली । सम्भालिने बेला आयो ।
राजा भन्ने छन्, गणतन्त्रको बिकल्प नदेख्ने छन् । संघीयतामा लुटिरहन पाइयोस् भन्ने छन् । जातीयता, क्षेत्रीयता भन्नेहरू पनि छन् । समस्या अनेक छन्, विवाद अनेक छन् । देश टुक्रिए पनि स्वार्थसिद्ध गर्न पाइयोस् भन्ने धेरै छन् । यी सबैलाई राष्ट्रियताको लिकमा उभ्याएर देश विकास गर्नुपर्नेछ । शान्ति, स्थिरता, सुशासन ल्याउनैपर्ने छ । यसका लागि हिजो राजसंस्था थियो, आज कोही केही छैन । स्थापित नेताहरू सुध्रिएनन् र जेनजी बिद्रोह भएको हो । यो विद्रोहलाई यिनै षडयन्त्रकारीले सफल हुनदिएनन् । स्थिरता र शान्तिको आशा धेरै पर छ । मुलुक जोगाउने, अस्तित्व बचाउने हो भने राजसंस्था पुनस्र्थापनातिर लाग्नु नै कल्याढा हुने छ । हिजोका दिनमा राजसंस्थाको योगदान सम्झौं, बहुदल र लोकतान्त्रिक गणतन्त्रले दिएको पीडा सम्झौं । जेनजी पुस्ता एक हुनुपर्छ, बाटो बिराएको स्थिति सुधारिनुपर्छ र राष्ट्रिय एकतातिर अग्रसर हुनुछ । बुझौं, कुनै पनि खालका आन्दोलनले सही गन्तव्य दिनसक्दैन । आन्दोलन अराजकता बढाउने कार्यमात्र हुनेछ । जेनजीको काँध चढेर सत्ताँमा पुगेको सुशीला कार्की सरकारविरूद्ध अदालत र सडकमा एमालेले आन्दोलन छेडेको छ । राम्रो काम गरेको भए, बालबालिका नमारेको भए ओली सडकमा आउनैपर्दैनथ्यो । जेनजी पुस्ताको कमजोरी र सुशीला कार्की सरकारले गतिलो निर्णय गर्न नसक्दा अपराधीहरूको ठूलो स्वर सुन्नुपरेको छ ।
वर्तमान नेपाललाई सुरक्षित राख्ने र अस्तित्व बचाउने हो भने राजसंस्थासहितको संविधानको बिकल्प छैन । राजाले अभिभावकीय दायित्व निर्वाह गर्ने र निष्पक्ष र शान्तिपूर्ण तरिकाले स्वच्छ निर्वाचन गरेर राजनीति अघि बढाउने हो भने शान्ति, स्थिरता, सुशासनको सुरूआत हुनसक्छ । अन्तर्राष्ट्रिय विश्वास बढ्न जानेछ । अब पनि अपराधीहरूको राजनीतिको पछि लाग्ने हो भने मुलुक रहदैन । देशले खोजेको कुरा जनता र राजाको गठजोड हो । त्यसका लागि हामी सबै नेपाली एकहुनुपर्छ । समस्या बल्झिदो छ, समस्या थपिदो छ । अराजकता र अस्थिरताले गृहयुद्धको जोखिम बढिसकेको छ । नेपाली जनताको जागरूकताबाट नेपालीत्व बच्नसक्छ ।