
ठूला पार्टीहरूमा त्रास बढेको छ । रवि र बालेनवीच पहिले बालेन, त्यसपछि रवि बन्ने मात्र होइन, सत्ता बाँडफाँड र केगर्ने भन्ने मार्गचित्रमा समेत सहमति बनेको छ ।
नेपाली राजनीतिले यू टर्न लिन लागेको छ देखिन्छ ।
धरौटीमै होस्, रवि छुटे । रवि छुटेर चितवन हुँदै राजधानी आउँदा जुन प्रकारको राजनीतिक हौसला देखिएको छ, त्यो देखेर ठूला दलहरू थरिहरि भएको अनुभूति गर्न सकिन्छ । यहाँसम्म कि रविलाई धेरै फुरफुर नगर्न भनिदैछ, रविलाई फेरि जेल हाल्ने प्रपञ्च पनि रचिदै छ भनिन्छ । रविले चुनाव लड्न पाउने तर सम्पत्ति शुद्धीकरणको मुद्दा कायमै रहेकाले चुनाव जिते पनि उनको सांसदपद निलम्बन हुने रवि बिरोधी कानुनचीहरू ठूलै स्वरले कराउँदैछन् ।
लामो समय जेलमा रहेका रास्वपा सभापति रवि लामिछाने अदालतको आदेशअनुसार गत शुक्रवार धरौटी राखेर रिहा भएसँगै चितवन गए, संवोधन गरे, राजधानी आए र पार्टीको नेतृत्व लिए, प्रधानमन्त्रीसँग छलफलमा पुगे अनि भनेका छन्– ममाथि अन्याय भयो, अन्यायसँग लड्नुछ, योभन्दा ठूलो विषय देशमाथि भएको अन्यायसँग लड्नु छ । चुनाव बिथोल्न मुन्टो ननिकाल्नू भनेर उनले एमाले अध्यक्ष केपी ओलीलाई लाक्षणिक तवरले अभिव्यक्तिको भाँचो हानेका छन् । रविले फागुन २१ मा चुनाव हुनुपर्ने, विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने र सहयोग गर्न रास्वपा तैयार रहेको जनाउ दिएका छन् । आफू छुटेकोमा उत्सव हो, तर उत्सव मनाउन सक्दैनौं भन्दै चुनावका लागि सबै तत्पर रहन निर्देश गरेका छन् ।
जेनजी सहिदमा श्रद्धाञ्जली दिएका रविले भनेका छन्– कलिला केटाकेटीहरूको रगत चुहिएको छ । अहिले यो देश कोलाहाल भएको अवस्थामा आएको छ । यसकारण यो उत्सवको बेला होइन । सबैले बुझौं, आजसम्म जनताको तागतका अगाडि कसैको तागत चल्ने छैन । मलाई जनताको तागतमा विश्वास छ । यसबीचमा मैले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट गरेँ । मुलुकमा संकट र्सिजना भएका कारणले हामीले सजगताका साथ अघि बढ्नुपर्नेछ । भावुक भएर रविले भनेका छन्– ४० लाख जनताले तपाईं एक्लो हुनुहुन्न भनेर मलाई भन्नुभयो, म त्यसका लागि सदैव ऋणी रहनेछु ।
यसैवीच रास्वपा अध्यक्ष रवि एमाले इतरका शक्तिहरूसँग संवादमा रहेका छन् । विचार र उद्देश्य मिलेसम्म निर्वाचनमा मिलेर जाने तैयारीमा रवि रहेको रवि निकटस्थहरू बताउन थालेका छन् ।


